भावुक बन्दै चाम्लिङले छोडे सरकारी निबास

ehulaki
ई-हुलाकी | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं । सम्झना छोडेर जानु निकै गाह्रो हुन्छ । एक घण्टाको होस् वा २५ वर्ष । सजिलो हुँदैन । मन बेखुस हुन्छ । आँसु झर्छ । आज सिक्किमको राजधानी गान्तोकको सरकारी निवासमा यस्तै भएको छ । पवन चाम्लिङका शुभचिन्तकहरुले आँसु झारे । सुरक्षाकर्मीले विदाइको सलामी दिन सुरु गरेपछि उनीहरु झन रोए ।

पवन चाम्लिङ भावुक बने । गाढी चढेर सरकारी निवास छोडिरहँदा उनका शुभचिन्तकहरु डाको छोडेर रोए । पवन चाम्लिङले सिक्किममा २५ वर्ष निरन्तर शासन गरे । उनले आजदेखि औपचारिक रुपमा सत्ता छोडेका छन् । गान्तोकको सरकारी निवास छोडेका छन् ।

भर्खरै सम्पनन विधानसभामा बहुमत नअएपछि पवन चाम्लिङले गान्तोकस्थित सरकारी निवास छाडेका छन् ।

३२ सदस्यीय विधान परिषदमा १७ सिटमा विजयी भएर सिक्किम क्रान्तिकारी मोर्चाले चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई १५ सिटमा सीमित गरेपछि एक सिटको अन्तरमा चाम्लिङले सत्ता गुमाएका थिए ।

आफ्नो पार्टी अल्पमतमा परेपछि विपक्षमा बस्ने घोषणासहित चाम्लिङले शुक्रबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यद्यपि नयाँ सरकार गठन नभएसम्म उनी कामचलाउ मुख्यमन्त्री रहने छन् ।

यो पनि पढ्नुस् (सिक्किममा २५ वर्षपछि चाम्लिङ शासन ढल्यो)

सन् १९९४ को १२ डिसेम्बरका दिन भारतको नेपाली भाषी राज्य सिक्किमका पाँचौं मुख्यमन्त्रीका रूपमा शपथ लिएयता उनी निरन्तर पाँच कार्यकाल मुख्यमन्त्री रहे । सन् १९९४ को १४ डिसेम्बरमा राजधानी गान्तोकस्थित मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङ छिरेका उनी २५ वर्षपछि आज आइतबार त्यहाँबाट बाहिरिएका हुन् ।

आइतबारदेखि चाम्लिङ दक्षिण सिक्किमको नाम्चीस्थित घुर्पिसेमा रहेको आफ्नो निजी निवासमा बस्ने छन् । चाम्लिङको पार्टी एसडीएफका कार्यकर्ताले ‘पवन चाम्लिङ जिन्दावाद’ नारा लगाउँदै कार र्‍याली गरी उनलाई नाम्चीसम्म पुर्‍याएका छन् ।

मिन्तोकगाङ छोड्नुअघि पत्रकारहरूलाई सम्बोधन गर्दै चाम्लिङले ‘सिक्किमेली जनताले एसडीएफलाई पूर्ण रूपले खारेज नगरेको’ बताएका छन् । ‘जनमतको सम्मान गर्दै यसपालिको चुनाव प्रतिफललाई म आन्तरिक हृदयबाट स्वीकार गर्छु’, चाम्लिङले भने, ‘जनताले एसकेएम पार्टीलाई विजयी बनाएर सत्ता सुम्पेका छन् ।’ उनले थपे, ‘सत्तासिन भएकोमा एसकेएम पार्टीका नेता एवं सबै विधायकहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।’

एसडीएफलाई सिक्किमेली जनताले खारेज गरेको होइन, भूमिका मात्र परिवर्तन गरिदिएको चाम्लिङको भनाइ थियो । ‘हामीलाई जनताले विपक्षीको जुन भूमिकामा राखेका छन्, त्यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नेछौं’, चाम्लिङले भने, ‘एसडीएफले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ ।’

साथै उनले सिक्किमेली जनताले आफूलाई (२५ वर्षसम्म) चयन गरेकोमा बधाई पनि दिए ।

सन् १९९४ मा नरबहादुर भण्डारीको १४ वर्षे शासनलाई उल्टाएर पवन चाम्लिङ सिक्किमका पाँचौं मुख्यमन्त्री बनेका थिए । त्यसबेला चाम्लिङको पार्टी एसडीएफले ३२ मध्ये १९ सिट जितेको थियो। त्यसपछि १९९९ मा २५ सिट, २००४ मा ३१ सिट, २००९ मा ३२ सिट र २०१४ मा २२ सिट जितेर चाम्लिङ लगातार मुख्यमन्त्री बनेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय