राजनीतिले विकास र साहित्यले विवेक दिनुपर्छ : मन्त्री रावल

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १८, २०७६ शनिबार | 0

कथाकार शाहसँगै चारजना स्रष्टा सम्मानित
 

सुर्खेत, १८ ज्येष्ठ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले राजनीतिले विकास र साहित्यले विवेक दिनुपर्ने बताएका छन् । कर्णाली साहित्य समाजको आयोजनामा भएको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।

गौरवमय इतिहास बोकेको कर्णाली प्रदेशको कला, साहित्यले सिंगो राष्ट्रको विषयवस्तुलाई बोक्नसक्नु पर्ने मन्त्री रावलको भनाइ थियो । मन्त्री रावलले भने, ‘राजनीतिको सही मार्गनिर्देशक साहित्य हो ।’ आउँदो आर्थिक वर्षमा सिंजामा साहित्यिक महोत्सव गरेर कर्णाली प्रदेश सरकार साहित्यिक यात्राका लागि कोसेढुङ्गा बन्न तयार छ ।’ उनले थपे, ‘रचनात्मक र सकारात्मकरुपमा अघि बढे साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्ने कुरामा विश्वस्त छु ।’

कर्णालीबाटै नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनको लागि सबैले आ–आफ्नो तहबाट हातेमालो गर्न जरुरी भएको मन्त्री रावलले उल्लेख गरे । ‘कर्णालीलाई गरिब देख्नेहरुले कर्णालीको अन्तरमनलाई बुझ्न नसकेर मात्र हो । हामी भाषा, कला, संस्कृति, पुरातात्विक, ऐतिहासिक, जल, जमिन, जडिबुटी सबैमा धनी छौ । त्यसैले कर्णालीलाई गरिब देख्ने होइन समृद्ध बनाउने तर्फ लाग्न आवश्यक छ’, मन्त्री रावलले भने ।

कार्यक्रममा कर्णाली साहित्य समाजले संरक्षकको रुपमा कथाकार महेशविक्रम शाहलाई सम्मान गरेको छ । सम्मानित स्रष्टाको रुपमा बोल्दै कथाकार शाहले भने, ‘कर्णालीको वाङ्मयको श्रीबृद्धि गर्नका लागि ठोस परिणाम आउने काम गर्न आवश्यक छ ।’ २०६३ को मदन पुरस्कार प्राप्त व्यक्तित्व महेशविक्रम शाहका ७ वटा कृतिहरु प्रकाशित छन् । 

कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहेका साहित्यकार डा. दीपेन्द्र रोकाया, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरी र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलाई कर्णाली साहित्य समाजले एउटै मञ्चमा सम्मान गरेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय