ओलीकै नेतृत्वमा ५ वर्ष सरकार, आलोपालोको सहमति भएको छैन: महासचिव पौडेल

ehulaki
ई-हुलाकी | भदौ २२, २०७६ आइतबार | 0

काठमाडौँ । पछिल्लो समय सरकारको काम कारबाहीलाई लिएर प्रतिपक्षदल र नेपाली जनता रुष्ट छन्। वहुमतको सरकार भएपनि विकासका काममा ढिलासुस्ती गरेको, कामभन्दा बढी कुरा गरेको भन्ने जस्ता आरोप सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई लागेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए नेकपाका अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने धेरैको अपेक्षा छ। पार्टी एकताको समयमा आलोपालो सरकार सञ्चालनको सहमति भएको थियो। तर तत्कालिन नेकपाका केही नेताले अहिले उक्त कुरा अस्वीकार गर्दै आएका छन्। प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमा ५ वर्षसम्म आफ्नै नेतृत्वमा सरकार सञ्चालन हुन्छ भन्ने अभिव्यक्ति दिदै आएका छन्। आज हामी सरकार सञ्चालन तथा काम कारबाहीका विषयमा नेकपाका महासचिव विष्णु पौडेलसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ।

१) प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार भएको हो ?

उहाँ चाही पूर्ण रुपमा स्वस्थ भएर फर्किनु भएको छ। उहाँको नीजि डाक्टरले नै औपचारिक स्टेटमेन्ट दिइसक्नु भएको छ। उहाँका अनुसार प्रधानमन्त्री ज्यू को राम्रोसँग उपचार भएको उहाँ स्वस्थ भएर आउनु भएको छ। उहाँ नियमित काममा सक्रियता पूर्वक लाग्न सक्नुहुन्छ। 

२) पछिल्लो समय त सरकारले सक्रिय भएर कामै गर्न सकेन् नी ? 

सरकारले काम गर्न सकेन भन्ने कुरामा आग्रह पनि मिसिएको छ। म के मान्दछु भने सरकारको अपेक्षा र सरकारले छोटो समयमा गरेका काममा अन्तर छ। जनताले धेरै ठूलो प्रगति, धेरै ठूलो उपलब्धि चाहेका छन्। हामीले जनताको सुसुप्त भएको आकंक्षालाई जागृत पनि गरेका हौँ, निर्वाचनको पूर्व सन्ध्यामा। यो देश बन्छ। गरिब हट्छ। समृद्धि आउछ। हामी सबै प्रकारका विभेद समाप्त गर्छौ, देश बनाउछौँ। जनतालाई सुखी जीवनको प्रत्याभूति गराउछौँ भनेर हामीले भनेकै हो। हामी त्यो गर्छौ पनि। त्यसका लागि हामीलाई एउटा समयावधि चाहिन्छ। ५ वर्षको अवधि जनताबाट पाएका छौँ। ५ वर्षभित्र हामीले जनतासँग गरेका प्रतिवद्धता पुरा गरेर जनताका माझ जान्छौँ। यो हाम्रो अठोट हो। यो हाम्रो संकल्प हो।  

३) दिनको संकेत बिहानी गर्छ ? तर यो सरकार बनेपछि सुशासनको प्रत्याभूत त जनताले गर्न पाएका छैनन् । दुई तिहाईको सरकारले भ्रष्टाचारको गर्यो भने प्रतिवेदन त धमाधम आइरहेका छन् नी ?

यो सरकारले भ्रष्टाचारका सन्दर्भमा आफूलाई निर्ममतापूर्वक प्रस्तुत गरेको छ। यसका थुप्रै श्रृखलाहरु छन्। मैले अहिले बताइराख्नु पर्दैन्। भ्रष्टाचारीहरु कारबाहीको दायरामा एकपछि अर्को आइरहेका छन्। यो सरकारको कार्यकालमा कसैले पनि उनमुक्ति पाउन सक्दैन्। कानुनको प्रभाकारी ढंगले कार्यान्वयन हुन्छ।

४) प्रतिपक्ष दल काँग्रेसले काण्डै काण्डमा सरकार फस्यो भनेर सरकारको विरुद्धमा सडक आन्दोलन गर्ने बताइसक्यो नी ? 

संवैधानिक रुपमा हेर्दा काँग्रेस प्रतिपक्षमा छ। प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्ने कुरालाई हामी स्वभाविक मान्छौँ। कानुनले दिएको संविधानले दिएको अधिकारलाई प्रयोग गरेर उ अगाडि बढोस् त्यसमा हामीलाई कुनै आपत्ति छैन्। सडकमा जान पनि रोक्ने कुरा भएन्। सधनमा आवाज उठाउन पनि रोक्ने कुरा भएन्। यी त संविधानमा प्रवन्ध गरेका कुरा हुन्। संविधानले दिएको अधिकार प्रयोग गरेर प्रतिपक्ष आओस्। जुन मुद्दालाई लिएर प्रतिपक्ष सडकमा जान्छन्, त्यस मुद्दालाई जनताले साथ दिन्छन् की दिदैनन् त्यो त जनताको कुरा हुन्छ। 

५) यो सरकारको एउटा भिजन छ जनचाहना अनुसार काम गर्ने। तर खै त जनताको सम्बोधन भएको ? जनताले भ्रष्टार मुक्त देश, महंगी नियन्त्रण, सुशासन र समृद्धि चाहेका थिए। तर त्यसको ठिक उल्टो गर्यो नी सरकारले ?

सरकारले राम्रा काम मात्रै गरेको छ। कही कतै मान्छेहरुका आलोचना पनि होलान। नभए सरकारले राम्रा काम मात्रै गरेको छ। सरकारको पहिलो कर्तव्य संविधानको कार्यान्वयन र कानुन तर्जुमा गर्नु थियो। त्यो तर गर्यो नी सरकारले । कानुन समयमै नबनेको भए संवैधानिक वैद्ययतामा प्रश्न खडा हुन्थ्यो। हामीले १ वर्ष भित्रमा सरकारले तर्जुमा गरेका, अपेक्षा गरेका कानुनहरु निर्धारण गर्यौँ। त्यस्तै अर्को काम नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ ? तपाई भारतसँगको कुरा गर्नुहोस्, तपाई चीनसँगको कुरा गर्नुहोस्, तपाई यूएनसँगको कुरा गर्नुहोस्, तपाई यूरोपसँगको कुरा गर्नुहोस्। नेपालले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई राष्ट्रिय हित अनुरुप निकै मजबुद ढंगले अघि बढाएको छ। नेपालले आफ्नै राष्ट्रय हितका लागी हामी छिमेकी राष्ट्रसँग सम्बन्ध स्थापित गराउन चाहन्छौँ भन्ने मान्यता स्थापित गरेको छ।
 
६) तपाई सिंगापुर जानसभयो, त्यसपछि बामदेव गौतम जानुभयो ? तपाईलाई प्रधानमन्त्री ओलीले किन बोलाउनु भएको रहेछ ?

कसले भन्यो बोलाउनुभयो भनेर ? हाम्रो पार्टीको अध्यक्ष, मुलुकको प्रधानमन्त्री उपचारमा हुनुहुन्थ्यो। हामी भेट्न गयौँ। यो चाही उहाँले बोलाएर जानुभयो, बोलाएरै गएको भन्ने चर्चा परिचर्चा किन ? नेपाल फर्किदै हुनुहुन्छ भनेर के हामी भेट्न जान मिल्दैन थियो ? त्यसको पनि कारण खोज्नु पर्ने ? विरामी भेट्न किन गयो? कारण चाहियो अब ? के भएको हाम्रो समाज ?

७) पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्नका लागि त्यहाँ गएको भन्ने चर्चा थियो नी ?

आन्तरिक द्वन्द्व व्यवस्थापन गर्नका लागि सिंगापुरमा मात्र ठाउँ छ ? अन्त बसेर छलफल गर्न पाइदैन्? चार्चा त कहाँ कहाँ हुन्छ ? यस्ता आधारहिन प्रश्न हुन्। एउटा मानविय संवेदनाको पनि कुरा छ।  मलाई दुख लाग्छ आज वास्तवमा । आज सुन्न नसकिने अभिव्यक्ति पनि एउटा जिम्मेवार ठाउँका मानिसहरुले पनि गरे भन्ने सुन्छु। लज्जा बोध हुन्छ। हामीले कस्तो खालको संस्कृती निर्माण गर्न खोज्दैछौँ ? कोही मान्छे विरामी पर्दैन् ? कोही विरामी पर्यो भने उसले पदबाट राजीनामा दिनुपर्ने ? ठाउँ छोड्दिनु पर्ने ? यस्ता अभिव्यक्ति दिएर हिँड्ने ? विरामी प्रधानमन्त्रीलाई भेट्न, स्वास्थ्य लाभको कामना गर्न गयौँ। स्वास्थ्यलाभको कामना नहुने, त्यसको पछि अर्को अज्ञात कारण छ भनि प्रश्न गर्ने ?

८) भविष्यमा हजुर र वामदेव गौतमलाई प्रधानमन्त्रीले पार्टीको सबै जिम्मेवारी दिन चाहनु भएका कारण विश्वासिला पात्रलाई सिंगापुर बोलाउनु भयो भन्ने कुरा थियो त ? 

यो चाही नेपाल कम्युनिष्ट पार्टीलाई बुझ्दै नबुझ्नेहरुले गर्ने टिप्पणी हो। नेपाल कम्युनिष्ट पार्टी एउटा वैधानिक अन्तर्गत सञ्चालित हुन्छ। कसलाई जिम्मा दिने ? कसरी जिम्मा दिने ? कसले जिम्मा लिने ? यी संस्थागत ढंगले छलफल गरेर तय हुने विषय हुन्। प्रधानमन्त्री ज्यूले सिंगापुरकै अस्पतालबाट पार्टीको जिम्मा दिने भन्ने सबै कुरा गलत हुन्। 

९) आज कम्युनिष्ट पार्टीमा त गुटै गुट छ भन्ने आरोप छ नी ?

कहाँ छ हाम्रो पार्टीमा गुट ? हाम्रो पार्टी सुन्तला हैन्, बोक्रा छोडाउँदा केस्रा केस्रा बन्ने भन्ने। हाम्रो पार्टी स्याउ जस्तो सिंगो छ। बोक्रा फाल्दा पनि त्यसमा केस्रो छुट्टिदैन्। दुई चीज एक बन्न सक्दैन्। गुट बनाउने मान्छेले पार्टी बनाउन सक्दैन्। पार्टी बनाउने मान्छेसँग गुट हुँदैन्। दुबै अध्यक्ष मिलेर अगाडि बड्नु भएको छ। उहाँहरुबीच कुनै मनमुटाव छैन्। 

१०) पार्टी एकताका समयमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो। साढे २ वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ की हुँदैन्?

मैले बुझे अनुसार हाम्रो पार्टीको विधान अनुसार उहाँ दुबैले सरकारको नेतृत्व कसरी गर्ने पार्टीको नेतृत्व कसरी गर्ने भनेर दुबै जनाले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। र गर्नुहुनेछ। यहाँ ५ वर्ष सरकार सञ्चालन होला। सरकारले स्थायित्व प्राप्त गर्ला भनेर कोही व्यक्तिलाई चिन्ता छ। चिन्ता भएका व्यक्तिले कहाँ नेर दरार ल्याउन सकिन्छ भनेर प्रयास गर्छन्। दुई जनाबीच मनमुटाव बटाउने प्रयास असफल हुन्छ। कसैले यो प्रयास नगरे हुन्छ। उहाँहरु एकतावद्ध भएर पार्टी र सरकारलाई अगाडि बढाउनु हुन्छ। ओली ज्यू ५ वर्षका लागि निर्वाचन हुनुभएको हो। निर्वाह हुँदा दुई वर्ष, तीन वर्षका लागि भएको होइन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय