जीपलाइन खेलमा युवाको आकर्षण

ehulaki
रासस | फागुन २१, २०७५ मंगलबार | 0

–पेमा लामा 

बनेपा, साहसिक खेलको रुपमा लिइने जीपलाइन खेलमा युवाको आकर्षण बढ्दै गएको छ । 

काठमाडाँै बूढानीलकण्ठ नगरपालिका–८ मण्डिखाटारका दिपु खड्काले जीपलाइन खेलले आनन्द दिलाएको बताउनुभयो । “बिदाका दिन भएकाले सोमबार काभ्रे घुम्न निसकेको थिए, यहाँ आइपुग्दा जीपलाइन देखे, खेलेर हेर्दा यसले निकै रमाइलो र आनन्द दिलायो”, खड्काले भन्नुभयो, “मेरो लागि यो खेल पहिलो अनुभव हो, रमाइलो हुँदो रहेछ ।” 

खेल साहसिक र रमाइलोसँगै आनन्द पनि लिन पाउने भएकाले त्यसलाई अझ थप व्यवस्थित गर्नुपर्ने बताउँदै उहाँले नेपालीका लागि अलि कम शुल्क निर्धारण गरेमा यो खेलप्रति युवाको आकर्षण अझ बढ्न सक्ने धारणा व्यत्तः गर्नुभयो । “शुल्क कम गरेमा सर्वसाधारणले समेत खेलेर जीपलाइनको मज्जा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यससँगै राम्रो खाने र बस्नेको व्यवस्था समेत हुनुपर्छ ।” 

सूर्यविनायक नगरपालिका–१० नलिनचोकका सुजन आलेमगरले पहिलोपटक यो खेल खेल्न पाएकोमा रमाइलोको अनुभूति गर्नुभयो । “नजिकैको जिल्ला काभ्रेको धुलिखेलमा आएर जीपलाइन खेल्न पाउँदा निकै खुशी छु”, उहाँले भन्नुभयो, “धुलिखेलदेखि तलतिर घुम्न जाने बेलामा पनि यसो बीचतिर आराम गर्ने गरी खेल्न मिल्ने ठाउँमा भएकाले पनि धेरै राम्रो लाग्यो ।” 

जीपलाइन सञ्चालक केदार थापाले भर्खरै शुरु भएकाले साहसिक खेलका क्षेत्रमा यो नयाँ मसला हो भन्नुभयो । विशेष गरी बिदाका दिनमा जीपलाइन खेल खेल्न आउनेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । “यो खेल शुरु गरेको धेरै भएको छैन, अहिले बिदाको दिनमा ३०÷४० जना जतिको सहभागिता रहेको छ”, उहाँले भन्नुभयो, “अरु दिनमा दुई चार जना जति हुन्छन् ।” 

अझै प्रचार÷प्रसार र व्यवस्थित गर्न बाँकी रहेकाले पनि खेलमा सहभागी हुनेको सङ्ख्या कम रहेको उहाँले बताउनुभयो । खेलमा पुरुषसँगै महिलाको पनि उल्लेख सहभागिता बढ्दै गएको सञ्चालक थापाले बताउनुभयो । 

उहाँले आफूले सोचेअनुसारको उद्देश्यलाई खेल्नेले सुझाव दिँदा पनि खुशी लागेको र नजिकैको ठाउँमा आएर खेल्न पाउँदा युवाको रोजाइको गन्तव्य बनेकाले खेल रमाइलो र आनन्दको केन्द्र बनेको उहाँको भनाइ छ । 

सुपरम्यानका लागि हावाको बहावको कारण र दृश्यावलोकनको हिसाबले पनि बिहानको समय निकै उपयुक्त रहेको उहाँको भनाइ छ । “बिहान हावाको बहाव ठीक हुने र वरिपरिको हिमालको दृश्यसमेत हेर्न सकिने भएकाले बिहान खेल्दा झन आनन्द हुनेछ”, सञ्चालक थापाले भन्नुभयो । 

करीब १८ महीना अगाडिदेखि निर्माण शुरु गरेको सो खेल व्यवसाय सर्वसाधारणले खेल्न शुरु गरेको दुई हप्ता भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा वल्र्डवाइड एड्भेञ्चर प्रालिको सञ्चालनमा सो व्यवसाय शुरु भएको हो । 

अमेरिकन र क्यानेडियन प्रविधिको सामग्री प्रयोग गरेको उक्त खेलमा कुनै जोखिम नभएको सञ्चालक थापाले बताउनुभयो । रु पाँच लाखसम्मको दुर्घटना बीमासहितको व्यवस्था रहेको सो खेलसँगै त्यहाँ आउनेलाई थप सुविधा प्रदान गर्न अरु व्यवस्थापनको काम भइरहेको छ । त्यससँगै सो वरिपरि बालबालिकालाई उपयुक्त खेलका लागि अरु संरचना निर्माण भइरहेको उहाँले बताउनुभयो । 

पर्यटकीय क्षेत्र धुलिखेलमा यो खेलले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षकको केन्द्र बनाएको छ । करीब ७० रोपनी जग्गामा सो खेल व्यवसाय शुरु गरिएको र यसका लागि आवश्यक पर्ने थप संरचना निर्माण भइरहेको सञ्चालक थापाको भनाइ छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय