पूँजीवाद : समाधान कि समस्या ?

ehulaki
प्रमोद धिताल | जेठ ८, २०७६ बुधबार | 0

पूँजीवाद एक दर्शन हो । हरेक कुरामा नाफा देख्नु यसको गुणधर्म हो । हरेक कुरालाई उपभोग्य माल बनाउनु यसको अनिवार्य नियति हो । जसले प्रकृतिदेखि लिएर संस्कृतिसम्मको व्यापार गरेको छ । नैसर्गिक मानवीय सामाजिक दायित्वहरुलाई पनि बजारको माल बनाउनु यसको विशेषता बनेको छ । निर्जीव माल र पूँजीवादी व्यक्तिमा फरक यत्तिमात्र हुन्छ कि पहिलोलाई चलाउने मानिस हुन्छ र दोस्रोलाई चलाउने नाफा र उपभोगको चाहना । यसरी व्यक्तिगत लाभ र उपभोगको निम्ति जे पनि गर्न तयार तर सामाजिक हितको निम्ति पूरै निस्क्रिय पूँजीवादले डसेर थला परेको समाजको विशेषता हो । यसरी हेर्दा न पूँजीवाद आफैमा स्वतन्त्र छ न त यस अन्तर्गतका मेशिनगरी र मानिसहरु । जीविकाकै निम्ति अरु केही सोच्न नभ्याउनेगरी आजीवन कुदिराख्नु र जायज–नाजायजको भेद समाप्त भएर जानु पूँजीवादी प्रशिक्षणका परिणाम हुन् । 

पूँजीवाद जब सत्तासीन भयो त्यसपछि यसले आफ्नो जनहितकारी सामाजिक गुण परित्याग गरेर उत्पीडनकारी चरित्र ग्रहण ग¥यो । त्यसपछि यो कहिल्यै समाधान बन्न सकेन बरु दिनानुदिन समस्याको कारण बन्दै गएको छ । यसले समस्याका समाधानहरु होइन बरु समस्याहरुको आविष्कार गरिरहेको छ । ताकि हरेक क्षण त्यही समस्याको व्यापार गरेर नाफा आर्जन गर्न सकियोस् । समस्याको व्यापार अनि फेरि नयाँ समस्याको आविष्कार । यसले आवश्यकताको परिपूर्ति होइन बरु नयाँ–नयाँ कृत्रिम आवश्यकताहरुको पनि आविष्कार गरिरहेछ । जसले गर्दा मानिस अरु सबै भूलेर त्यसकै पछि कुदोस् । यसले अभावको आविष्कार गर्छ । त्यो अभावलाई पूर्ति नयाँ नयाँ आवश्यकताको आविष्कार गर्छ । अनावश्यकलाई अति आवश्यकता बनाइदिएर मानिसलाई त्यसकै वरिपरि घुमाइराख्नु यसको डरलाग्दो राजनीति हो ।

नैसर्गिक मानवीय मूल्य, सामाजिक नैतिकताको पतन र बस्तु उपभोगको कहिल्यै शान्त नहुने भोक पूँजीवादी रोगका लक्षणहरु हुन् । मानिस आफैमा सामाजिक प्राणी हो, ऊ समाजभन्दा बाहिर बाँच्न सक्दैन । फेरि पनि ऊभित्र सामाजिक विशेषताहरु अत्यन्तै कम्जोर छन्, किन ? किनकि पूँजीवादी रोगको संक्रमणले मानसिकतामाथि आक्रमण गरिरहँदा समाज पनि उसको निम्ति उपभोगको साधन बन्नपुग्छ । उसले समाजसेवाको कुरा र काम जति गर्छ त्योभन्दा बही व्यक्तिगत नाफाको धन्दा चलाउँछ । यसर्थ हर कुरालाई व्यक्तिगत नाफामा बदल्नु पूँजीवादको विशेषता हो ।

संस्कृतिमा पूँजिवाद कसरी पसेको छ ? त्यसको छोटो चर्चा गरौं । आज परिवारबाटै बालबालिकाहरुलाई समाजवादी बन्ने, समाजप्रति जिम्मेवार बन्ने प्रशिक्षण छैन । उनीहरुलाई शिक्षा दिनुको उद्देश्य आविष्कारक, सर्जक र सामाजिक योगदानकर्ता बनाउनु नभएर केबल पैसाको दास बनाउनु रहेको छ । जसले गर्दा औपचारिक शिक्षा हासिल गर्नु, जागिर खानु या विदेश जानु अनि जति सकिन्छ धेरै पैसा कमाउनु नै मानिसको एकमात्र र अन्तिम सपना भएको छ । पूँजीवादले केवल बाँच्ने र उपभोग गर्ने मात्र सपना देखाउँछ । सार्थक जीवन बाँच्ने होइन । पुनर्जागरणकालीन समानता, स्वतन्त्रता र भातृत्वको नारा उराल्ने पूँजीवाद आज विभेद, दासत्व र व्यक्तिवादको पर्याय बनेको छ । नाफाको निम्ति प्रकृतिको विनाशतिर यसरी उन्मुख छ कि यो बाटोबाट अगाडि बढ्दै जाने हो भने ध्वंशभन्दा अरु केही देखिँदैन । 

ज्ञान, शिक्षा, राजनीति, संस्कृति र मानवता हुँदै मानिसकै व्यापार पूँजीवादका घृणायोग्य विशेषताहरु हुन् । नाफा र उभोगको दौडमा अन्धो हुँदै जाँदा पूँजीवादी रोगले ग्रसित मानिस अन्ततः बजारमा आफ्नै मूल्य तोक्दै हिड्छ । आफ्नो मूल्यसम्म तोक्नुपर्ने अवस्था भनेको मानवीय स्वत्व र अस्मिताको विघटन हो भन्ने कुरा समेत मानिसलाई हेक्का हुँदैन । आज ज्ञानदेखि कला, संस्कृतिसम्मका व्यापारीहरु आफ्नो मूल्य तोक्दै नाफाको दौडमा सामेल छन् । सिनेमा उद्योगले सबैभन्दा डरलाग्दो देहव्यपारको धन्दा चलाएको छ । देहको प्रत्यक्ष व्यापारभन्दा सिनेमाको माध्यमबाट गरिने व्यापार धेरै हानिकारक छ ।

निश्चय पनि पूँजीवाद कुनैबेला समाधान थियो । तर आज यो समस्याको स्रोत भन्दा अरु केही भएको छैन । जसले विकास र समृद्धिको नाउँमा प्राकृतिक विनाश निम्त्याइरहेको छ । आज पूँजीवादले रोगको उपचाार होइन व्यापार गर्छ अनि नयाँ रोगको आविष्कार गर्छ । मानिसहरुका भौतिक आवश्यकताहरुको परिपूर्ति होइन आवश्यकताहरुको आविस्कार र व्यापार गर्छ । यसले मानिसका रुचिहरुलाई सामाजिक कल्याणको पक्षमा प्रयोग गर्दैन बरु तुच्छ खालका रुचिहरु जन्माइदिएर तिनकै पछि मानिसलाई भौतारिंदै हिड्ने बनाउँछ । समग्रमा भन्दा यसले मानिसलाई चिटिक्क सिंगारिएको डमीजस्तै तर मानसिक मूर्दामा परिणत गरिदिन्छ । पूँजीवादी रोगद्वारा थलिएको कलाकार सामाजिक हितको निम्ति आफ्नो कला प्रयोग गर्दैन । सिधा–सिधा आफ्नो मूल्य तोक्दै हिड्छ । पूँजीवादले पैदा गरिदिएको भीड संस्कृतिको हवाला दिंदै बजारको मागको नाउँमा नाङ्गिदै हिड्छ । 

पूँजीवादले आफ्नो व्यवस्थाअन्तर्गतका सबै मेशिनरी र व्यक्तिहरुलाई सिर्फ नाफा र उपभोगका दासहरुमा परिणत गर्दछ । जसमा मानिसले गर्भैदेखि अमानवीय नाफाको व्यापार गर्छ । छोरीलाई गर्भमा छँदै तुहाउनु त्यही नाफामुखी मानसिकताको उपज हो । किनकि छोरी जन्मायो भने नाफा छैन, घाटा छ । लैंगिक विभेद त्यही नाफा–घाटामुखी मानसिकताको उपज हो । के वर्तमान समाजमा प्रेमको नाउँमा प्रेम नै भइरहेको छ त ? प्रेम होइन व्यपार नै हुने गर्छ । विवाह व्यापारिक कारोबार र स्थायी वेश्यावृत्तिको अर्को रुप भएको छ । जसमा अस्थायी वेश्यावृत्तिभन्दा कहालीलाग्दा उत्पीडनका कथा–व्यथाहरु छन् । सम्बन्ध र नाताहरुमा नाफाको कारोबार छ । मित्रतामा त्यही छ । पूँजीवादी रोगद्वारा ग्रसित डाक्टरको निम्ति सेवा देखाउने दाँत मात्र हो ऊ व्यापार नगरी टिक्नै सक्दैन । शिक्षक र प्राध्यापकहरु ज्ञान र प्रज्ञाको व्यापार गर्छन् । उनीहरुको अन्तिम उद्देश्य आफ्नो क्षेत्रमा केही नयाँ आविष्कार गर्नु र दुनियालाई योगदान गर्नु नभएर आलिशान महलमा जीवन बिताउने र आफ्ना सन्ततिहरुलाई विदेश पठाउने रहेको हुन्छ । आज अधिकांश अभिभावकहरु आफ्ना सन्ततिहरुलाई डाक्टर, इन्जिनियर मात्र बनाउन किन चाहन्छन् ? किनकि त्यहाँभित्र व्यापार सुरक्षित छ, प्रतिष्ठा छ अनि मनग्य आम्दानी छ भन्ने सोंचले काम गरेको छ । यसरी पूँजीवाद हर क्षेत्रमा क्रियाशील मानिसलाई सिर्फ पैसाको निम्ति सोच्ने र क्रियाशील हुने दासमा परिणत गरिदिएको छ । अनि कसरी स्वतन्त्र हुन्छ मानिस ? मानिस स्वतन्त्र हुनलाई अन्ततः सामाजिक स्वतन्त्रताको चरणमा पुग्नैपर्छ जसभित्र हरेक व्यक्तिको स्वतन्त्रताको ग्यारेण्टी होस् । समाजवादबिना त्यो असम्भव छ । तर अहिलेको तौरतरिकाले समाजवादमा पुग्न सकिदैन । त्यहाँसम्म पुग्नलाई विधि पनि समाजवादी हुनैपर्छ । 

नेपालको वर्तमान अवस्था हेर्ने हो भने कहालीलाग्दो चित्र नजर आउँछ । यहाँ आएको पूँजीवाद कुनै क्रान्तिमार्फत आएको पूँजीवाद होइन । बाहिरबाट आएको हुनाले यो झनै विकृत र भद्दारुपमा भित्रिएको छ । साम्राज्यवालको रुप धारण गरेर राजनीति, अर्थतन्त्र, संस्कृति र विचारका हरेक तहमा आक्रमण गरेको छ । यसले प्रतिगामी संस्कृतिका सबै खाले तत्वहरुलाई आफूभित्र समाहित गरेको छ । प्रगतिशील र क्रान्तिकारी सबै तत्वहरुलाई खारेज गरेको छ । नेपाली समाजमा भित्रिएको पूँजीवादमा अन्यत्र कायम रहेका  कतिपय प्रगतिशील चरित्रहरु पनि समाविष्ट छैनन् । त्यसैले त यहाँका कम्युनिष्ट पार्टी र तिनको नेतृत्व पंक्ति समेत अन्य देशमा गैरकम्युनिष्ट भन्दा पनि गएगुज्रेको हालतमा देखिन्छन् । तसर्थ यतिखेरको नेपालमा भित्रिएको पूँजीवाद दलाल पूँजीवाद हो । यसको विकास गर्नु भनेको थप विकृत त उत्पीडनकारी बनाउनु हो । जुन धेरै हानिकारक छ । नाफाको धन्दा चलाउनलाई समाजसेवा । नाफा आर्जन गर्नलाई राजनीति । नाफाकै लागि सम्बन्ध जोड्नु, नाफाकै लागि सम्बन्ध तोड्नु । कुनै पनि कुरालाई नाफाकै दायराभित्र राखेर हेर्नु पूँजीवादी मनोविज्ञानको भयानक रोग हो । पूँजीवादको आर्थिक आधार नाफा र साँस्कृतिक आदर्श उपभोक्तावाद भइसकेपछि मानिस हामीले परिकल्पना गरेको उन्नत र समाजप्रति जिम्मेवार मानिस रहन्न । बरु त्यो नाफा र वस्तुहरुको इशारामा नाच्ने कठपुतली बन्छ । एउटा यस्तो विकृत सामाजिक मनोविज्ञानले घरजम गर्छ कि– “जो सबैभन्दा ठूलो उपभोक्ता छ त्यही यो समाजको सबैभन्दा उत्कृष्ट मानिस हो ।” पूँजीवादको निरन्तरता र उत्कर्ष भनेको सबै उदात्त  मानवीय गुण र भौतिक–प्राकृतिक सम्पदाको ध्वंशबाहेक अरु केही हुनसक्दैन । समाजवादी विकल्प मात्र यसको समाधान हुनसक्छ । जसको पहिलो सर्त समाजवादी दृष्टि, कार्यदिशा, कार्यक्रम र त्यसलाई अगुवाई गर्ने शक्ति र आन्दोलन नै हुन् । 
 

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ३ घण्टा अघि

सम्बन्धित समाचार
लोकप्रिय