बिहार : समोसामा आलु रह्यो तर लालु रहेनन्, भयो निदहराम

ehulaki
एजेन्सी | जेठ १२, २०७६ आइतबार | 0

जब तक समोसे मे आलु रहेगा
तब तक बिहार मे लालु रहेगा

एकताका माथिको भनाई भारतीय राजनीतिमा निकै चर्चित थियो । भारत र विशेषतः बिहारमा लालुप्रसाद यादव निकै चर्चित नाम हो । भारतीय राजनीतिमा उनको दबदवा र गर्जन निकै ओजपूर्ण हुने गथ्र्यो । एक समय बिहारमा यस्तो परिस्थिति थियो कि ‘जब तक समोसे मे आलु रहेगा, तब तक बिहार मे लालु रहेगा’ भन्ने स्थिति सिर्जना भयो ।

लोकसभा निर्वाचन २०१९ मा भने लालुप्रसाद यादवको राष्ट्रिय जनता दलको लालटिन पूर्णतः नराम्ररी निभ्यो । मोदी सुनामीका अगाडि लालुको लालटिन टिक्नै सकेन । लालुले आफ्नो लालटिन (चुनाव चिन्ह)मा तेल थपेर भविष्यमा कत्तिको प्रकाश दिन सक्लान् ? त्यो भविष्यमै देखिएला । अहिले भने मोदी सुनामीमा परेर लालटिन निभेपछि लालुप्रसाद यादव तनावमा छन् । विरामी भएर राँचीस्थित अस्पतालमा उपचाररत यी हस्ती चुनाव परिणाम आएपछि भने निकै तनावमा छन् । यही तनावमा लालुको निद हराम हुनुका साथै खानै छोडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चुनाव परिणामले निकै तनावमा रहेका लालुले खानपिन नै छोडिदिएपछि डाक्टरहरु नै समस्यामा परेका छन् । राति निद नआउने र खानापिना छोडिदिएपछि उनको उपचारमा संलग्न चिकित्सकहरु पनि समस्यामा परेका हुन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले तीन दिनदेखि लालु निदाउन नसकेको र दिउँसोको खाना नखाएको बताएका छन् । लालुले खाना नखाइदिँदा सुई लगाउन चिकित्सकहरुलाई समस्या परेको बताइएको छ ।

लोकसभा चुनावको परिणाम आएपछि लालुले जेनतेन बिहानको नास्ता चाहिँ लिएका छन् । त्यसपछि एकैचोटी बेलुकीको खाना मात्र खाएका छन् । चिकित्सकहरुले तनावका कारण लालुको यो अवस्था आएको बताएका छन् । उनले कसैसँग कुरा नगर्ने र बेचैनी हुने गरेको बताइएको छ ।

हारपछि टेलिभिजन बन्द
अस्पतालमा उपचाररत लालुप्रसाद यादवले चुनाव परिणाम आउने दिन बिहानै ८ बजेदेखि टिभी खोलेर हेर्न थालेका थिए । जबजब चुनावको परिणाम आउन थाले तबतब लालुप्रसाद यादवमा उदासी बढ्दै गएको देखिएको थियो । करीव १ बजेसम्म आइपुग्दा त लालुले टिभी नै बन्द गरेर सुतेका थिए । त्यसपछि नै उनको खानपिन र निद्रामा असन्तुलन देखिएको हो ।


मोदी सुनामीपछि हावा खायो महागठबन्धन
लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी तथा उनको गठबन्धन ‘एनडीए’को यस्तो सुनामी चल्यो कि लालुप्रसाद यादवको ‘महागठबन्धन’ले हावा खान विवश भयो । लालुले पनि कम्ता तयारी त गरेका थिएनन् । उनले पनि मोदीको सामना गर्न ६ पार्टीहरु (आरजेडी, कांग्रेस, रालोसपा, हम, वीआईपी र सीपीआइएम)को ‘महागठबन्धन’ तयार पारेका थिए । तर, यो महागठबन्धनलाई पनि मोदी अस्त्रले भताभुङ्ग पारिदियो ।

लालुप्रसाद यादव सुप्रिमो रहेको राष्ट्रिय जनता दलले त झन खातै खोल्न असमर्थ भयो । महागठबन्धनको भागमा भने किसनगञ्जको १ सिटमात्र पर्यो । बिहारको कुल ४० सिटमा एनडीएले नै आफ्नो पोल्टामा ३९ सिट पार्न सफल भयो भने महागठबन्धनको भागमा मात्र १ सिट । लालुको राष्ट्रिय जनता दलले खातै खोल्न असमर्थ भयो । सन् १९९७ मा राष्ट्रिय जनता दल स्थापना भएपछि यसले खातै खोल्न नसकेको यही चुनाव भएको बताइएको छ ।


यस्तो थियो आरजेडी
सन् २००५ को विधानसभा चुनावमा राष्ट्रिय जनता दलले ७४ सिटमा जीत हासिल गरेको थियो । सन् २०१५ को विधानसभा चुनावमा जम्मा २४३ सिटमध्ये एक्लैले ८० सिटमा विजय हासिल गरेको थियो । त्यो बेला जेडीयु–कांग्रेससँग मिलेर राष्ट्रिय जनता दलले गठबन्धन निर्माण गरेको थियो । उक्त गठबन्धनका ३ दलले १७८ सिटमा विजय हासिल गरेका थिए । यसपटकको हारले भने समोसामा आलु रहेतापनि बिहारमा लालु भने रहेनन् भन्ने अवस्थामा पुराइदिएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय