खानेपानीमा सहकारीको लगानीको मोडालिटी उपयुक्त हुनसक्ने : मन्त्री मगर

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १८, २०७६ शनिबार | 0

खानेपानी मन्त्रीद्वारा संयुक्त लगानीको पानी ट्याङ्कीको शिलान्यास

भक्तपुर, १८ जेठ । खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ स्थित सिपाडोलमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीको शनिबार शिलान्यास गरेकी छन् । सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा बन्न लागेको उक्त पानी ट्याङ्कीको शिलान्यास खानेपानी मन्त्री मगरले एक समारोहका बीच गरेकी हुन् ।
  
उपभोक्ता समितिले स्थानीयहरुको लगानी रहेको सिपाडोल बचत तथा ऋण सहकारी संस्था र सूर्यविनायक नगरपालिकाको संयुक्त लगानीमा पानी ट्याङ्की निर्माण गर्न लागेको हो । खानेपानी आयोजनामा सहकारीको लगानी रहेकोले यो नै अबको नयाँ मोडालिटी हुने समितिको भनाइ छ ।


 
उक्त ट्याङ्कीको कूल लागत ६५ लाख रहने समितिले जनाएको छ । पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेपछि करिब १५ हजार जनसंख्या खानेपानीबाट लाभान्वित हुने बताइएको छ ।
 
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले शतप्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुराउन सरकार योजना बनाएर अघि बढिरहेको बताइन् । मन्त्री मगरले भनिन्, ‘खानेपानीको क्षेत्रमा देशैभरि उपभोक्ता समितिहरुको लगानी रहेको छ । त्यसमा राज्यको पनि लगानी हुन्छ । कतिपय अवस्थामा खानेपानीका लागि लगानी जुटाउनुपर्ने चुनौती रहेकोे बेला सहकारीले यसरी लगानी गर्दा आयोजना अगाडि बढाउन गाह्रो हुँदैन । यो सोच र मोडालिटी खानेपानीको लागि उपयोगी हुनेछ ।’
 
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खानेपानीको लागि यसरी गरिने सामूहिक लगानी अति महत्वपूर्ण रहेकोे बताएका थिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय