कृष्ण सेन इच्छुक : एउटा सुन्दर बिम्बको सम्झना

ehulaki
प्रमोद धिताल | जेठ १२, २०७६ आइतबार | 0

सब से खतरनाक होता है
हमारे सपनों का मरजाना

कवि अवतारसिंह पाश हाम्रोसामु नभएपनि उनका यी कविताका पंक्तिहरु निरन्तर सम्वादमा छन् हामीसँग । जुन कविताले वर्तमान मात्र होइन भविष्यप्रति पनि खबरदारी गरिरहेको अनुभूति हुन्छ । तर वर्तमान धेरै विचलित छ । जोसँग सत्य पचाउने शक्ति झनपछि झन क्षीण भइरहेको छ । र, कुरुप वर्तमानसँगै सति हिँडेको एउटा ठूलै जमातको हल्लीखल्ली छ समाजमा । त्यो जमातले शवयात्रालाई जीवनयात्राको नाम दिँदै गर्दा फेरि आएको छ हाम्रोसामु सहिद कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस । सपनाहरुको शवयात्रामा सामेल जमातले नै लिएको छ सपनाको व्याख्या गर्ने जिम्मेवारी । तर उसलाई के थाहा सपनाको मलामी जानु सपनाप्रति इमान्दार बन्नु होइन । 

फेरि कर्मकाण्ड हुनेछ कृष्ण सेनको नाउँमा वर्षदिनको ढोंगी श्राद्धझैं । सपनाकै मलामीहरुले गाउनेछन् सपनाको गीत । अनि फेरि अर्को श्राद्धको दिन नआउँदासम्म कृष्ण सेनका सपना जो सपना देख्ने सबैका साझा सपनाहरु हुन्, दुस्वप्नहरुका कम्बलमुनि दम्पच हुनेछन् । ती सबै कुराहरुको हिजोभन्दा भोलि झन खेती हुनेछ जो सपनाहरुको प्रतिकूल थिए र छन् । कृष्ण सेनको उद्देश्य र ध्येयको शीर्षाशनमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण थियो । त्यही सपनालाई आरामदायी गलैंचामा परिणत गरेर त्यसैमाथि खेलिनेछ सपनाको जुवा । अनि भनिदै जानेछ “कृष्णसेन महान हुन्, उनकै बलिदानबाट यो सब सम्भव भयो ।” कृष्णसेनको आदर्श भोगवाद थिएन । सत्ता र अवसरहरुको चास्नीमा डुबुल्की लगाउनु पनि थिएन । पदलोलुपता झन पटक्कै थिएन । तर भोगवाद र पदलोलुपताको वर्तमानमा देखिएको दृृश्य त रिहर्सल मात्र हो । बरु त्यसले सगरमाथाको उचाई नाघ्नेछ । अनि भोगवादले नै भट्याइरहनेछ कृष्ण सेनका गाथाहरु । किन कि यो तपस्या र सपनाहरुको ब्याज असुल्ने समय हो । 

कहिलेकाहिँ भ्रममा परेर झुठ बोल्नु अर्कै कुरा हो । तर भ्रममुक्त भइसक्दा पनि लगातार झुठ बोलिरहनु सबैभन्दा ठूलो बेइमानी हो । त्यो बेइमानीबाट बच्नु पनि यतिखेरको सबैभन्दा ठूलो क्रान्तिकारिता हो । एकातिर हामी मनुवादका अनुयायीहरुले प्रगतिशीलता र प्रगतिवादको व्याख्याको जिम्मा लिइरहेको कुरुप वर्तमान झेलिरहेछौं । अर्कोतिर जागरण र एक हदसम्म मानिस ब्यूँझिएको वर्तमान पनि हामीसँगै छ । त्यही मार्गमा अगाडि बढ्नुको हामीसँग विकल्प छैन । यही नै कृष्ण सेनप्रतिको सच्चा श्रद्धाञ्जली हुन जान्छ । त्यसैले कुन वर्तमानको पक्षमा उभिने यसको निर्मम फैसला फेरि पनि हामीले नै गर्नुछ । 

कृष्ण सेनबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ भनेको वर्गीय एवं वैचारिक प्रतिबद्धताको पाठ हो । जसलाई उनले कहिल्यै धमिलो हुन दिएनन् । जीवनशैलीमा अत्यन्त सहज, सरल र मिजासिलो । वर्गीय र वैचारिक प्रतिबद्धताको हिसाबले झुक्दै नझुक्ने सतिसाल । यी दुबै पक्षहरुको मिलन कमै व्यक्तिहरुमा मात्र पाउन सकिन्छ । लेखनको हिसाबले पनि विचारसँग कला  र शिल्पको साजसज्जा अर्थात् रुप र अन्तर्वस्तुको प्रभावकारी मिलन उनको अत्यन्त सबल पक्ष हो । कृष्ण सेनको निरन्तर र जिम्मेवारीपूर्ण साधनाले हामीलाई लेखनको सामाजिक–राजनीतिक उपादेयताप्रति सधैं सजग बनाइरहन प्रेरित गर्दछ । उनको जीवन, आचरण र कर्मलाई आजका सन्दर्भहरुसँग जोडेर हेरिनु पर्दछ । आश्चर्यजनक विचलनको बेगवान यात्रा त एकातिर छँदैछ । अझ थप विकल्पको नाउँमा विरोध र प्रतिक्रियाको कारोबार पनि कम चलेको छैन यो समय । यो या त्यो नाउँमा देखिइरहेका विकृति, विचलन र प्रतिक्रान्तिकारी हरकतहरुले वातावरण हदैसम्म विकृत बनेको छ । क्रान्तिकारी आन्दोलन भयानक कुपोषित भएको छ । यो अवस्थामा कृष्ण सेनलाई सम्झिने तरिका के होला ? के उनको सम्झनामा एक मिनेट मौनधारण गर्दैमा त्यो दायित्व पूरा होला ? कदापि हुन सक्दैन । यतिखेर हाम्रा मन, वचन र कर्महरुमार्फत फेरि आफूलाई पुनर्जीवित गर्नुपर्ने बेला आएको छ । आफ्नै विरुद्ध युद्धको घोषणा गर्ने साहस जुटाउनुपर्ने भएको छ । क्रान्तिका योद्धाहरुलाई उपभोक्तावादको राजनीतिले खर्लप्पै निल्न थालेको छ । चानचुने इमान्दारिताले मानिस जोगिन सक्ने मौसम होइन यो । हामी जीवित भएको प्रमाण पेश गर्नलाई पनि धेरै मेहनत गर्नुपर्ने अवस्था छ । भौतिक रुपमा को कहाँ पुग्यो ? यो ठूलो कुुरा होइन । बरु मानसिक रुपमा हामीले कुन जीवन बाँचिरहेछौं त्यो नै निर्णायक हो । 

यतिखेर पनि क्रान्तिको नाउँमा प्रहसन जारी छ । आदेश, निर्देशन र अह्रनखटनको बोलबाला छ । भक्तिगानको कर्कश आवाजले वातावरण प्रदूषित बनेकै छ । आस्थाका गायकहरु अल्पमतमा छन् । साँच्ची कृष्ण सेन जीवित भए के सोचिरहेका हुन्थे होलान् ? के लेखिरहेका हुन्थे होलान् ? कुन गीत गाउँदै हुन्थे होलान् ? हुन त यी फगत कल्पना गर्ने विषय हुन् । फेरि पनि त्यो प्र्रिय आस्थाको गायकको बारेमा यत्ति कल्पना गर्न सकिन्छ कि उनी जीवित भएको भए अहिले पनि सपनाकै गीत गाइरहेका हुन्थे होलान् । कहिल्यै पुराना नहुने उनका स्वप्न गीतहरु युग–युगान्त उनका अनुयायीहरुले गाइरहने छन् । 

हाम्रा स्वरहरुमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओंठहरुमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ
गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

२०७६ जेष्ठ १२
 

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय