उल्कापिण्ड पृथ्वीमा आएर ठोक्किने डर, ठूलो आपत्ति निम्त्याउने

ehulaki
एजेन्सी | साउन ११, २०७६ शनिबार | 0

काठमाडौँ । यदि पृथ्वीमा कुनै क्षुद्र ग्रह अथवा उल्कापिण्ड आएर ठोक्किए के होला ? हरेकले कल्पना गर्न सक्छ, यसले ठूलो आपत्ति निम्त्याउन सक्छ । त्यसो भए के यस्ता उल्का पिण्डलाई टाढै रोकेर यसको आपत्तिलाई रोक्न सकिएला त ?

ब्रह्माण्डमा धेरै उल्कापिण्ड, धूमकेतु र क्षुद्र ग्रह तैरिरहेका छन् । यी पदार्थ कुनै पनि ग्रहको गुरुत्वाकर्षको क्षेत्रमा आएर त्यस ग्रहसँग ठक्कर खान सक्छन् र ठूलो विनाश निम्त्याउन सक्छन् । यसको प्रमाण सन् १९०८ मा साइबेरियाको टुंगुस्कामा देखिएको थियो । जब एक क्षुद्र ग्रह पृथ्वीमा ठोक्किनुभन्दा अगाडि नै जलेर नष्ट भयो, नष्ट हुनुभन्दा अगाडि त्यो करीब १०० मिटरको ठूलो आगोको गोला बनेको थियो । यसका कारण साइबेरियामा करीब ८ करोड रुख नष्ट हुनुका साथै एक व्यक्तिको मृत्यु भएको थियो ।

हाल यस्तै विनाशबाट बचाउन धेरै वैज्ञानिकहरु लागिपरेका छन् । उनीहरु कुनै पनि उल्कापिण्ड पृथ्वीमा ठोक्किनुभन्दा अगाडि नै पूर्वानुमान लगाएर त्यसबाट बच्ने उपायको खोजीमा छन् ।

बोत्स्वानाको जंगलमा खोजी

यस्तैमा हालसालै वैज्ञानिकहरुको एक समूह अफ्रिकाको बोत्स्वाना गएको थियो । उक्त समूहले लगातार पाँच दिनसम्म जंगलको भ्रमण गरेको थियो । काँडेदार झाडी र अग्लो घाँसको बीचमा यी वैज्ञानिकहरु केही विशेष वस्तुको खोजी गरिरहेका थिए ।

उनीहरुलाई सामान्यतया २०० वर्गकिलोमिटरको क्षेत्रमा खोजी गर्नुपर्छ भन्ने त थाहा थियो, तर त्यसभित्र यही स्थानमा खोजी गर्नुपर्छ भन्ने निश्चित थिएन । त्यसैले उनीहरुलाई खोजी गर्न निकै गाह्रो भइरहेको थियो । क्षुद्र ग्रहको टुक्रा कतै दबिएको हुन सक्थ्यो, हावामा विलीन भएको हुन सक्थ्यो । कसैलाई यसको बारेमा केही पनि जानकारी थिएन ।

तब अचानक वैज्ञानिकहरुको दृष्टि एक कालो तथा धूलो लागेको ढुंगामा पर्यो । यो हाम्रो पृथ्वीको ढुंगा थिएन । यो बाहिरबाट आएको थियो ।

एक महिनाअघि खगोलविद्हरुको समूहले एक क्षुद्र ग्रह पृथ्वीमा आएर ठोक्किने पूर्वानुमान लगाएका थिए । यसको नाम २०१८ एलए राखिएको थियो । यो राति बोत्स्वानाको जंगलमा खसेको थियो । पृथ्वीको क्षेत्रमा आएपछि यो जलेर टुक्राटुक्रामा छिन्नभिन्न थियो ।

यो टुक्रा मिलेपछि खगोलविद्हरुको एक कुरा त प्रमाणित भयो । वैज्ञानिकहरुले अन्तरिक्षमा नै कुनै क्षुद्र ग्रहलाई देखेर त्यसको अवशेष पृथ्वीमा पाएको यो मात्रै दोस्रो पटक हो । एक दिन दुरबिन अथवा टेलिस्कोपबाट नै यस्ता क्षुद्र ग्रह पृथ्वीतर्फ आइरहेको देखेर त्यसलाई रोक्न पनि सकिने उक्त क्षुद्र ग्रहको खोजी गर्ने समूहको मान्यता छ ।

यदि क्षुद्र ग्रह अथवा धूमकेतु ठूलो आकारको भएर यसले ठूलो विनाश निम्त्याउन सक्ने पूर्वसूचना दिन सक्ने हो भने यसबाट हुन सक्ने ठूलो क्षतिबाट मानिसलाई बचाउन सकिने खगोलविद्हरुको भनाइ छ । जब २०१८ एलए नामक यो क्षुद्र ग्रह अन्तरिक्षमा तैरिरहेको थियो, त्यसबेला नै क्याटलिना स्काई सर्वे नामक एक संस्थाको एक टेलिस्कोपबाट यसलाई देखिएको थियो । यो परियोजना नासाअन्तर्गत सञ्चालनमा छ ।

यो क्षुद्र ग्रहलाई एटलस अर्थात् एस्टेरोइड टेरेस्ट्रियल इम्प्याक्ट लास्ट एलर्ट सिस्टमको टेलिस्कोपबाट देखिएको थियो । एटलस अमेरिकाको हवाई युनिभसिर्टीले तयार पारेको एक व्यवस्था हो । यो सिस्टमको उद्देश्य केवल पृथ्वीतर्फ आइरहेका ठूलाठूला उल्कापिण्ड अथवा क्षुद्र ग्रहबाट सचेत गराउनु हो । एटलस सिस्टमको स्थापना खगोलविद् जोन टोनरीले गरेका थिए ।

करीब १०० वर्ष अघिमात्रै एक क्षुद्र ग्रह पृथ्वीमा आएर विनाश मच्चाएको अवस्थामा मानिसहरुले यस्तो उल्कापिण्ड अथवा धूमकेतु पृथ्वीमा ठोक्किने सम्भावना निकै कम रहेको र यस्ता क्षुद्र ग्रह हजार, दुई हजार वर्षमा मात्रै पृथ्वीमा आउन सक्ने धेरैको गलत धारणा थियो । यो देखेर टोनरीलाई अचम्म लाग्यो । 

टोनरी भन्छन्, ‘संकट आफ्नै आँखाअगाडि देख्दा देख्दै पनि मानिसहरु कसरी यस्तो भ्रम पालेर बस्न सक्छन् ?’ उनले १०० वर्ष अगाडि साइप्रसमा भएको घटनाको स्मरण गर्दै भने, ‘साइबेरियामा खसेको क्षुद्र ग्रह त वस्ती नभएको ठाउँमा गएर खस्यो र यसले धेरै मानवीय क्षति हुन पाएन । तर, यदि त्यही क्षुद्र ग्रह कुनै ठूलो आवादी भएको सहरको माथि जलेको भए ?

टोनरीले एटलस सिस्टमअन्तर्गत दुईओटा टेलिस्कोप लगाएका छन् । दुवै नै अमेरिकाको हवाईमा छन् । टोनरीले छिट्टै दक्षिण अफ्रिकामा पनि टेलिस्कोप जडान गरिने बताएका छन् । त्यस्तै, चौथो टेलिस्कोपका लागि पनि पनि रकम जम्मा गर्ने कार्य सुरु भएको उनको भनाइ छ । दक्षिण अफ्रिकामा टेलिस्कोप लगाउनुको मुख्य उद्देश्य दक्षिणी गोलाद्र्ध माथिको आकाशको पूर्ण निगरानी गर्नु हो । 

एटलस सिस्टमले पूर्णतया राम्ररी काम गर्न लागेपछि कुनै पनि सम्भावित खतराको पहिला नै जानकारी लिन सकिन्छन् । त्यसपछि उल्कापिण्ड ठोक्किने सम्भावित क्षेत्रबाट मानिसहरुलाई हटाउन पर्याप्त समय मिल्ने अपेक्षा छ ।

बोत्स्वानामा भेटिएको एस्टेरोइडको टुक्राको सहयोगले एटलस सिस्टमबाट यस्ता कुनै पनि खतराको सही अनुमान लगाउन सकिने प्रमाणित भएको छ । २०१८ एलए नामक यो क्षुद्र ग्रह कुन स्थानमा ठोक्किने सम्भावना छ भनी यसको सटीक अनुमान लगाउ सक्नु नै ठूलो उपलब्धि हो । किनकि, यो निकै सानो दुई मिटरको ढुंगाको टुक्रा मात्र थियो ।

एटलस सिस्टमले कसरी काम गर्छ ?

बेलायतको साउथम्पटन युनिभर्सिटीका अनुसन्धाता क्लिमेंस रम्फका अनुसार एटलस सिस्टम धेरै राम्रो प्रयास हो । हाल दिनहुँ हाम्रो दृष्टिबाट बचेर उल्कापिण्ड पृथ्वीमा खसिरहेका छन् । पृथ्वीको वरिपरिको आकाश यस्ता असंख्य ढुंगाले भरिएको छ । एटलसको काम यस्तो टुक्रालाई पत्ता लगाउनु हो जुन हाम्रो पृथ्वीका लागि खतरा बन्न सक्छन् ।

जोन टोनरी भन्छन्, ‘हाम्रो समूहले केवल एक रातमा दश लाख टुक्राबाट २०१८ एलएलाई खोजेको थियो ।’ आकाशमा सधैं बिजुली चम्किरहन्छ, उल्कापिण्ड जलिरहन्छन् । धूमकेतु तैरिरहन्छन् र एकआपसमा ठोक्किएर जल्दछन् । यीमध्ये १० अथवा २० ओटा धूमकेतु भने एटलस सिस्टमभन्दा बाहिर छन् । यी सबै एस्टेरोइड खतरायुक्त छन् भन्ने चाहिँ होइन । यदि कुनै एस्टेरोइड अथवा उल्कापिण्ड पृथ्वीतर्फ बढिरहेको देखियो भने एटलसको दूरबीनले चेतावनी दिनेछ । यो चेतावनीलाई एटलसको आधिकारिक वेबसाइटमा राखिनेछ ।

नासामा काम गरिरहेका खगोलविद् अथवा इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनका माइनर प्लानेट सेन्टरमा पनि यो चेतावनी पढ्न सकिन्छ । यसपछि तुरुन्तै सम्भावित खतराको बारेमा पत्ता लगाउन सकिन्छ । त्यसपछि पृथ्वीतिर आइरहेको क्षुद्र ग्रहको निगरानी गर्न सकिन्छ । त्यसैगरी, यो सिस्टमबाट खगोलविद्हरुले एस्टेरोइड कहाँ खस्छ भनेर पनि अनुमान लगाउन सक्ने टोनरीको भनाइ छ ।

केही ठूलो आकारका क्षुद्र ग्रह सूर्यको कक्षमा नियमित तैरिरहेको खगोलविद् क्लिमेन्स रम्फ बताउँछन् । ती क्षुद्र ग्रह बिस्तारै पृथ्वीको बाटोमा आउन सक्ने अथवा नआउने दुवै यस सिस्टमबाट पत्ता लगाउन सकिने रम्फको भनाइ छ । त्यसैगरी, कुन क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किन्छ र कुन ठोक्किँदैन भनी भविष्यवाणाी पनि गर्न सरल हुने उनले उल्लेख गरेका छन् ।

मानिसलाई कसरी बचाउन सकिन्छ ?

तर, हरेक खगोलीय पत्थर सही दिशामा, सही कक्षमा नै घुम्छन् भन्ने छैन । कतिपय क्षुद्रग्रह त आफ्नो कक्षमा घुम्दाघुम्दै फेरि अचानक पृथ्वीमा ठोक्किनलाई आइपुग्न पनि सक्छन् । यस्तो खतराबाट मानिसलाई बचाउन यो महत्त्वपूर्ण हुन सक्छ । 

एरिजोना युनिभर्सिटीकी एलेसान्ड्रा स्प्रिङम्यान भन्छिन्, ‘यदि कुनै उल्कापिण्ड रडारको पक्राउमा आएमा त्यसबाट पृथ्वीलाई पुग्न सक्ने क्षतिको अनुमान लगाउन सकिन्छ । पृथ्वीको वातावरणमा प्रवेश गरेपछि त्यो उल्कापिण्ड कति खतरायुक्त हुनेछ भनेर पनि अनुमान लगाउन सकिन्छ । उल्कापिण्डको आकार जति ठूलो भयो, त्यसबाट पुग्न सक्ने क्षति पनि त्यतिकै भयानक हुने स्प्रिङम्यानको भनाइ छ ।

तर, यदि धूमकेतु, उल्कापिण्ड अथवा क्षुद्र ग्रहबाट हजारौं, लाखौं मानिसको लागि खतरा बन्न सक्ने सम्भावना छ भने के होला ? यदि ठूलो मात्रामा अन्तरिक्षको फोहोर पृथ्वीमा झर्ने सम्भावना रह्यो भने ? पृथ्वीको जलवायुमा त्यसले लामो समयका लागि असर पुर्यायो भने ?

हामीले कुनै पनि क्षुद्र ग्रह पृथ्वीमा आउनुभन्दा अगाडि नै पत्ता लगायौं भने हामीसँग त्यसको क्षतिबाट बच्ने प्रशसत समय रहनेछ ।  स्प्रिङम्यान भन्छिन्, ‘कुनै पनि एस्टेरोइडबाट बच्न त्यसतर्फ अन्तरिक्षयान पठाउन सकिन्छ ।’

यसरी अन्तरिक्षयान क्षुद्र ग्रहतर्फ पठाएर त्यसको बाटो मोड्न अथवा नष्ट गर्न सकिन्छ । त्यस्तै, क्षुद्र ग्रहतर्फ कुनै विस्फोटक पनि पठाउन सकिन्छ । यदि हामी यस्तो खतराबाट आफू बच्न र पृथ्वीलाई बचाउन सफल भयौं भने यसको श्रेय ती वैज्ञानिकलाई जान्छ जसले उल्कापिण्ड कति ठूलो, तीव्र गतिको र खतरायुक्त छ भनेर थाहा दिन सक्छन् ।

बीबीसी अर्थ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ४४ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय