बोगटी स्मृति प्रतिष्ठानको जिल्ला शाखा दाङमा पनि

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौं । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले दाङमा शाखा विस्तार गरेको छ । प्रतिष्ठानको यो पहिलो जिल्ला शाखा हो ।

प्रतिष्ठानको केन्द्रीय समितिले दाङमा शाखा विस्तार गर्दै पदाधिकारी र सदस्यहरु मनोनित गरेको छ । जसअनुसार प्रतिष्ठानको अध्यक्षमा नरबहादुर अधिकारी, उपाध्यक्ष रमणकुमार शर्मा, सचिव नरेन्द्र केसी, कोषाध्यक्ष प्रमिता चौधरी, सदस्यहरु हुमा डिसी, मावधप्रसाद सुवेदी, खुशीराम चौधरी, तुलसीराम अधिकारी र हिरालाल चौधरी रहेका छन् ।

शाखाको पहिलो बैठकले शाखालाई जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गर्ने, भदौ ३० गते बोगटी स्मृति सभा गर्ने, शाखाको कार्यालय घोराही १७ मा स्थापना गर्ने र बोगटी स्मृति भवन निर्माणका लागि जग्गा खोजी गर्ने निर्णय गरेको छ । जग्गा खोजीका लागि उपाध्यक्ष रमणकुमार शर्माको संयोजकत्वमा हुमा डिसी र खुशीराम चौधरी सदस्य रहेको समिति पनि गठन गरेको छ ।

समितिले दिएको प्रतिवेदनका आधारमा जग्गा प्राप्त गरी भवन निर्माणको काम शुरु गर्ने प्रतिष्ठानले जनाएको छ । त्यस्तै बैठकले भदौ ३० गते घोराही उपमहानगरपालिकाको सभाहलमा हुने बोगटी स्मृति सभामा उपस्थितिलाई पनि सबैलाई आव्हान गरेको छ । शाखा अध्यक्ष अधिकारीको अध्यक्षता र केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।

नुवाकोटमा जन्मिएका बोगटीले पश्चिम नेपाललाई केन्द्र बनाएर राजनीति गरेका थिए । बोगटी सरल र निष्ठावान नेता थिए । बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते हृदयाघात र मष्तिष्कघातका कारण निधन भएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय