बालविवाह र घरेलु हिंसाबाट उम्केर सफल उद्यमी बनेकी कल्पनाको कथा

ehulaki
एजेन्सी | भदौ २२, २०७६ आइतबार | 0

म यस्तो समाजबाट आएकी हुँ कि जहाँ आज पनि केटीहरुलाई धेरै पढाउने लेखाउनेबारे सोचिदैन । मेरो जन्म महाराष्ट्र राज्यको अकोलाको एक सानो गाउँ रोपरखेडामा एक दलित परिवारमा भयो । बच्चैदेखि नै म धेरै बढ्न चाहन्थें । मेरो बुवा पुलिसमा जागिरे हुनुहुन्थ्यो र मलाई पढाउन चाहनुहुन्थ्यो । तर, जब म सात कक्षामा पढ्दै थिएँ, तब मामाको दवावमा आएर बुवाले मेरो विवाह गरिदिनु भयो । त्यस समय मेरो उमेर जम्मा १२ वर्षको थियो । मेरा श्रीमानको उमेर भने २२ वर्षको थियो ।

मेरो घर मुम्बईनजिक कल्याण भन्ने स्थानमा थियो । यसरी म महाराष्ट्रको अकोला जिल्लाबाट कल्याण आएँ । विवाहपछि मेरो जिन्दगी बदलियो । ममाथि घरेलु हिंसा, उत्पीडन हुन थाल्यो । हरेक कुरामा ममाथि दुव्र्यवहार गर्न थालियो । ससाना गल्तीमा पनि कुटपिट गर्न थालियो । म आफ्नो जिन्दगीको सबभन्दा नराम्रो अवस्थाबाट गुज्रिरहेको थिएँ । विवाहको करीव ६ महिनापछि मेरा बुवा कुनै कामले मुम्बई आउनु भएको थियो । उहाँलाई आफ्नो अगाडि देखेर मेरो धैर्यको सीमा टुट्यो । म बेस्सरी रुन थालें । बुवाले मलाई अकोला फिर्ता लिएर आउनु भयो । तर, यहाँ आएपछि पनि समस्या कम हुनुको साटो झन बढ्न थाल्यो । मेरै समाजका मानिसहरुले मलाई बहिष्कार गर्न शुरु गरे । उनीहरुका अनुसार म मर्यादाहीन पत्नी थिएँ । 

यी सबै कुराहरुले म धेरै नै अफसोचमा परें । एक दिन मैले मुसा मार्ने औषधि खाएर आत्महत्या गर्ने कोसिस पनि गरें । तर, नियतिले मलाई बचायो । म पूरै सञ्चो भएपछि मैले आमासँग भने, ‘म मुम्बई जान चाहन्छु ।’ बुवाले पहिले त अस्वीकार गर्नुभयो तर पछि मान्नुभयो । म मुम्बईमा मेरो काकाकोमा आएँ । मुम्बई आएपछि मलाई एक होजियारी कम्पनीमा काम मिल्यो । हुन त म सिलाईको काम गर्न भनेर गएकी थिएँ तर मेरो आत्मविश्वास यति कमजोर थियो कि मैले मेशिन चलाउन सकिन । त्यसपछि कम्पनीमा मलाई प्रतिदिनको हिसावले धागो काट्ने काम दिइयो । जब सबै मानिसहरु भात खान जान्थे, तब म चूपचाप मेशिनमा बस्थें ।

जब मानिसहरुले मलाई मेशिन चलाउन आउँछ भन्ने देखे, त्यतिबेलादेखि मलाई सिलाईको काम पनि दिइयो । त्यसपछि परिवासँग संघर्ष गर्दै ऋण लिएर मैले सिलाई मेशिन किनें । बिस्तारै बिस्तारै म व्यवसायिक गतिविधिमा सक्रिय हुन थालें । मैले दोस्रो विवाह गरें । दोस्रो श्रीमान व्यवसायी हुनुहुन्थ्यो । मलाई सधैभरि समाज खासगरी महिलाहरु र बेरोजगारहरुका लागि केही गर्ने इच्छा हुन्थ्यो । मैले सुशिक्षित बेरोजगार संगठनको स्थापना गरें ।

यहाँ मैले बेरोजगारहरुलाई एउटा प्लेटफार्म दिएँ र व्यवसाय शुरु गराउनका लागि उनीहरुलाई ऋण पनि दिलाएँ । त्यतिबेला म घाटामा चलिरहेको कमानी ट्युब्स लिमिटेडको बोर्डमा संलग्न थिएँ । कम्पनी बन्द हुने सङ्घारमा थियो । त्यही समयमा केही मजदूरहरु मसँग आएर कम्पनी चलाउनुपर्ने आग्रह गर्न थाले । उनीहरुलाई देखेर मैल ‘हुन्छ’ त भनिहालें तर त्यतिका पैसा कहाँबाट ल्याउने भनेर सोच्नै सकिरहेको थिएन । मैले १० जनाको एउटा समूह बनाएर एउटा प्रस्ताव तयार पारें र बैंकलाई देखाएँ ।

पछि हाम्रो प्रस्ताव पास भयो र मलाई कानुनी रुपमा नै कम्पनीको अध्यक्ष घोषित गरियो । कैयौं प्रकारका चुनौतीहरुलाई पार गर्दै सन् २०१९ मा दोस्रोपटक प्लान्ट लगाएर उत्पादन शुरु गरें । भाग्यले मेरो साथ दियो । आज कमानी ट्यूब्स लिमिटेड मुनाफा कमाउने कम्पनी बनिसकेको छ । मैले विद्यार्थीहरुका लागि पुस्तकालय खोलेको छु र साथमा आर्थिक सहायता पनि गर्दै आएकी छु । मेरो मत छ कि यदि तपाईं मेहनत, लगन, दृढता, सकारात्मक सोच र विश्वासले काम गर्नुहुन्छ भने तपाईंलाई सफलता अवश्य मिल्ने छ ।

(भारतमा पद्मश्री सम्मानबाट सम्मानित महिला उद्यमी कल्पना सरोजसँग गरिएको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय