एउटै वडामा ६३ उद्योग

ehulaki
रासस | जेठ ४, २०७६ शनिबार | 0

– भेषराज बस्नेत     
     
बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा जम्मा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा भने स्वस्फूर्त रुपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् ।     
     
जानकी गाउँपालिका–६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताए । उनका अनुसार, गनापुरमा स्थापना भएका ६३ मध्ये छ बन्द अवस्थामा छन् भने पाँच नयाँ उद्योग सञ्चालन हुँदैछन् ।     
     
बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय नयाँ–नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने उनले बताए ।     
     
“नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महङ्गो पर्ने गर्दछ । त्यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ ।” जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले भने, “त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ ।”     
     
जानकी गाउँपालिकाको वडा नं ६ गनापुर नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन् । गनापुरमा धेरै उद्योग सञ्चालनमा आए पनि सडकलगायतका पूर्वाधारको भने अभाव छ । उद्योगसम्म पुग्नका लागि साँघुरो सडक रहेको छ । उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष यादवले बताए ।     
     
गनापुरदेखि गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज सडक जोड्ने सात किलोमिटर सडक विस्तार गर्ने कार्य शुरु गरिएको उनले बताए । अहिलेको साँघुरो सडकलाई बढाएर सात मिटर फराकिलो पक्की सडक निर्माण कार्य भइरहेको उनले बताए ।     
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय