कहिलेसम्म बोक्ने कुशिक्षाको भारी ?

ehulaki
प्रमोद धिताल | असार २५, २०७६ बुधबार | 0

सुन्दा जतिसुकै सुन्दर देखिए पनि मानिसभित्रको कुरुपता हटाउन नसक्ने बाहिरी सौन्दर्य प्रशाधनहरु अन्ततः कुरुप नै साबित हुन्छन् । हाम्रो समाजमा शिक्षाको जतिसुकै बखान गरिए पनि शिक्षाले मानिस बदल्ने काम गरेकै छैन या नगण्य मात्रामा गरेको छ । बाहिर मानिस डिग्रीको सर्टिफिकेट बोकेर ‘शिक्षित’ हुनुमा बोक्रे गर्व गर्दछ, तर त्यही हैसियत उसको निम्ति थेग्न नसक्ने भारी साबित भएको ऊ स्वयंलाई थाहा छैन । तसर्थ बर्षौंबर्ष लगाएर शिक्षाको नाउँमा समय बर्बाद गरे पनि जब अल्छी, भाग्यवादी, स्वार्थलम्पट र आत्मकेन्द्रित प्राणीहरुकै उत्पादन हुने हो भने त्यसलाई कुशिक्षाको नाम दिँदा के फरक पर्छ ? परिमाणात्मकरुपमा शिक्षण संस्था र ‘शिक्षित’हरुको संख्या दिन दुगुणा रात चौगुणा बढिरहेका छन् । तर गुणात्मक उपलब्धि भने दक्षताको हिसाबले सक्षम ‘लाहुरे’हरु या चेतनाको हिसाबले भाग्यवादका दास कारिन्दाहरु उत्पादन गर्नेसम्म सीमित छ । यो दुर्घटनाको पछाडि हाम्रो परम्परागत शिक्षा  प्रणाली र जीविकामुखी शिक्षकहरु नै जिम्मेवार छन् ।

एकथरि मानिसहरु नेपालको राजनीतिमा पढेलेखेका शिक्षित मानिसहरु प्रवेश नगरेका कारण राजनीति फलिफाप नभएको जिकिर गर्छन् । जब कि त्यहाँ पनि पढेलेखेको जमात नै क्रियाशील छ । पछि लाग्ने सबै अनुयायीहरु शिक्षित नहोलान् तर अग्रपंक्तिमा आधारभूतरुपमा शिक्षितहरु नै छन् । तर ती कति भाग्यवादी र दास मानसिकताले ग्रसित छन् भन्ने आँकलन कमैले मात्र गरेका हुनसक्छन् । निजामती क्षेत्रमा त पढाईमा खारिएकाहरुले मात्र प्रवेश पाउँछन् । समाज शोषणको मामिलामा कर्मचारीतन्त्र बद्नाम भएको कुरा सबैले स्वीकारेकै कुरा हो । समाजलाई ज्ञानको ज्योति देखाउने शिक्षकहरु आवश्यक शिक्षा प्राप्त गरेरै आफ्नो कर्मक्षेत्रमा क्रियाशील छन् । तर सवाल परिणामको हो । सवाल चेतना निर्माणको हो । औपचारिक शिक्षा त अगाडि बढ्नलाई एउटा साधन मात्र हो । त्यो नै जीवनको साध्य होइन । प्रमुख कुरा शिक्षा र ज्ञान प्राप्त गरिसकेपछि मानिसले जीवन दर्शन प्राप्त गर्न सक्यो कि सकेन भन्ने हो । भौतिक जन्मपश्चात मानिस पुनर्र्संस्कारित हुनसक्यो कि सकेन भन्ने मुद्दा नै प्रमुख मुद्दा हो । आदर्शवादीहरु पुनर्जन्ममा विश्वास गर्छन् । तर वास्तविक पुनर्जन्म त नमर्दै प्राप्त हुन सम्भव छ । त्यो भनेको यही जीवनमा मानिसले चेतना र दृष्टिकोणको भित्री आँखा प्राप्त गर्नु हो । यस्तो खालको पुनर्जन्मबाट मात्र जीवनको अर्थ र औचित्य पुष्टि हुन्छ । अन्यथा त्यो जीवन दुनियाँको सम्पत्ति नभएर केबल बोझ मात्र साबित हुनजान्छ । यदि त्यो खालको दृृष्टि र चेत प्रदान गर्न सकेन भने जुनसुकै नाउँको शिक्षा होस्, त्यो कुशिक्षा नै हो ।

हामीले जुन समाज भोग्यौं, झेल्यौं र अनुभूति ग¥यौं त्यो भौतिक र आत्मिक दुबै विकासको हिसाबले निकै पिछडिएको समाज हो भन्ने हालसम्मको मेरो बुझाई रहेको छ । यस अवस्थाबाट मुक्त गर्ने काम हालसम्मको शिक्षाले गर्न सकेन । यसको पछाडि केही खास कारणहरुले काम गरेका छन् । पहिलो कुरा त समाजका धेरै पक्षहरुजस्तै शिक्षा पनि राजनीति, वर्ग र राज्यनिरपेक्ष कुरा होइन र थिएन । शुरुमा सामन्तवादी सोंच र दृष्टिकोणलाई पक्षपोषण गर्ने शिक्षा लागू भयो । किनकि त्यो लागू गर्ने राज्य नै सामन्ती राज्यव्यवस्था थियो । पछिल्लो चरणमा शिक्षा पूँजीवादी बजारको माल बन्दै गयो । पढ्ने र सिक्ने के को लागि ? बिक्नको लागि । बिक्ने के को लागि ? पैसा, प्रतिष्ठा र शान शौकतको लागि । त्यो समाजको लागि होइन, आविष्कारको लागि होइन । मानव कल्याण र सामाजिक योगदानको लागि पनि होइन । तर हाम्रो नेपाली समाजको हकमा यतिमात्र बुझेर पुग्दैन । पूँजीवादी शिक्षाको कोणबाट पनि हाम्रो शिक्षा प्रणाली धेरै पछाडि छ । जसले प्रतिस्पर्धी हैसियत राख्दैन । किनकि हाम्रो अधिकांश शिक्षितहरु प्रतिस्पर्धाको बजारमा बिक्ने हैसियत पनि राख्दैनन् । शिक्षा विषय लिएर पढेको व्यक्तिसँग शिक्षासम्बन्धी कुनै दृष्टिकोण छैन । किनकि उसले पढ्नु भनेकै कक्षा बृद्धि हुनको लागि हो भन्ने बुझ्यो । कक्षा वृद्धि हुनको लागि बुझ्नुपर्दैन रटे पुग्छ भन्ने बुझ्यो । त्यतिमात्र होइन रट्न पनि अल्छी गर्नेले चिट चोरे पुग्छ भन्ने बुझ्यो । अनि त्यसको हालत के हुन्छ ? दशदेखि पन्ध्र वर्ष अंङ्ग्रेजी पढेको व्यक्ति अन्तिममा अङ्ग्रेजी भाषा सिक्न भाषा प्रशिक्षण केन्द्रमा धाउन थाल्छ । त्यसपछि खाडी मुलुकहरुमा रोजगारीको लागि अन्तर्वार्ताको लाइनमा उभिन्छ । शिक्षा व्यवहार र रोजगारीसँग नजोडिनुको परिणाम हो यो ।

वैज्ञानिक चिन्तनको विकासमा त हाम्रो शिक्षा नालायक नै साबित भएको छ । विद्यालयको प्राथमिक तह भनेको मानिसको जीवनको जग निर्माण गर्ने तह हो । त्यही तहमा कुशिक्षाको जहर भरिदिएपछि माथिल्लो उमेर र तहमा त्यो झाँगिदै जान जति सहज हुन्छ फेरिन त्यति नै गाह्रो हुन्छ । कसरी कुशिक्षाको जहर भरिन्छ, त्यसका केही दृष्टान्तहरु उल्लेख गर्नु उपयुक्त हुन्छ । प्राथमिक तहको सामाजिक विषयमा सामाजिक विकृति र खराबीहरु शीर्षकमा ‘दाइजो प्रथा’, ‘बोक्सी प्रथा’ ‘अन्धविश्वास’ लगायतका कुराहरुको बारेमा पढाइन्छ । अर्थात् ती विकृतिहरु हुन् भनेर उत्तर लेखाइन्छ, घोकाइन्छ र पास गराइन्छ । अनि अन्त्यमा तिनै विकृति भनेर पढाइएका कुराहरुको दास त्यही विद्यार्थी किन बन्दछ ? तर कहिल्यै तिनको विरुद्ध विद्रोह गर्न प्रेरित गरिंदैन । किन गरिंदैन ?  यसको पछाडि कारण स्पष्ट छ, बच्चाहरुले सुनेको र घोेकेको कुरा होइन, अगुवाहरुले गरेको कुरा सिक्छन् । विद्यार्थीहरुले अगुवा मानेको शिक्षक कक्षा कोठामा जुन कुरा समाजका विकृति हुन भनेर अर्थ पढाउँछ, घोकाउँछ र लेखाउँछ । त्यतिमात्र होइन प्रश्नको उत्तर हुबहु घोकेर सुनाउन नसकेमा विद्यार्थीहरुलाई भौतिक र मानसिक यातना दिन्छ । त्यही शिक्षक आफ्नो जीवन र व्यवहारमा दाइजोको बार्गेनिङ गर्छ, परिवारका सदस्यहरु विरामी भएमा धामीझाँक्री गुहार्छ अनि ‘बोक्सी’ सन्त्याउन कालो कुखुरा काट्छ । अन्धविश्वासले यति ग्रसित छ कि विज्ञान विषयको पिरियडमा ‘बिग ब्याङ’ थ्यौरी पढाउँछ तर उसको आफ्नो दार्शनिक चेत कहाँ छ भने, यो ब्रम्हाण्ड ईश्वरले सृृष्टि गरेको हो भन्नेमा विश्वास गर्छ । अब हामी आफै निष्कर्ष निकाल्न सक्छौं कि फेल को भइरहेको छ ? शिक्षक कि विद्यार्थी ? शिक्षालाई सुधार्ने हो भने फेल र पासको मापदण्ड के होला ? सुगा रटाई, कक्षा वृद्धि, मार्कसिटको प्राप्ताङ्क या मानिसको सृजनात्मक क्षमता र दृष्टिकोणको ग्राफमा भएको बृद्धि ?

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय