निजी संघ–संस्थाका जग्गा बेच्न रोक

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । सरकारले निजी संघ–संस्था तथा उपभोक्ता समितिका नाममा भएका जग्गा बेचबिखनमा रोक लगाएको छ। सरकारी जमिन व्यक्ति तथा निजी संघ–संस्थाका नाममा बनाएर बिक्री गर्नबाट रोक लगाउन गृह मन्त्रालयले उक्त निर्णय लिएको हो। कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हडप्ने क्रम बढेपछि सरकारले छानबिन आयोग बनाएको छ। आयोगले छानबिन नसक्दासम्म निजी संघ–संस्था तथा उपभोक्ता समितिका नाममा भएका जग्गा बिक्री गर्न पाइने छैन।

गृह मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ), उपभोक्ता समिति, निजी तथा सामुदायिक संघ–संस्थाको स्वामित्वमा रहेका जग्गा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो। ‘कर्मचारी र भूमाफियाको मिलेमतोमा अर्बौं रुपैयाँका सरकारी जग्गा हडपेर निजी संघ–संस्थाका नाममा राखेको आशंका छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘सार्वजनिक जग्गा÷सम्पत्ति हडप्नेमाथि कारबाही र अनुसन्धान जारी छ। यसले पूर्णता नपाएसम्म एनजिओ/आइएजिओ, अन्य संघ–संस्थालगायतको स्वामित्वका अचल सम्पत्ति बेचबिखनमा अनुमति दिइने छैन। यसका लागि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइने छ।’

सबै जिल्ला प्रशासन कार्यालयलाई मंगलबार यसबारे परिपत्र गर्ने तयारी भए पनि प्राविधिक कारणले हुन सकेन। ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार सार्वजनिक/सरकारी सम्पत्ति खोजी तथा संरक्षण अभियान थाल्न र बिक्रीमा रोक लगाउन निर्देशन दिने तयारी भएको मन्त्रालयका एक अधिकारीले बताए। यसअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा यस्तो सम्पत्तिको स्वामित्व हस्तान्तरण तथा बिक्री गर्न पाइने व्यवस्था आजको नागरिक दैनिकमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय