हार्दिक श्रद्धाञ्जली कमरेड निर्मल लामा !

ehulaki
डीआर पौडेल | बैशाख २७, २०७६ शुक्रबार | 0

आज बैशाख २७ गते, क. निर्मल लामाको स्मृति दिवस । आजकै दिन वि.सं. २०५७ मा कमरेड निर्मल लामाको निधन भएको थियो ।
 
निर्मल लामा नेपालको राजनैतिक आन्दोलनका एकजना त्यस्ता हस्ती हुनुहुन्छ, जसले नेपालको राजनीतिलाई गरिखाने वर्गमा पु¥याउनुभयो । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनका एकजना त्यस्तो धरोहर हुनुहुन्छ, जसले सिद्धान्तलाई व्यवहारसँग जोड्नुभयो । जनसंघर्ष, वर्गसंघर्ष र क्रान्ति प्रक्रियालाई सँगसँगै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो र जोडेर लैजानुभयो । उहाँले नेपालको राजनीतिमा इमान, निष्ठा, समर्पण, प्रतिवद्धता, नैतिकता र वर्गप्रेमको त्यस्तो धरहरा बनाउनुभयो, जसको मञ्जिलमा आजसम्म उहाँबाहेक अर्को कोही पुग्न सकेको छैन ।

निर्मल लामाको जन्म वि.सं. १९८९ माघ १ गते दार्जिलिङमा मजदूर परिवारमा भएको थियो । मजदूरी नगरी बिहान बेलुकाको हातमुख जोड्ने समस्या समाधान नहुने भएपछि उहाँका बाबुआमाले उहाँलाई सानैदेखि मजदूरीमा लगाउनुभयो । यसरी मजदूर परिवारमा जन्मेर मजदूरको रुपमा हुर्केका निर्मल लामाले भारतीय स्वतन्त्रता संग्रामको क्रममा दार्जिलिङमा भएका मजदूर आन्दोलनमा सहभागी हुने क्रमसँगै राजनैतिकरुपमा आफूलाई आगाडि बढाउनुभयो । किशोरावस्थामै निर्मल लामा साथीहरु बटुलेर टिम बनाएर पूmटबल खेल्ने र समसामयिक राजनीति र आन्दोलनका विषयमा छलफल गर्ने गर्नुहुन्थ्यो । त्यस्ता छलफलमा आफ्नो तर्क र विचार परिपक्व र राम्रो होस् भन्नको लागि पाका अभिभावकहरु, पुराना र अनुभवी मजदूरहरु र बौद्धिक व्यक्तिहरुसँग छलफल गर्ने र विभिन्न विषयमा जानकारी लिन पत्रपत्रिका र पुस्तकहरु पढ्ने गर्नुहुन्थ्यो । 
मजदूर आन्दोलनमा सहभागी हुने, पाका अभिभावकहरु, पुराना र अनुभवी मजदूरहरु र बौद्धिक व्यक्तिहरुसँग छलफल गर्ने र पत्रपत्रिका र पुस्तकहरु पढ्ने क्रमसँगै आफूहरु दार्जिलिङमा आप्रवासी नेपालीको रुपमा रहेको, आफ्नो मातृभूमि नेपाल भएको, नेपालमा पनि राणा शासनका विरुद्धमा आन्दोलनको तयारी भइरहेको थाहा पाउनुभयो । सहपाठीहरुका बीचमा छलफल गर्दै नेपालको राजनैतिक आन्दोलनमा सहभागी हुने निर्णयमा पुग्नुभयो । ससानो डफ्फा बनाएर त्यसको नेतृत्व गर्दै उहाँ नेपालको राजनैतिक आन्दोलनमा जोडिन आइपुग्नुभयो । 

प्रारम्भमा निर्मल लामा नेपाली काँग्रेसमा संगठित भई नेपालको राजनैतिक आन्दोलनमा जोडिनुभयो । राणाशासनका विरुद्धको आन्दोलनमा सक्रिय सहभागी बन्नुभयो । २००७ सालको परिवर्तनपछि दैलेखको बडाहाकिम पनि बन्नुभयो । तर विस्तारै नेपाली कांग्रेसले नेपालको राजनैतिक आन्दोलनको नेतृत्व गरेर परिवर्तनलाई संस्थागत गर्न सक्दैन । जनतालाई न्याय, समानता र स्वतन्त्रता दिन सक्दैन भन्ने कुरामा विश्वस्त हुनुभयो । त्यसैले नेपाली काँग्रेस पार्टी परित्याग गरी कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभयो । र, नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनैतिक, सामाजिक साँस्कृतिक, सांगठानिक रुपमा नेतृत्व गर्दै नयाँ उचाईमा पु¥याउनुभयो । 

नेपालको कम्युनिष्ट आन्दोलनमा जतिबेला अन्ध नक्कल गर्ने संस्कृति झ्याङ्गिएको थियो, आफूलाई चिनियाँ वा रुसी कम्युनिष्ट पार्टीको पक्षमा उभ्याउनुपर्ने संस्कार नै बनेको थियो । ‘चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भन्दै एकातिर चीनको अन्धनक्कल गरिरहेका हुन्थे भने अर्कोतिर रुसले संसारमा आफ्नो प्रभुत्व (सामाजिक साम्राज्यवादी हस्तक्षेप) बढाउनको लागि तेस्रो विश्वका देशका शासकहरु र कम्युनिष्ट पार्टीहरुलाई पनि प्रभावमा राखिराख्ने नीति अपनाएको थियो । त्यसको प्रभाव पनि नेपालका कम्युनिष्टहरुमा जबर्जस्त रुपमा थियो । त्यस्तो स्थितिमा नेपाली कम्युनिष्ट आन्दोलनको मौलिक पहिचानको खोजी गर्नु, नेपाली क्रान्तिको बाटो, त्यसको स्वरुप, रणनीति, कार्यनीति र कार्यक्रमिक शृङ्खला तयार गर्नु आफैंमा एउटा जटिल काम थियो । नेपाली कम्युनिष्ट आन्दोलन ठोस कार्यदिशाको अभावमा रुमलिएको बेला विश्व कम्युनिष्ट आन्दोलनको खोजबिन, अन्वेषण, विश्लेषण र संश्लेषण गर्दै नेपाली क्रान्तिको मौलिक कार्यदिशा निर्माण गर्नमा कमरेड निर्मल लामाको विशिष्ट योगदान रहेको छ । 

परम्परागत अन्धनक्कलको प्रभावबाट मुक्त हुन नसकेको मानसिकता र प्रतिशोधको राजनीतिका कारण प्रारम्भमा कमरेड निर्मल लामाले अगाडि सारेका विचार, चिन्तन, सैद्धान्तिक प्रस्थापना र निष्कर्षलाई आत्मसात गर्न नेपालका धेरै कम्युनिष्टहरुलाई गाह्रो प¥यो । अन्ततः सबैजसो कम्युनिष्ट घटक र नेताहरुले एक वा अर्को रुपमा कमरेड निर्मल लामाका मौलिक विचारलाई स्वीकार गरे । ढिलोचाँडो आज प्रायः सबै कम्युनिष्टहरु उहाँको पदचिन्ह र मार्गदर्शनमा हिँड्न आइपुगेका छन् । यसबाट उहाँको राजनैतिक दूरदर्शिता व्यवहारिक रुपमै थप पुष्टि भएको छ । 

कमरेड लामा पहिले हरेक विचार, राजनीति, सिद्धान्त, कार्यक्रमलाई जननीतिको कसीमा दाँजेर विचारविमर्श, विश्लेषण र संश्लेषण गर्नुहुन्थ्यो । त्यसको सकारात्मक परिणामपछि मात्रै आमरुपमा अवलम्बनको लागि पार्टीमा सिफारिस गर्नुहुन्थ्यो । जनताको लागि बनाइने हरेक नीति, विचार वा सिद्धान्तको निर्माण र विकासमा जनताको कुनै न कुनै प्रकारको संलग्नता र सहभागिता हुनुपर्ने कुरामा उहाँको जोड हुन्थ्यो । त्यसैले कतिपय उहाँका नयाँ सोच, विचार, चिन्तनहरु पार्टीको औपचारिक बैठकका एजेण्डा बन्नुभन्दा पहिले बौद्धिक छलफल र सार्वजनिक बहसका विषय बन्दथे । यसका कारण उहाँ कैयौंपटक पार्टीमा विवादमा पर्नुभयो, उहाँको आलोचना भयो तर पनि जननीति अवलम्बन गर्न चुक्नुभएन । 

जनताको संलग्नता र सहभागितामा मात्रै नेपालको क्रान्ति सफल हुन्छ र दीर्घकालीन सशस्त्र संघर्ष र जनविद्रोहको संयोजनबाट मात्र नेपालको क्रान्ति प्रक्रिया निर्णायक विजयमा पुग्छ भन्ने निष्कर्षका साथ ‘नेपाली जनक्रान्तिको दिशा’ सार्वजनिक गर्दा धेरैले उहाँको विरोध गरे । कतिपयले उग्र वामपन्थी त कतिपयले घोर दक्षिणपन्थीको आरोप लगाए । तर उहाँ कहिल्यै कसैको विरोध र आरोपका कारण कसैसँग झुक्नुभएन, गल्नुभएन । बरु जनसंघर्ष र वर्गसंघर्षको उठान र विकासमा लगातार जोड दिइरहनुभयो । 

जीवनको उत्तराद्र्धमा उहाँ क्यान्सरले थलिनुभयो । त्यतिबेला पनि उहाँले ‘जनसम्बन्ध, जनसंघर्ष र जननीतिलाई वर्गसंघर्षसँग जोडेर मात्रै वर्गसंघर्ष सफल हुन्छ । जनयुद्ध सफल हुन्छ, अन्यथा अहिले चलिरहेको सशस्त्र संघर्षबाट नेपाली क्रान्तिले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ’ भन्नुहुन्थ्यो । यो कुरा उहाँले २०३५ सालमै भन्नुभएको कुरासँग मिल्दोजुल्दो थियो । त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘नेपालमा सशस्त्र संघर्ष भनेको नै जनयुद्ध हो । आम जनसमुदायले भाग नलिएसम्म यो सफल हुन सक्दैन ।’ (निर्मल लामाका केही रचनाहरु) । 

मृत्युको केही दिन अगाडि मात्रै काठमाडौंमा भएको नागरिक अभिनन्दनको अवसरमा उहाँले भ्रष्टाचारका विरुद्धमा जनसंघर्ष गर्नुपर्ने र त्यसलाई वर्गसंघर्षकै रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले नेता कार्यकर्ताहरुलाई भ्रष्ट र पार्टीलाई भ्रष्टीकरण हुनबाट जोगाउन आम कार्यकर्ता र जनता पनि सचेत हुनुपर्नेमा जोेड दिनुभएको थियो । कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारित पार्टी हो । कम्युनिष्ट पार्टीका हरेक सदस्यहरु समाजका विभिन्न समुदाय र वर्गका जनसंगठन वा वर्गीय संगठनका नेता कार्यकर्ताहरु हुन् । तिनीहरुमार्फत् नै पार्टीले जनतासँग सम्बन्ध बढाउने, जनसंघर्ष गर्ने हो भन्ने कुरामा कमरेड लामा अत्यन्तै सचेत हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘पार्टी संगठनलाई पनि जननीतिअनुसार अगाडि लैजानुपर्दछ । पार्टीका नेता, कार्यकर्ता र आम सदस्यहरु सधैं जनतासँगसँगै तर एक कदम अगाडि हुनुपर्दछ ।’

जननीतिका सफल प्रयोगकर्ता, वर्गसंघर्षका प्रेरणास्रोत, वैचारिक मार्गदर्शक, राजनैतिक अभिभावक, जननेता कमरेड निर्मल लामाबाट हामीले धेरै कुरा सिक्नुपर्ने छ । आजको दिनले हामी सबैलाई प्रेरणा देओस् । स्मृति दिवसको सन्दर्भमा उहाँबाट सिक्ने प्रण गरौं । उहाँको पे्ररणादायी जीवन र व्यवहारलाई आत्मसात गर्ने कोशिश गरौं । यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड निर्मल लामा ! लालसलाम कमरेड निर्मल लामा !!
 

डीआर पौडेल

लेखक नेकपाका केन्द्रिय नेता हुनुहुन्छ । उहाँ अनेरास्ववियुका पूर्व अध्यक्ष, पूर्व शिक्षामन्त्री तथा जनएकता साप्ताहिकका पूर्वसम्पादक पनि हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय