कतिपय जनप्रतिनिधिमा कमाउने मौका यही हो भन्ने छ : प्रमुख सूचना आयुक्त

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १८, २०७६ शनिबार | 0

दाङ, १८ जेठ । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संघीयताको महसुस हुनेगरी हरेक पालिकाले पहिचान बनाउनुपर्ने कुरामा जोड दिएका छन् । उनले पालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी स्थानीय सरकारका प्रतिनिधिको भएको भन्दै सिर्जनात्मक र जनमुखी योजनामा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए । 

गाउँगाउँमा सिंहदरबारसँगै भ्रष्टाचार पनि गएको भन्ने जनताको गुनासो व्याप्त रहेको भन्दै उनले जनप्रतिनिधिले आफूहरुप्रति लागेको आरोपको व्यवहारले खण्डन गर्नुपर्ने कुरामा जोड दिए । ‘कमाउने मौका यही हो भन्ने कुरा कतिपय जनप्रतिनिधिमा रहेको छ । यसले जनतामा निराशा पैदा गरेको छ’, बाँस्कोटाले भने ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको पूर्व बजेट तथा योजनाबारे अभिमुखीकरण कार्यक्रममा वोल्दै उनले जनताको सेवालाई जनप्रतिनिधिले पहिलो प्राथमिकता दिनुपर्ने बताए । जनतामा सूचनाको हकबारे जानकारी राम्रोसँग नहुँदा अनियमितता र भ्रष्टाचार मौलाएको उनको भनाइ थियो । जनप्रतिनिधिले लोकप्रियताका लागि ठूलाठूला सपना बाँड्ने भन्दा पनि के काम गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिएर काम गर्नुपर्ने उनको भनाई थियो । ‘धेरै ठूला सपना बाँड्ने भन्दा पनि साना साना व्यवहारिक र जनताको जीवनसँग जोडिएका कुरामा ध्यान दिनुपर्दछ’, मुख्य आयुक्त बाँस्कोटाले भने । कतिपय मानिसहरु पद पाएर गैरजिम्मेवार हुने गरेको बताउँदै उनले पदले मान्छेलाई थप जिम्मेवार बनाउने कुरा सुनाए । स्थानीय तहमा के सम्भावना छ भन्ने बारेमा ध्यान दिएर त्यसैको विस्तारलाई ख्याल गर्नुपर्ने आवश्यकता उनले औंल्याए । 

हरेक पालिकाहरुले नमूना योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने भन्दै बाँस्कोटाले स्थानीय तहका आएको अधिकारका बारेमा स्वयम् जनप्रतिनिधि समेत अन्यौलमा रहेको बताए । ‘नेपालमा अहिले ३ वटा प्रधानमन्त्री रहेका छन्, एउटा केन्द्रमा, अर्को प्रदेशमा र अर्को स्थानीय तहमा’, बाँस्कोटाले भने । उनले स्थानीय तहको अधिकार खुम्च्याउने दाउँमा केन्द्र र प्रदेश लागेको बताउँदै स्थानीय सरकारले त्यसमा गम्भीर भएर ध्यान दिनुपर्ने कुरामा जोड दिए । 

कार्यक्रमा विषय प्रवेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई नमुना शहर बनाउने यात्रामा आफू लािगरहेको बताउँदै विज्ञहरुको सुझाव लिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कुनै पनि सहर स्मार्ट हुनका लागि त्यहाँका नागरिकहरु स्मार्ट हुनु्पर्ने उनको भनाइ थियो ।
 
नेकपाका नेता टीकाराम खड्काले इच्छाशक्ति र योजनाले विकासलाई गतिदिने कुरामा जोड दिए । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले स्थानीय सरकारले कामभन्दा नारा बढी लगाएको आरोप लगाए । उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक बसन्त आचार्यले गरेका थिए ।

यसैबीच कार्यक्रममा उठेका विषयवस्तुलाई दस्तावेजीकरण गर्नका लागि गरिबी निवारण कोषका पूर्व निर्देशक नहकुल केसीको संयोजकत्वमा समिति समेत बनाइएको छ । जसको सदस्यमा सुषमा गिरी, रुपबहादुर खत्री, कुन्ता भण्डारी र सदस्य सचिवमा प्रेस संयोजक बसन्त आचार्य रहेका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय