लाहुरका रोगले थलिँदै थापडा, रुपान्तरित हुँदै पायल

ehulaki
रासस | जेठ २, २०७६ बिहिबार | 0

विष्णु नेपाल,पायल (अछाम) । “लाहुरका रोगले धेरै मरिसके । गणना छैन । अझै लाहुरका रोग भएका धेरै छन् । कतिले खुल्छन्, कतिले अझै लुकाएका छन् ।”

चौरपाटी गाउँपालिका–४ स्थित थापडाकी अञ्जनी विक (नाम परिवर्तन)ले भनिन् । एचआइभी सङ्क्रमितलाई यहाँ ‘लाहुरका रोग’ भन्ने गर्दछन् । ४० वर्षीया उनी आफैँ एचआइभी सङ्क्रमित हुन् ।

मध्याह्नको गर्मीमा गहुँ झारिरहेकी विकले शुरुआतमा खुलेर बोल्न चाहिनन् । गहुँ राम्रै भएछ ? कति होला ? कति महीनालाई धान्ला ? प्रश्नमा “यस वर्ष बर्सात भइरह्यो, कहिल्यै नलागेको बाला यसपटक लाग्यो, चार महिना धान्ला कि !” उनीले जवाफ फर्काइन् ।

कम उमेरमा सङ्क्रमणसित जुधिरहेकी उनीले एआरटी सेवा लिइरहेकी छिन् । समय समय सिडी फोर काउन्ट गर्दछिन् । एचआइभी सङ्क्रमित भएकालाई रोगसित जुध्नसक्ने प्रतिरोधी क्षमता बढाउने औषधिलाई एआरटी भनिन्छ । सङ्क्रमितले आफ्नो रगतको अवस्था तथा मापन गरिराख्न सिडी फोर काउन्ट आवश्यक तथा अनिवार्य पर्छ ।

सरकारले यी दुवै सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । तर यहाँका सङ्क्रमितका लागि ती सेवामा सहज पहुँच छैन । गाउँ नजीक रहेको पायल स्वास्थ्य चौकीले हालसम्म सेवा दिन सकेको छैन । सेवा लिन वयलपाटा अस्पताल तथा चौरमाण्डु प्राथमिक स्वास्थ्य चौकीमा जान विवश छन् ।

उनी गाउँमा एचआइभी सङ्क्रमितका लागि दश वर्षदेखि निरन्तर पैरवी, एआरटी सेवा लिए/ नलिएको, सिडी फोरको अनुगमन तथा जनचेतना काममा निरन्तर जुटिरहेकी छिन् । “श्रीमानबाट म सङ्क्रमित भएँ, श्रीमानके छातीको सङ्क्रमणबाट (एड्स) मृत्यु भो । दुई छोरा छन्, उनीहरु दुवै रोजगारीका लागि विदेशिएका छन् । एक्लै छु । उनीहरु के गर्छन् नभनौँ,” गहभरि आँसु पार्दै विकले भनिन् ।

सङ्क्रमितहरु मिलेर यहाँ सञ्चालनमा ल्याएको मिलीजुली समूहमा उनी जिम्मेवारी पदमा नेतृत्व प्रदान गरेकी छिन् । हरेक महीनाको ११ गते समूहको बैठक बस्छ । रुपैयाँ पाँचबाट बचत सङ्कलन गरी शुरुआत भएको संस्थामा चार लाख जम्मा भइसकेको छ ।

“पहिला पहिला त एचआइभी भनेको के हो थाहा नै भएन । लाहुरका रोग भन्थे । बिरामी भएर वयलपाटा अस्पताल जान थालेपछि बल्ल थाहा भो,” उनले भनिन् । अस्पताल पुग्न करीव एक दिन लाग्छ ।

‘एचआइभी’ भो भनेर शुरुमा कोही खुल्न चाहेनन् । खुलेकालाई अपमान हुन थाल्यो । मृत्यु भएकाको लास उठाउने पुरुषसमेत यहाँ भएनन् । लास बोकेर जलाउनु परेको उदाहरण दिँदै विकले अहिले सचेतना बढेको र समूहमा बसेर खुलेर कुराकानी तथा सहयोग आदान–प्रदान हुने गरेको बताइन् ।

रोजगारीका लागि पुरुष भारत जाने गर्दछन् । आफ्नो खेतीपातीले मुस्किलले चार महीना पनि धान्न नपुग्ने भएपछि उनीहरु रोजगारीका लागि अन्यत्र जान विवश छन् । गाउँमा बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । चरम खानेपानी सङ्कटले यहाँका बासिन्दालाई पीडामाथि पीडा दिइरहेको छ । सीमित खेतीयोग्य जमीन पनि बाँझो देखिन्छ ।

विकका अनुसार हालसम्म थापडा गाउँमा मृत्युको प्रमुख कारक एचआइभीले निम्त्याउने अन्य रोग रहेका छन् । हालसम्म आठ जनाभन्दा बढीको मृत्यु भएको छ । सो समूहमा पुरुष र महिला गरी २० जना सदस्य छन् ।

गत वर्ष मात्र एचआइभी/एड्सबाट पति गुमाएकी तीन छोराकी ५५ वर्षीया जमुना विक (नाम परिवर्तन)ले भनिन्, “लाहुर रोग कसरी नसर्ने हुन जानकारी पाएनौँ । निको नहुने रोग भन्ने कुरा त थाहा पाएको धेरै भएको छैन ।” उहाँका तीनवटै छोरा घर छैनन् । “मलाई त रोग भो भो सन्तानलाई लाग्न नदिन सरकारको आँखा परे हुन्थ्यो ।”  आँखाभरी आँसु पार्दै उनीले सुनाइन् ।

गाउँमा विपन्न समुदायका विक, पार्की कुमाललगायत धामी, कुँवर शाह बसोबास गर्दछन् । अन्यत्र बसाइँ–सराइले ढोकामा ताला मारेका घर गाउँका धेरै देख्न सकिन्छ । “वरपर कमाई पाए को जान्छ गाउँ छाडेर ? न खाने अन्न छ, न पिउने पानी छ ? बाँच्न त पर्यो ।

घर छाडेर अन्यत्र जानुको अर्को विकल्प छैन ।” ४३ वर्षीय मानसिंह धामी (नाम परिवर्तन) भन्छन् । उनि गहुँ थन्क्याउन गाउँ आएका हगन् । “श्रीमतीमा पनि रोग देखियो । दुई छोरा छन् उनीहरुको के भनौँ, भनेर केही हुन्छ ? सहयोग गर्ने कोही होइनन्,” भावुक हुँदै धामीले आफ्नो पीडा सुनाए ।

रुपान्तरित हुँदै पायल

थापडा गाउँसित जोडिएको अर्को गाउँ पायल यतिखेर प्रजनन स्वास्थ्यका क्षेत्रमा नमूना गाउँ बन्दैछ । किशोरकिशोरी तथा नवविवाहित युवायुवतीका जोडी खुलेर प्रजनन स्वास्थ्यभित्रका विषय सिक्दै र सिकाउँदैछन् ।

मष्टमाडौँ आधारभूत विद्यालय र वैजनाथ माविमा अध्ययनत किशोरकिशारी तथा गाउँका विवाहिता दम्पती अलग अलग समूहमा आबद्ध भई आफूलाई आवश्यक पर्ने प्रजनन शिक्षाका ज्ञान हासिल गरिरहेका छन् । यसले उनीहरुको सशक्तीकरण गर्नाका साथै अभिभावकमा समेत परिवर्तन ल्याएको छ ।

यसका लागि बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी), संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र चौरपाटी गउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित रुपान्तरण कार्यक्रमले सहयोग गरिराखेको छ ।

१३ वर्षीया किशोरी सिर्जना धामीले भनिन्, “किशोरी अवस्थामा आउने शारीरिक परिवर्तन, महीनावारी, महिला हिंसा के हो, कुन उमेरमा विवाह, बच्चा जन्माउने उमेरलगायत विषयमा समूहमा छलफल हुन्छ । समूहमा हुने छलफलले आत्मविश्वास बढाउँदो रहेछ ।”

कम उमेरमा विवाह गर्ने र घरमा सुत्केरी हुने प्रचलन लगभग यहाँ अन्त्य हुँदै गएको छ । पायल स्वास्थ्य चौकीका अनमी शिला कट्टेलले भनिन्, “गत वर्ष सबै गर्भवती आमाले यही स्वास्थ्य चौकीमा आएर बच्चा जनमाइन् ।” पछिल्लो जनगणनाअनुसार चौरपाटी गाउँपालिका–४ पायलको जनसङ्ख्या चार हजार ९९४ रहेको छ । स्वास्थ्य संस्थामा ५५ जना सुत्केरी भएका थिए ।

स्वास्थ्य संस्थामा आई परिवार नियोजन सेवाका बारेमा परामर्श र सेवा लिनेको सङ्ख्यामा सुधार भएको छ । वैशाखको अन्तिम हप्ता विवाह बन्धनमा बाँधिएका कैलाश कुमाल र देवकुमारी कुमालले भने, “व्यवस्थित परिवार योजनाका लागि परिवार नियोजनको आवश्यकता हुन्छ । परिवार नियोजनका पाँचै प्रकारमा अस्थायी साधन (कण्डम, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी)को प्रयोगले फाइदा हुन्छ । कण्डम प्रयोग गर्ने सोचमा छु ।

दशजोड दुई उत्तीर्ण गरेका कैलाशले आमालाई आइयुसिडी प्रयोग गर्न लगाएका थिए । पायल गाउँ पूर्ण खोप गाउँ बनेको छ । “हामी पायललाई एचआइभि सङ्क्रमितमुत्त गाउँ बनाउँछौँ, हामी पनि सचेत हुन्छौँ अरूलाई सचेत बनाउँछौँ,” देवकुमारी कुमालले भनिन् ।

औषधिको सेवन गरिने सुरक्षित गर्भपतन सेवा स्वास्थ्य चौकीमा रहेको छ । गत वर्ष १९ जनाले सो सेवा लिएका थिए । रुपान्तरण कार्यक्रम सोकट र कमलबजारमा कार्यान्वयनमा भइरहेको यहाँस्थित युएनएफपिएका सञ्चार र पैरवी अधिकृत सन्तोष क्षेत्रीले जानकरी दिए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय