औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र

ehulaki
रासस | जेठ २, २०७६ बिहिबार | 0

हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्ररुपमा अगाडि बढाइएको छ । सरकारले चार वर्ष अगाडि हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाअनुरुप निर्माण कार्य शुरु भएको हो ।     
हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १३५ हेक्टर जमीनमा निर्माण शुरु गरिएको र त्यसको वातावरण प्रभाव मूल्याङ्कनसमेत पूरा भएको छ । मन्त्रिपरिषद्ले २०७३ वैशाख १४ गते गरेको निर्णयअनुसार औद्योगिक क्षेत्र भोगाधिकार प्राप्त गरेलगत्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो । एक वर्ष अगाडि औद्योगिक क्षेत्र स्थापना डिपीआर तयार गर्न शुरु भएको हो । साविक चुरियामाई र पदमपोखरी गाविसबीच पर्ने मयुरधाप क्षेत्रको जमीनमा औद्योगिक क्षेत्रका लागि सर्भेको काम भइरहेको छ । औद्योगिक क्षेत्र स्थापनापछि मयुरधापमा काठमाडौँको बालाजु र पाटन औद्योगिक क्षेत्रका ठूला औद्योगिक प्रतिष्ठानसमेत हस्तान्तरण हुने बताइएको छ ।     
औद्योगिक क्षेत्र परियोजनाका प्रमुख प्रकाश केसीले डिपिआर सकिएको र वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि परियोजनाको काम तीव्रगतिमा बढ्ने बताउनुभयो । सरकारले उद्योगको विकास र रोजगारी वृद्धिका लागि सातवटै प्रदेशमै औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।     
उक्त औद्योगिक क्षेत्रको निर्माणमा रु सात अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ भने करीब १०० उद्योग स्थापना हुने बताइएको छ ।     
   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय