सांसदलाई ६ करोडले नपुग्ने भन्दै १० करोड दिनुपर्ने यस्तो तर्क

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १८, २०७६ शनिबार | 0

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याइएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको बताएका छन् । उनले यसलाई अझै बढाएर १० करोड पुराउनुपर्ने आवश्यकता पनि औंल्याए । 

सांसद डा. खड्काले भने, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गनैैपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’ अमेरिका, भारतलगायतका देशहरुमा पनि यो कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै डा. खड्काले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको बताए ।

नेता खड्काले भने, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको कुनै अर्थ छैन ।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाइ छ । 

डा. खड्काले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्बको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे । 

पूँजीगत खर्च ४५ प्रतिशतभन्दा बढी हुन नसकेकोमा खड्काले गुनासो पोखे । उनले भने, ‘हामीले प्राप्त गरेको मन्त्रालयगत पूँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ । अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ । एकदमै कम छ ।’

खड्काले सामाजिक सुरक्षाको दायित्व बढी भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए । पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए । 

३५ अर्बभन्दा बढीको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयत हुने गरेको पनि सुनाए । उनले भने, ‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय