अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउन व्यवसायी सहमत

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । दशैंका लागि असोज ५ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । गत वर्ष १० प्रतिशत भाडा बढाएर मात्रै दशैंको लागि टिकट बुकिङ खुला गरेका यातायात व्यवसायी यस वर्ष भने हाल कायम रहेकै भाडादरमा टिकट बुकिङ खोल्न सहमत भएका छन् ।

बिहीवार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका निकायको संयुक्त बैठकले असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायी हाल कायम रहेकै भाडादरमा टिकट बुकिङ खुला गर्न सहमत भएका छन् । भाडा बढाउन व्यवसायीले दबाब दिए पनि विभागले भने चाडपर्वमा भाडा बढाउन नसकिने जवाफ यसअघि नै दिएको थियो ।

वर्षेनी दशैं मनाउन २० लाखभन्दा बढी मानिसहरु उपत्यकाबाट बाहिरिने गरेका छन् । यातायातको उचित व्यवस्था नहुँदा हरेक वर्ष उपत्यकाबाट बाहिरिने यात्रुले सास्ती भोग्दै आएका छन् । बिगतका वर्षमा दशैंलाई लक्षित गरी थप गाडीको व्यवस्था गरिएको भएता पनि यस वर्ष नथपिने यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । महासंघमा आवद्ध २५० कम्पनीका अहिले भएकै गाडी दशैंमा सञ्चालन हुने र यसैबाट व्यवस्थापन गरिने महासंघले बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय