नेपाली स्याटलाइट अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडियो

ehulaki
ई-हुलाकी | बैशाख ९, २०७६ सोमबार | 0

काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट  वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गरेर तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्वय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गर्नु भएको सो नेपाली स्याटेलाइट  वान गत बैशाख ५ गते नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।

सो स्याटलाइट  ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिए ।

अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाइट ले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेसनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले सो नेपाली स्याटलाइट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको पनि जानकारी दिए ।

विपद् व्यवस्थापन, ग्रामीण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाइट  अन्तरिक्षमा पठाएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय