गाउँपालिकाकी उपाध्यक्षले कार्यकक्षमै कपडा खोलिदिएपछि...

ehulaki
----------------- | जेठ १३, २०७६ सोमबार | 0

नुवाकोट। नुवाकोटको तार्केश्वर गाँउपालिकामा उपाध्यक्षको अभद्र व्यवहारका कारण हंगामा भएको छ । यहाँकी गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार गरेकी हुन् । उपाध्यक्षको दुर्व्यवहारको शिकार भएका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

सिफारिस गरेका योजनाका लागि बजेट दिन नमानेको भन्दै तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष रिमालले प्रमुख प्रशासकीय अधिकृत दाहालमाथि कुटपिट र दुर्व्यवबहार गरेकाले पक्राउ गरेर कारबाही गर्न माग गर्दै प्रहरीमा किटानी जाहेरी दिइएको हो । आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम गरिरहेको समयमा बिहीबार अपराह्न चार बजे उपाध्यक्ष रिमालले प्रमुख प्रशासकीय अधिकृत दाहालले लगाएको सर्ट च्यातेर खोलिदिएको बताइएको छ । 

गाउँसभामा समावेश नभएका विभिन्न चारवटा योजनामा ६ लाख रुपैयाँ बजेट तर्जुमा गर्न उपाध्यक्षको निर्देशन कार्यान्वयनको लागि ‘कानूनले नमिल्ने’ बताएपछि आफूमाथि कार्यकक्षमै कुटपिट भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । उपाध्यक्षले गरेको कुटपिट र लछारपछारबाट आफू अन्यायमा परेको भन्दै तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै उनले ‘सार्वजनिक अपराध सम्बन्धी कसुर’मा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

कर्मचारी माथि भएको दुर्व्यबहारको विरुद्ध जिल्लामा रहेका बाह्रैवटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गाँउपालिका उपाध्यक्ष रिमालप्रति आपत्ति जनाउदै कारबाहीको माग गरेका छन् ।

अन्यायमा परेकालाई न्याय दिन गठित ‘न्यायिक समितिका संयोजक’ समेत रहेको गाँउपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको कुटपिट र दुर्व्यवहार प्रति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनसहित सबै संघ–संगठनले दोषीलाई कारबाही गर्न मागगर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय