दुई पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल र ज्ञानेन्द्र कार्कीको यस्तो जुहारी

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २०, २०७६ सोमबार | 0

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफल सोमबार पनि जारी छ । छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले बजेटको बचाउ गरेका छन् । त्यस्तै, विपक्षी दलका सांसदहरुले भने बजेटको आलोचना गरेका छन् । 

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट भ्रमपूर्ण, प्रचारमुखी र संघीयताको मर्मविपरीत भएको आरोप लगाएका छन् । सांसद कार्कीले अर्थतन्त्रका मुख्य आधारहरु क्रमशः कमजोर भइरहेका बेला सरकारले भनेजस्तो उच्च आर्थिक वृद्धिदर हासिल हुनै नसक्ने ठोकुवा गरे । व्यापार घाटा न्यूनीकरण गर्न बजेटमा कुनै योजना र दृष्टिकोणसमेत नरहेको उनको भनाइ थियो । 

सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय र ठूला आयोजना निर्माणका लागि ठोस आधार तय गरेको जिकिर गरे । बजेट समाजवादउन्मुख भए पनि कार्यान्वयनमा विगतमा जस्तै चुनौती रहेको स्वीकार गर्दै उनले कार्यान्वयनमा प्रतिपक्षलाई पनि सहयोग गर्न आग्रह गरे । सांसद भीम रावलले बजेटले राष्ट्रिय अर्थतन्त्र निर्माणमा ध्यान दिनसक्नुपर्ने भन्दै सोही बमोजिमको प्राथमिकता र कार्यान्वयन आजको आवश्यकता रहेको बताए । 

राजपा नेपालका सांसद महेन्द्रराय यादवले बजेट वितरणमुखी, केन्द्रीकृत, समानताको सिद्धान्त र संघीयताविपरीत भएको टिप्पणी गरे । अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते १५ खर्ब ३२ अर्ब रुपैयाँ बढीको बजेट संसदमा पेश गरेका थिए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय