माेरङमा क्षारसूत्र सेवा शुरु हुने

ehulaki
रासस | जेठ १, २०७६ बुधबार | 0

विराटनगर । पाइल्स रोगीका लागि उपचारमा सहयोग पुग्ने गरी यहाँ क्षारसूत्र उपचार सेवा शुरु गरिने भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको विस्तारित सेवा केन्द्रमा सो सुविधा बिरामीले यही जेठ महीनाको पहिलो सातादेखि पाउने भएका छन् । खानपिनमा नियन्त्रण गर्न नसक्दा, चुरोट, खैनी, गुट्खा र रक्सी सेवन, अत्यधिक मासुजन्य पदार्थ सेवन गर्दा मानिसलाई कब्जियत हुन गई पाइल्स रोग देखापर्ने गरेको कविराज मुकेशकुमार सिँहले बताए ।

बालबालिकादेखि वृद्धवृद्धासम्मको निःशुल्क उपचार हुने सो केन्द्रमा दैनिक ३० देखि ५० बिरामी आउने गरेका छन् । एक जना आयुर्वेद चिकित्सकसहित १८ कर्मचारी रहेको केन्द्रमा हाडजोर्नी, बाथ, कम्मर दुखेको, पिनाश, ग्याष्ट्रिक, पथरी, पायल्स भएका बिरामी आउने गरेका छन् ।

योगा, थेरापी जस्ता सेवा दिइरहेको केन्द्रमा बिरामी अन्यत्रबाट समेत आउने गरेका र यस्ता बिरामीको उपचारमा समय लग्ने गरेको बताइएको छ । विभिन्न स्थानको औषधि र उपचारबाट लाभ नमिलेपछि आयुर्वेद उपचार गराउन आउने बिरामीहरु आयुर्वेद औषधि खाइसकेपछि आराम हुने गरेको बताउने गरेका कविराज सिँहले बताए । केन्द्रमा होमियोपेथिक उपचार सेवा प्रदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।    
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय