जिल्लाका सबै वडामा हेलिप्याड बनाइने

ehulaki
रासस | माघ २६, २०७५ शनिबार | 0

 बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ । 

तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरिएको उक्त समितिले जनाएको छ । 

प्रत्येक स्थानीय तहमा रात्रिकालीन हेलिप्याड र प्रत्येक वडामा हेलिप्याड निर्माणका लागि स्थानीय तह सहमत भई आवश्यक जग्गा उपलब्ध गराउन पनि पहल भइरहेको बताइएको छ । कुनै पनि प्रकारका घटना सुत्केरी र आगलागीका बेला तत्काल उद्धार तथा राहतका लागि हेलिकोप्टर अतिआवश्यक भएकाले स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न आग्रह गरिएकामा सहमति आइसकेको समितिका अध्यक्ष वेदप्रसाद खरेलले बताउनुभयो । 

सरकारले सुत्केरीको उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने योजना ल्याएका कारण वडावडामा हेलिप्याड निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । कुनै पनि घटनाका बेला हेलिकोप्टरबाट उद्धार गर्न अतिसहज हुने भएकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “स्थानीय सरकार आइसकेपछि जनतालाई कसरी सेवासुविधा दिने भन्नेमा केन्द्रित छौँ”, उहाँले भन्नुभयो, “जनताको जिउधनको सुरक्षा गर्ने हाम्रो दायित्व हो ।” 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय