मेरुदण्ड भाँचिएको काँग्रेसको दोस्रो जागरण अभियान, संगठनभित्रै शंका उपशंका

ehulaki
बिना भट्टराई | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबार शुरु भएको छ। 

वीपी कोइरालाको १०६ औँ जन्म जयन्तीको अवसर पारेर हिमाल पहाड तपाई–मधेसमा एक साथ यो अभियान शुरु गरिएको हो। १५ दिनसम्म सञ्चालन हुने यो अभियान असोज ७ गते सकिनेछ । यसअघि ७७ जिल्लामा एक महिने जागरण अभियान सञ्चालन गरेको काँग्रेसको यो दोस्रो जागरण अभियान हो।

दुई तिहाईको कम्युनिष्ट सरकारले शासन सम्हालेको दुई वर्ष पुग्न लाग्दा पनि जनचाहनाअनुसारका काम बन्न नसकिरहेका बेला जनतालाई आफ्नो पक्षमा पार्ने काँग्रेसको यो अभियान निकै प्रभावकारी बन्ने दाबी गरिएको छ। तर अर्को तिर भ्रातृ संस्थाको महाधिवेशन नगराएर काँग्रेस जागरण अभियानमा जानु सान्दर्भिक नरहेको भन्दै प्रश्न उठाइएको छ।  

भताभुङ्ग भातृसंगठन
यो जागरण अभियान सञ्चालन भइरहँदा पार्टीका मेरुदण्ड मानिएका नेपाल विद्यार्थी संगठन (नेविसंघ) र तरुणदल लगायतका भातृ संगठन भताभुङ्ग छन्। यी भातृ संगठनलाई समयमै पूर्णता दिन नसक्दा वर्तमान पार्टी कति कमजोर छ भन्ने प्रष्ट हुन्छ। 

भातृ संगठन नै तितर वितर भएका बेला सञ्चालन गरिएको यो अभियानले कसरी सफलता पाउन सक्छ भन्ने प्रश्न पनि खडा भएको छ। यही प्रश्न ई–हुलाकी डटकमले काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदीप पौडेलसँग गरेको थियो। उनले जवाफमा भातृ संगठनकै कारण पार्टीले आफ्नो महाअभियान रोक्न नमिल्दै भन्दै यसले अभियानमा पूर्ण असर नपर्ने दाबी गरे।

उनले भने, 'पार्टी र संगठनको आन्तरिक कारणले गर्दा भातृ संगठनले पूर्णता पाउन सकेका छैनन्। यी बलिया संगठन नहुँदा अभियान केही खल्लो त पक्कै हुन्छ, तर त्यसले पूर्ण रुपमा असर गर्दैन्। किनकी यो अभियान सफल बनाउन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमै ३३० केन्द्रीय प्रतिनिधि खटिएका छन्।' 

जागरण अभियान सुरु गरेको काँग्रेसको भातृ संगठन नेविसंघ महिनौँदेखि नेतृत्वविहिन छ भने अधिवेशनको समयदेखि नै चार जनाको केन्द्रीय समितिमा सिमित भएको नेपाल तरुण दलको पनि समयसीमा सकिएको छ। 

भातृ संगठन नै भताभुङ्ग भएको काँग्रेस यतिबेला लङ्गडो जस्तै छ। लङ्गडो पार्टी देश दौडाहामा होमिदा कतिसम्म सफल होला त्यो सजिलै अनुमान लगाउन सकिन्छ। 

जागर अभियान शुरु भएकै दिन भातृ संगठनको विरोध
काँग्रेसको जागरण अभियान शुरु भएकै दिन पत्रकार सम्मेलन गर्दै नेविसंघका नेताहरुले आपत्ति जनाएका छन्। देशकै गौरवशाली इतिहास बोकेको शक्तिशाली विद्यार्थी संगठन नेविसंघ आफ्नै मातृ पार्टीबाट शिकार बनेको उनीहरुको आरोप छ। 

नेविसंघका नेता मोतीलाल भण्डारीले समयमा महाधिवेशन सम्पन्न गरी सबै भ्रातृ संस्थाहरुको नेतृत्व चयन गरी पार्टीलाई बलियो बनाउनु पर्ने बेलामा काँग्रेसको नेतृत्वको जिम्मेवार नभएका कारण पार्टीको भ्रातृ तथा शुभेच्छुक संघ संगठनहरु अलपत्र परेको आरोप लगाए। 

पार्टीको केन्द्रीय तहदेखि वडा तह सम्मका संरचनाहरु लथालिङ्ग भएका बेला यो जागरण अभियानले कसरी जनताको मन जित्न सक्छ भन्नेमा उनले आशंका व्यक्त गरे। केही दिनअघि सम्पन्न काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशन उन्मुख गराउनुको साटो छलछाम गरी पार्टीको महाधिवेशन टार्ने षडयन्त्र गरेको नेवीसंघको आरोप छ।

प्रमुख प्रतिपक्ष दलको अधिकार पाएको काँग्रेसले जनसरोकारको विषयहरु उठाइ सडकदेखि सदनसम्म प्रतिवाद गर्ने र पार्टी सुधार गर्नुको सट्टा झारा टार्नका लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुले आरोप लगाएका छन्।

कहाँ पुग्यो सरकारविरुद्ध सडममा उत्रिने योजना ?
केही समयदेखि नेपाली काँग्रेसले सरकारले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्नुको साटो हैकमवाद जमाएर जनचाहना कुल्चिएको आरोप लगाउँदै यसका विरुद्धमा सडकमा उत्रिने चेतावनी दिएको थियो। तर जागरण अभियान थालेको काँग्रेसले उक्त घोषणालाई पछाडि छोडेर जागरण अभियानलाई अघि बढाएको छ। 

यतिबेला जागरण अभियान सफल बनाउनु पहिलो प्राथमिकता रहेको भन्दै सरकारविरुद्ध आन्दोलनलाई अभियानपछि अझ सशक्त रुपमा सञ्चालन गर्ने काँग्रेस युवा नेता पौडेलले जानकारी दिए। 

उनले भने, 'सरकारका नराम्रा कामको विरोध हामीले गर्दै आएका छौँ, र गरिरहनेछौँ। सदन अवरोध पारेर होस् वा सडकमा आए। जुन कुनै माध्यमबाट पनि सरकारलाई खवरदारी गर्ने हाम्रो कर्तव्य हो। हामीले आफ्नो कर्तव्य भूलेका छैनौँ । जागरण अभियानपछि अझ यसलाई हामी सशक्त बनाउँदै लैजानेछौँ।' 

कम बोल्ने र धेरै सुन्ने काँग्रेसको नीति कति प्रभावकारी ?
नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियानमा कम बोल्ने र धेरै सुन्ने नीतिलाई पहिलो प्राथमिकतामा राखेको छ। सँगसँगै वर्तमान सरकारका भ्रष्टाचार लगायत विसंगतीपूर्ण जनविरोधि कृयाकलापका बारे आम नागरिकसामू सविस्तार चर्चा गर्ने उद्देश्य पनि छ। आफ्नै संगठन बलियो बनाउन नसकेको काँग्रेसले जनमानमा गएर सरकारका नराम्रा कामको बारेमा सविस्तार गर्दा कम बोल्ने नीति कतै ओझेलमा त पर्दैन भन्ने आशंका पनि उब्जिएको छ। 

काँग्रेसकै भातृ संगठनले पनि यतिबेला व्याप्त रहेका भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, महंगीका बारेमा सरकारलाई झकझक्याउनु पर्ने बेला कम बोल्ने नीति लिएर काँग्रेस जागरण अभियानमा होमिनु प्रभावकारी नहुने बताएका छन्। यो समय जागरण अभियानमा लाग्नु जनताप्रति भ्रम छर्नु जस्तै रहेको भातृ संगठनको तर्क छ। 

सरकार र राजनीतिक दलप्रति जनताको विश्वास हराउँदै गइरहेका बेला त्यसलाई बचाइराख्न काँग्रेसको यो अभियान महत्वपूर्ण मानिएको छ। तर अर्काको विश्वास जित्न र आत्मबल बढाउन एउटा बलियो तथा निडर व्यक्तिको खाँचो भएजस्तै काँग्रेसमा पनि बलियो संगठनको आवश्यकता पर्ने हो। तर आन्तरिक कमजोरी लुकाउँदै जनतालाई विश्वास दिलाउँछु भन्नु जनताको आँखामा धुँलो छर्नु जस्तै हो। अहिलेसम्म भातृ संगठनको महाधिवेशनको टुङ्गो लगाउन नसकेको काँग्रेसले भविष्यमा जनताका चाहनामाथि पनि तुसारापात नगर्ला भन्ने के ग्यारेन्टी ? जनताले आशंका गर्ने ठाउँ प्रशस्तै भेट्न सकिन्छ। 

#nc
कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय