महिलालाई ‘कुरुप’ हुने छुट किन छैन ? कहाँ छ सुन्दरता ?

ehulaki
प्रमोद धिताल | साउन १९, २०७६ आइतबार | 0

सुन्दरताको विषयलाई लिएर हामीकहाँ किन आवश्यकताभन्दा बढी भ्रमहरु विद्यमान होलान् ? फिल्मी क्षेत्रमा जानलाई मिलेको शरीर, निश्चित उचाईको कद र गोरो छाला अनिवार्य शर्तजस्तै किन मानिन्छ होला ? अहिले पनि केही निश्चित शारीरिक बनावटहरुको आधारमा कसैलाई सुन्दर देखाउनुप¥यो भने, “कस्तो हिरो जस्तो रैछ” या “हिरोइन जस्तै रैछ” भन्ने गरिन्छ । अर्थात नायकत्व मानिसको सोंच, दृष्टिकोण र उसबाट व्यक्त हुने सामाजोपयोगी व्यहारमा होइन व्यक्तिको रंग र मिलेको ज्यानमा हुन्छ । हाम्रो समाजको अधिकांश हिस्सा सुन्दरताको खोजी आन्तरिक गुणमा होइन शरीरका अंगहरुमा गर्छ । यसले सुन्दरता सम्बन्धी हाम्रो दरिद्र मनोविज्ञानलाई नै उजागर गर्छ । यसको पछाडि सुन्दरता सम्बन्धी लामो समयदेखिको सत्तापक्षीय मनोविज्ञानले काम गरेको छ । 

हामीकहाँ सुन्दरताको विषयलाई लिएर केही यस्ता घोषित÷अघोषित मापदण्डहरु छन् जसको अभावमा व्यक्ति आफू कुरुप भएको हीनताबोध पालिराख्न बाध्य हुन्छ । यदि यस्तो भ्रम हुन्नथ्यो भने अधिकांश महिलाहरुले ओठमा लिपिष्टिक लगाउनु पर्दैनथ्यो । गहनाहरुलाई सुन्दरताको अनिवार्य साधन मानिदैनथ्यो । बजारले निर्धारण गरिदिएका सौन्दर्य प्रशाधन र निश्चित मूल्यका कपडाहरु नै सुन्दरताका निर्णायक साधनहरु मानिदैनथे । केटाहरुले विवाहपूर्व “सुन्दर केटी” खोज्दै गर्दा सुन्दरताको मापदण्ड शरीरको रंग र बनावटले भन्दा अन्य कुराहरुले पहिलो महत्व पाउँथे । कुनै घरमा छोरी पैदा हुँदा होस् या “नयाँ बुहारी भित्रिँदा” सुन्दरता र कुरुपताको फैसला पहिलो नजरमै घरपरिवारका सदस्य र आफन्तहरुले गर्दैनथे । 

मातृसत्तात्मक समाजलाई छोडेर कुनै पनि समाज महिलामैत्री हुन सकेन । किन कि महिला सुन्दरताको पर्यायवाची गोरो रङ्ग, निश्चित शारीरिक बनावट अनि त्यसको पर्यायवाची महिला भइसकेपछि महिलाहरुलाई “कुरुप” हुने छुट हुँदैन ।

यसर्थ सुन्दरताको मापदण्ड न बस्तु हुनसक्छ न त शरीर । सुन्दरताको अन्तिम स्रोत विचार र मानिसले अँगालेको जीवन दर्शन नै हो । उसले समाजसँग कस्तो अन्तक्रिया गर्छ र त्यसको प्रभाव के पर्छ ? यसले नै मानिस को कति सुन्दर हो या होइन भन्ने कुराको फैसला गर्छ । त्यसमा पनि सुन्दरताको विषयलाई लिएर महिलासम्बन्धी जुन भ्रम स्थापित गरिएको छ, त्यसको शिकार महिलादेखि सिंगो समाज भएको छ । “लैंगिक हिसाबले सुन्दरताका स्रोत महिला हुन् । सुन्दर चिज उपभोग योग्य हुन्छ । त्यसको अधिकारी पुरुष हो । तसर्थ महिलाहरुलाई जति सक्यो भोग गर्नुपर्छ ।” यो मनोविज्ञानलाई स्थापित गर्नमा सामन्तवादले जति भूमिका खेलेको थियो, त्यसलाई स्थापित र बजारीकरण गर्ने काममा पूँजीवादले धेरै भूमिका खेलेको छ । यो मनोविज्ञानको शिकार सिङ्गो समाज नै भएको छ । यो सवालमा मातृसत्तात्मक समाजलाई छोडेर कुनै पनि समाज महिलामैत्री हुन सकेन । किन कि महिला सुन्दरताको पर्यायवाची गोरो रङ्ग, निश्चित शारीरिक बनावट अनि त्यसको पर्यायवाची महिला भइसकेपछि महिलाहरुलाई “कुरुप” हुने छुट हुँदैन । तर सुन्दरताको निर्णायक र अर्को पाटो त विचार र व्यवहार पो हो । त्यो कुरालाई बिर्सिएर न महिला न पुरुष कसरी सुन्दर हुनसक्छ ? बाह्य रुपरङगको हिसाबले “सुन्दर” तर आन्तरिक गुणको हिसाबले कुरुप मानिसको तुलना संसारको अर्को कुन कुरुपतासँग गर्न सकिएला ?

शोषणविरोधी जतिसुकै चर्का नारा लगाउने सचेत महिलाहरु पनि सामन्तवाद र पूँजीवादले निर्धारण गरिदिएका महिलाद्वेषी सीमारेखाहरुभित्र कैद हुन रुचाएको देखिन्छ । पुरानै साधनहरु यथावत कायम राखेर नयाँ साध्य प्राप्त गर्न सकिन्न । त्यसको लागि निर्ममतापूर्वक महिलाहरुलाई बस्तु बनाइराख्ने सुन्दरताका परिभाषाहरुसँग सम्बन्ध बिच्छेद गर्नैपर्ने हुन्छ । 

दिमागमा कायम भएको साँस्कृतिक प्रभूत्वलाई केवल नारा र तर्कहरुले मात्र विस्थापित गर्न सक्दैनन् । त्यसको लागि आन्तरिक विस्फोट नै चाहिन्छ । आन्तरिक विष्फोटले लामो समयसम्मको निरन्तर र सुव्यवस्थित साँस्कृतिक संघर्षको माग गर्छ । “हाम्रो सुन्दरता हाम्रो शरीरका अङ्ग प्रत्यङ्ग र रङ्गमा होइन विचारमा छ ।” अनि “तिमीले निर्धारण गरिदिएको सुन्दरताको परिभाषा हामीलाई स्वीकार्य छैन, हामी आफै आफ्नोे सुन्दरताको परिभाषा कोर्छौं ।” भन्न सक्ने बागी महिलाहरुको आवश्यकता बढेको छ यतिखेर । यो प्रसङ्ग महत्वपूर्ण यसकारणले छ कि आज हरेक बहानामा शोषित भएको कुरा सबै महिलाहरुले स्वीकार्छन् । तर शोषणका साधनहरुप्रतिको मोह भने यो या त्यो बहानामा कायम छ । शोषणविरोधी जतिसुकै चर्का नारा लगाउने सचेत महिलाहरु पनि सामन्तवाद र पूँजीवादले निर्धारण गरिदिएका महिलाद्वेषी सीमारेखाहरुभित्र कैद हुन रुचाएको देखिन्छ । पुरानै साधनहरु यथावत कायम राखेर नयाँ साध्य प्राप्त गर्न सकिन्न । त्यसको लागि निर्ममतापूर्वक महिलाहरुलाई बस्तु बनाइराख्ने सुन्दरताका परिभाषाहरुसँग सम्बन्ध बिच्छेद गर्नैपर्ने हुन्छ । 

“हाम्रो सुन्दरता हाम्रो शरीरका अङ्ग प्रत्यङ्ग र रङ्गमा होइन विचारमा छ ।” अनि “तिमीले निर्धारण गरिदिएको सुन्दरताको परिभाषा हामीलाई स्वीकार्य छैन, हामी आफै आफ्नोे सुन्दरताको परिभाषा कोर्छौं ।” भन्न सक्ने बागी महिलाहरुको आवश्यकता बढेको छ यतिखेर ।

अरु कसैले हजारौं वर्ष पहिलेदेखि गरिदिएका सुन्दरताका परिभाषाहरुभित्र कैद भएकै कारणले महिलाहरुको अधिकांश हिस्सा आजपर्यन्त स्वतन्त्र छैन । पूँजीवादी उपभोक्तावादले उनीहरुलाई आफ्नो इसारामा बेशरम तरिकाले नचाउँदैछ तर उनीहरु त्यसैलाई स्वतन्त्रता ठानेर मख्ख छन् । जसले उनीहरुलाई नाङ्गिनु स्वतन्त्रता हो भन्यो, उनीहरु त्यसैमा मख्ख परे, तर त्यो सर्वथा घृणायोग्य देह व्यापार हो भन्नेतिर हेक्का नै रहेन । सुन्दरता र स्वतन्त्रताको नाउँमा नाफाको माल कहिलेसम्म बनिरहने ? यसउपर प्रश्न खडा नगरी खोजिने महिला मुक्तिले कहीं पनि पु¥याउन सम्भव छैन ।

महिलाद्वेषी सुन्दरताको विरुद्धमा उनीहरु नै सक्रियतापूर्वक उभिनुपर्ने आवश्यकता छ । मेरो विचारमा कुरुप परम्पराहरुमाथि प्रश्न गर्नसक्ने र चुनौति दिने महिला नै यतिखेरको पहिलो दर्जाको सुन्दर महिला हो ।

यो प्रसङ्ग किन आवश्यक देखियो भने महिलालाई जसरी पुरुषलाई कहिल्यै पनि सुन्दरताको परीक्षामा खरो उत्रिनु परेको छैन । किनकि ऊ हाम्रो सामाजिक मनोविज्ञानभित्रको सदाबहार योग्य पात्र हो । ऊ सबै कुराहरुको भोग गर्न स्वतन्त्र छ । महिलाहरुको निम्ति योग्य हुन उसलाई कुनै सौन्दर्य प्रशाधनको जरुरत पर्दैन । महिलालाई जति उसले आफ्ना “नमिलेको र कुरुप” शरीर, अङ्ग र रङ््गलाई लिएर पिरोलिनु पर्दैन । तसर्थ पनि महिलाद्वेषी सुन्दरताको विरुद्धमा उनीहरु नै सक्रियतापूर्वक उभिनुपर्ने आवश्यकता छ । मेरो विचारमा कुरुप परम्पराहरुमाथि प्रश्न गर्नसक्ने र चुनौति दिने महिला नै यतिखेरको पहिलो दर्जाको सुन्दर महिला हो । नेपाली समाजको सन्दर्भमा कुरा गर्ने हो भने योगमाया र पारिजातहरुको विरासतलाई निरन्तरता दिँदै सुन्दरताको नयाँ उचाई हासिल गर्नु नै वर्तमानका सुन्दर महिलाहरुको परिचय हो ।

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय