‘कूल बजेटको दश प्रतिशत स्वास्थ्यमा’

ehulaki
----------------- | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौँ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा आज आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री यादवले आगामी आवको कूल बजेटमध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले सक्दो पहल गर्ने बताए ।

यसअघिको बजेटमा स्वास्थ्यतर्फ कूल बजेटको जम्मा ४ दशमलव ४ प्रतिशत छुट्टयाइएका थियो । उपप्रधानमन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पुर्याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने हो तर स्वास्थ्यमा अत्यन्त कम छुट्टयाउने गरिन्छ, देशको स्वास्थ्य सेवा सुधार गर्न कूल बजेटको ४।४ प्रतिशत अत्यन्तै थोरै हो, त्यसलाई कम्तीमा दश प्रतिशत पुर्याउन मैले प्रधानमन्त्रीसँग र योजना आयोगमा पहल गर्ने छु ।” 

थाइल्याण्डलगायतका मुलुकमा स्वास्थ्य क्षेत्रमा कूल बजेटको २१ प्रतिशतभन्दा बढी बजेट विनियोगन हुने गरेको बताउँदै उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले कान्तिबाल अस्पतालको व्यवस्थापन पक्षलाई स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशनसमेत दिए । टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले करीब रु ८० लाख मूल्यको उपकरण आज कान्तिबाल अस्पताललाई उपलब्ध गराएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय