श्रीलङ्का बिस्फोट : देशको सुरक्षाप्रणाली फेर्ने राष्ट्रपतिको घोषणा

ehulaki
एजेन्सी | बैशाख ११, २०७६ बुधबार | 0

बीबीसी । श्रीलङ्कामा ३ सय भन्दा बढीको मृत्यु र ५ सय मानिस घाइते हुनेगरि गराइएको बम बिस्फोटपछि सुरक्षा निकायको पूरै पुनर्संरचना गर्ने त्यहाँका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बताएका छन् । देशका विभिन्न चर्चहरु र होटेलमा गराइएको बिस्फोटको उक्त घटनाको जिम्म्मेवारी अतिवादि समुह इस्लामिक स्टेटले लिएको छ ।

श्रीलङ्का सरकारले भने  ुन्याश्नल तौहिद जमातु नामक स्थानीय इस्लामिक समूहले आइतवारका घटना गराएको बताएको छ।
घटनामा विदेशी साँठगाँठ रहेको सरकारको ठम्याई छ । 

प्रहरीले आक्रमणमा संलग्न भएको आशङ्कामा ४० जना श्रीलङ्काली नागरिकलाई पक्राउ गरिसकेको छ। देशमा थप आक्रमण हुन नदिनका लागि सङ्कटकाल लगाइएको छ।

राष्ट्रपति सिरिसेनाले टेलिभिजनमार्फत् बोल्दै २४ घन्टाभित्र देशका सुरक्षा र प्रतिरक्षा फौजका प्रमुखहरूको फेरबदल हुने जानकारी दिए। उनले सुरक्षा खतराबारेका आफूलाई कुनै जानकारी नदिइएको बताए।

राष्ट्रपतिको यो भनाइसँगै त्यहाँ २४ घण्टाभित्र केही उच्च सुरक्षा अधिकारीहरूलाई सरकारले परिवर्तन गर्नसक्ने ठानिएको छ।

श्रीलङ्कामा गृहयुद्धताका अपनाइएका कतिपय सुरक्षा मापदण्डलाई सरकारले फेरि अपनाउन चाहेको र जिल्लास्तरीय सुरक्षा समितिहरू बनाउन लागेको बीबीसीले उल्लेख गरेको छ ।

सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।

अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो। उक्त गृहयुद्धमा ७० हजार देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।

त्यो गृहयुद्धको अन्यपछि त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका खबरहरू आउने गरेका थिए।

बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा पनि त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय