घरवारविहीन १५ सय घरपरिवारको आवासका लागि वनमन्त्रीको ध्यानाकर्षण

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २०, २०७६ सोमबार | 0

पर्यटकको सहज पहुँचका लागि शुक्लाफाँटा आरक्षका लागि नयाँ प्रवेशद्वार खुल्ने

काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज)का कारण घरबारविहीन भएका १५ सय घरपरिवारलाई जग्गासहित आवासको व्यवस्था गर्न माग गर्दै वनमन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराइएको छ । बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका गरी करिब १५ सय घरपरिवार निकुञ्जका कारण घरबारविहीन भएका छन् ।

खानेपानी मन्त्री बिना मगरसहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराइएको हो । भेटमा खानेपानी मन्त्री मगरसहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडोभन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनको भनाई थियो ।   

निकुञ्जले २०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरुलाई साविकको बेलडाँडी गाविस वडा नं. ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरु घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीयवासीहरु घरबारविहीन भएपछि बिचल्लीमा परेका थिए ।
 
उतिबेलाको समस्या अहिले पनि जस्ताको तस्तै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाइए पनि घरबारविहीन जनताको समस्या अझै समाधान नभएको स्पष्ट पारे ।

त्यसैगरी वन मन्त्रीसँगको भेटमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेश द्वार खुल्ने भएको छ । कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उदघाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गर्ने भएका छन् ।
 
नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरुलाई जंगल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय