तरकारी, सँस्कृति र राजनीतिमा कहाँ छैन विषादि ?

ehulaki
नारायण शर्मा | असार २६, २०७६ बिहिबार | 0

अहिले बजारमा  विषादियुक्त तरकारी र फलफूलको निकै चर्चा छ । तर त्यो तरकारी र फलफूलमा भन्दा कैयौं गुणा बढी विषादि हाम्रो सँस्कृति र राजनीतिमा भित्रिइसकेको छ । हाम्रो ध्यान त्यता पनि जानु जरुरी छ ।  हाम्रो  राजनीतिक नेतृत्वको दिल दिमागमा डेरा जमाइरहेको त्यो बिषाक्त दास मनोवृत्तिको सोच, हाम्रो समाजमा आफ्नो साम्राज्य फैलाइरहेको त्यो विषाक्त पाश्चात्य संस्कृतिलाई मिल्काउन नसक्दासम्म हाम्रो अवस्था सुध्रिने छैन ।

कुनै पनि देशको सरकार त्यो देशका जनताको अभिभावक हो । देशका जनताको  जिउधन र स्वास्थ्यको रक्षा गर्नु  सरकारको  पहिलो  कर्तव्य हो । तर हाम्रो अभिभावक भारतबाट आएका तरकारी र फलफूलहरुलाई बिना  विषादि परीक्षण नगरी सिधै नेपाली बजारमा पस्ने अनुमति दिन्छ । आफ्नै  सन्तानलाई विष खान बाध्य पार्ने के कोही अभिभावक यति निष्ठुर बन्नसक्छ ?    देखियो हाम्रै देशमा, सक्दोरहेछ । केही समय अघि एउटा घटना सार्बजनिक  भएको थियो, पूर्वी नेपालमा एक निर्दयी आमाले आफ्नै दूधे बालकको हत्या  गरेको । त्यो घटना सुन्दा प्रायः मानिस आश्चर्यचकित भएको देखिन्थ्यो । तर यहाँ त देशकै अभिभावकमा पनि त्यो निर्दयीपन झल्कियो ।

चर्चा तरकारीमा विषादिको चलिरहेको छ । तर यहाँ त हाम्रो मूल राजनीतिक  नेतृत्व र देशको अभिभावक ठानिने सरकारको सोच नै विषाक्त भइसकेको आभास भइरहेको छ । विषादि तरकारीमा मात्र होइन हाम्रो राजनीतिक नेतृत्वको दिल दिमागसम्म पुगिसकेको रहेछ । पहिले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनु, पछि भारतीयहरुलाई नेपाली नागरिकता लिन सहज हुनेगरी जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई पनि बङ्शजको नागरिकता दिन गृह मन्त्रालय बाट नै निर्देशन जारी गर्नु, आइफा   अवार्डका लागि अर्वौं लगानी गर्न तयार  हुनु, विषादि परीक्षण नगरी भारतीय तरकारी र फलफूललाई नेपाली बजारमा निर्बाध प्रवेश दिनु लगायतका  कार्यहरु त्यही विषाक्त सोचका परिणामहरु हुन् । देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताभन्दा व्यक्तिगत र आफ्नो समूहगत स्वार्थलाई सर्वोपरी ठान्ने  प्रवृत्ति त्यही  विषाक्त सोचकै परिणति हो । दक्षिणी प्रभुको आशीर्वादबिना  सत्तामा टिक्न सकिँदैन भन्ने मनोरोगबाट हाम्रो राजनीतिक नेतृत्व ग्रसित  भएकै कारण ‘प्रभुको आदेश’लाई उनीहरुले टार्न नसकेको प्रष्ट बुझ्न सकिन्छ ।  तर यसको अर्थ हाम्रो सम्पूर्ण राजनीतिक नेतृत्व नै विषाक्त सोचबाट ग्रसित छ  भन्ने कदापि होइन । यही भारतबाट आउने तरकारी र फलफूलहरु विषादि परीक्षणबिना नेपाल प्रवेश गर्न नदिने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’को निर्णय अत्यन्त सही थियो । कृषिमन्त्रीको उक्त निर्णयलाई नेपाली जनताबाट चौतर्फी समर्थन मिलेकै थियो । तर सरकार त्यो अडानमा अडिग रहन सकेन । भारतको दवावमा आएर हप्तौंदेखि सिमानामा  रोकिएर बसेका तरकारी र फलफूल बोकेका भारतीय मालबाहक ट्रकहरुलाई  बिना परीक्षण नेपाली बजारमा प्रवेशको अनुमति दियो । यसरी अनुमति दिने  काम त्यही विषाक्त सोचको परिणाम थियो ।

समस्या माथि मात्र होइन तल हामीबीचमै पनि छ । विदेशी प्रभुसामु लम्पसार  परेको, अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको, नीति सिद्धान्तलाई एकातर्फ मिल्काएर ब्यक्तिगत स्वार्थ पूर्तिमा लागेको, दण्डहीनतालाई प्रश्रय दिएको, अपराधीहरुको संरक्षक बनेका जस्ता यी सबै देखेर पनि हामीले नै बारम्बार तिनै राजनीतिक नेतृत्वलाई चुनावमा जिताएर पठाएका छौं । त्यस्ता  नेताहरुलाई छानीछानी निर्वाचनमा हराउने क्षमता हामीले राखेनौ । आफूले  समर्थन गर्ने पार्टीको नेता जतिसुकै बदमास किन नहोस्, बाहिर विरोध गरे जस्तो गरे पनि चुनावको बेला उसैलाई जिताउन हामीले मरिहत्ते गरिरह्यौ । खराबलाई खराब, गतिलोलाई गतिलो हामीले भन्न सकेनौ । सामाजिक सञ्जालमा हामी खुब कुर्लिन्छौ । स्वाभिमान र राष्ट्रवादका ठूलाठूला कुरा गर्छौं । तर ब्यवहारिकरुपमा स्वाभिमानी र राष्ट्रवादी बन्न कुनै ठोस कदम हामीले चाल्दैनौ । हामीले दिउँसो आइफा अवार्डको विरोध गर्छौं तर साँझ कोठामा पुगेर ‘मुन्द्रेको कमेडी क्लब’ भन्दा ‘कपिल शर्मा शो’ खोजी खोजी हेर्छौं ।   नेपाली च्यानलहरु भन्दा हिन्दी धाराबाहिक सिरियलहरु छानीछानी हेर्न   छुटाउँदैनौ । सलमान खान, शाहरुख खान, अक्षयकुमार, शाहिद कपुरलगायत कसको फिल्म कहिले रिलिज हुँदैछ ? हामीले  तिथिमिति याद राख्छौं तर खगेन्द्र  लामिछाने, सौगात मल्ल, दयाहाङ राईहरुलाई उस्तै परे चिन्दैनौ हामी । पार्टी विशेषमा नेपाली गीतभन्दा विदेशी हिन्दी गीतहरु घन्काएर उफ्रन लालायित हुन्छौं हामी । हाम्रो आफ्नो संस्कृतिलाई ध्वस्त पार्न साम्राज्यवादीहरुले हाम्रो मस्तिष्कमा पुराइदिएको विषाक्त पाश्चात्य संस्कृतिमै रमाइरहेका हुन्छौं हामी । हामीले बुझ्नु जरुरी छ, अहिलेको जमानामा साम्राज्यवाद राइफल बोकेर बुट  बजार्दै आउँदैन । त्यो  टिभी र फिल्मका पर्दा हुँदै विषाक्त संस्कृति बोकेर पनि आउँछ । जान अन्जानमा हामी पनि त्यही विषाक्त संस्कृतिको शिकार भइरहेका  छौ । आफ्नो संस्कृतिमा तानेर साम्राज्यवादीहरुले हाम्रो मस्तिष्कमा स्लो  प्वाइजन भरेको हामीले चालै पाउँदैनौ । जसका कारण हामी आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो भेषलाई भुल्दै भुल्दै गइरहेका हुन्छौं । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि गम्भीर खतरा आइलाग्दा पनि हाम्रो मनमा  आगो बल्दैन । देश जतासुकै जाओस, हामी मतलब राख्दैनौ । साम्राज्यवादीहरु  त्यही चाहन्छन् । गीत, सङ्गीत, कला र संस्कृति, धर्म आदि विभिन्न माध्यमबाट  साम्राज्यवादीहरुले आफ्नो साम्राज्य फैलाइरहेका हुन्छ्न् अहिले । यसरी हामी जान अन्जानमा साम्राज्यवादीहरुले बिछ्याएको जालोमा फसिरहेका हुन्छौं ।  हामीले साम्राज्यवादीहरुको त्यो चाललाइ  बेलैमा  चिन्नु  र बुझ्नु  जरुरी हुन्छ ।

त्यसकारण तरकारीमा मात्र होइन, विषादि त हाम्रो संस्कृति र राजनीतिमा पनि मिसिएर आएको  छ । तरकारीमा भन्दा अझ खतरनाक विषादि हाम्रो संस्कृति र राजनीतिमा घुसेको छ । राजनीति, जसलाई सबै नीतिहरुको मूल नीति मानिन्छ, त्यो नै विषाक्त भयो भने देशमा सबै कुरा बिग्रन पुग्छन् । त्यसैले सबैभन्दा  पहिले हाम्रो राजनीतिलाई विषादिरहित बनाऔं, हाम्रो सस्कृतिलाई विषादिरहित  बनाऔं । विषादियुक्त भारतीय तरकारी र फलफूल नेपाली बजारमा निर्वाध  प्रवेश  दिने निर्णयका बिरुद्धमा अहिले ठाउँठाउँमा जुन आन्दोलन उठिरहेको छ, त्यो जायज छ । त्यो आन्दोलनलाई विषादिरहित राजनीति निर्माणको दिशामा  अगाडि बढाऔं ।

नारायण शर्मा

लेखक प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा रक्तिम साँस्कृतिक अभियानका कलाकर्मी हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 २ घण्टा अघि

सम्बन्धित समाचार
लोकप्रिय