नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

ehulaki
रासस | पुस ३, २०७५ मंगलबार | 0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ । 

सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । नेकपा कर्णाली प्रदेश सह-इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिनुभयो । 

यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही हुनुहुन्थ्यो । पार्टी एकीकरणपछि लामो समय संसदीय दलको नेताविहीन नेकपा कर्णाली प्रदेशले निरन्तरको छलफल र बैठकपछि वैधानिक रुपमा पुस २ गतेदेखि संसदीय दलको नेता पाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय