आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना

ehulaki
ई-हुलाकी | भदौ १, २०७६ आइतबार | 0

काठमाडाैं । आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपासमा रहेको छ । मनसुनको निम्न चापीय रेखा भारतको उत्तर–पूर्वी राजस्थान तथा हरियानातिर छ ।

मनसुनको न्यून चापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शीरसम्म जनाउने मौसमविद्हरुले जानकारी दिएका छन् । आइतबार बिहान देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही पूर्व र पश्चिमका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको जनाइएको छ ।

दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही पश्चिमी, पूर्वी र मध्य क्षेत्रका स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । पश्चिमी र पूर्वी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय