भमरा लोप हुँदै जाँदा मानव जातिमा यस्तो पर्दैछ असर !

ehulaki
----------------- | जेठ २२, २०७६ बुधबार | 0


चाँदनी हमाल

काठमाडौँ, जेठ २२ गते । खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा भमराकै बारेमा विशेष सम्मेलन नै चल्यो । भमराको अवस्था कहाँ के कस्तो छ भन्ने ठूलै बहस भएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक दयाराम भुसालले बताउनुभयो । तर नेपालमा खासै अध्ययन नभएकाले केही तथ्य प्रस्तुत हुन सकेन । 
उहाँका अनुसार युरोप, अमेरिका, चीन, भारतमा भमराको उपयोग फलफूल उत्पादन तथा खाद्यान्न उत्पादनका लागि गर्ने गरिएको छ । “नेपालमा भने यसको वैद्यानिक अध्ययन भर्खरैमात्र सुरु भएको छ,” उहाँले भन्नुभयो, “अध्ययनको प्रारम्भिक अनुमानले भमराको उपस्थिति नेपालमा पातलिएकोछ । फूलको रस खान मनपराउने भमरा एक प्रकारको माहुरी हो ।” 
िउहाँका अनुसार माहुरीभन्दा धेरै उच्च क्षेत्रमा जान सक्ने भमराले साना फूलमात्र हैन, ठूला ठूला रुखमा समेत पराग सेचन गराएर मानिसलाई लाभ दिन्छ । 
तर पछिल्लो समय जलवायु परिवर्तनसँगै बढेको तापक्रम, बढ्दो विषादीको प्रयोग र मानवको अतिक्रमणले वन तथा वनस्पतिको विनास आदि कारणले भमरा लोप हुने अवस्थामा पुगेको छ । 
हिमाली क्षेत्रमै पनि किसानले कीरा मार्न प्रयोग गरेको विषादीले माहुरी र भमरा मरेको भेटिएको उहाँले जानकारी दिनुभयो । विषादीकै कारण यसको कार्यक्षमता र शारीरिक स्वास्थ्यमा पनि असर परेको दाबी उहाँ गर्नुहुन्छ । 
विज्ञले भने झैँ पछिल्लो चारवर्ष तथा सन १९७१ देखि २०१४ सम्मको अवस्था हेर्दा प्रतिवर्ष ०।०५६ डिग्री सेल्सियस अधिकतम र ०।००२ डिग्री सेल्सियस न्यूनतम्का दरले तापक्रम वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । जसको असर नेपाल जस्तो कृषि प्रधान देशमा हुने मनसुनी खेती र भमरा लगायतका कीटपतङ्गमा सिधै पर्ने गरेको छ । विभागका अनुसार सन् २०१६ देखि २०४५ सम्म ०।९२–१।०७ र सन् २०३६ देखि २०६५ सम्म १।३–१।८२ डिग्री सेल्सियसका दरले तापक्रम बढ्ने अनुमान छ । 
माटोमा सुरुङ्जस्तो बनाएर बस्ने भमरा ओसिला र चिसो मौसम मन पराउँछ । नेपालमा करिब सातसय मिटरमाथिको उचाइदेखि यसको वासस्थान रहेको मानिन्छ । “चीनको स्याउ खेतीमा भमरा उत्पादन गरी पराग सेचन गराइन्छ,” भुसालले थप्नुभयो, “नेपालको मनाङ, मुस्ताङमा त्यो प्रविधि अपनाउन सके राम्रो उत्पादन गर्न सकिन्छ ।” न्यूनतम् माइनस ४ डिग्रीदेखि २५ डिग्री सेल्सियससम्मको तापक्रम भमराले रुचाउँछ । पछिल्लो समय काठमाडौँ लगायत पहाडी भेगमा तापक्रम बढ्दै गएकाले तल्लो भेगका भमरा लोप हुँदै जान थालेको अनुमान छ । बाँच्नकै लागि भमरा माथिल्लो हिमाली भेगतिर चढ्न थालको भुसाल बताउनुहुन्छ । 
“ठूला प्राणी र वनस्पतिको बढी अध्ययन भइरहेको छ,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “तर मानिसको जीविका र कृषि प्रधान देश नेपालसँग जोडिने भमरा लगायतका कीटपतङ्गका बारेका खासै अध्ययन हुन सकेको छैन ।” जसका कारण यो पारिस्थितिक प्रणालीमा असर परिरहेको छ । समयमै परागसेचन नहुँदा कम फल लाग्ने, कम फूल फूल्ने र कृषि उत्पादनमै ह्रास आउनेजस्ता समस्या बढेको हुनसक्ने अनुमान उहाँले गर्नुभयो ।
उहाँका अनुसार कुनै पनि बोट विरुवाको फूलको रसमा भमरा आकर्षित हुने गर्छ । गुलियो रस खान जाँदा पराग कण एकफूलबाट अर्को फूलमा पुर्याएर यसले विरुवामा पराग सेचन गराउन मद्दत गर्छ । विभागको महत्वपूर्ण लिस्टमा भमरा लगायतका कीटपतङ्गको अध्ययन गर्नुपर्ने उल्लेख छ । तर विशेषज्ञता, बजेट लगायतका विविध समस्याले हुन नसकेको उहाँ बताउनुहुन्छ । 
वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठका अनुसार भमरा लगायतका किटपङ्ंग बिना मानव जीवन कल्पना गर्न सकिन्न । रुख, विरुवालाई फलदायी बनाएर मानिसलाई बाँच्न सघाउने यस्ता कीटपतङ्गको संरक्षण हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “प्राकृतिक नियमभित्र परेको भमराको अन्त्य हुनु भनेको मानव सभ्यतामै ठूलो असर हुनु हो,”उहाँले भन्नुभयो ।
भमराको नेपालमा अवस्थितिका बारेमा किशोरचन्द्र घिमिरेले विद्यावारिधिका लागि अध्ययन गरिरहनु भएको छ । त्यस्तै इच्छा रोक्का, एन्जिला पाण्डे, सविना दुलाल, प्रतीक्षा बानियाँले स्नातकोत्तर तहका लागि अध्ययन गर्नु भएको छ । चितवन अन्नपूर्ण ल्यान्डस्केप परियोजना ९चाल०अन्तर्गत काठमाडौँ, चितवन, तथा पहाडी भेगमा भमराको अध्ययन भइरहेको छ । 
अध्ययनबाट प्राप्त प्रारम्भिक तथ्याङ अनुसार काठमाडौँमा ६ प्रजातिकोे भमरा र चितवनमा ११ प्रजातिको भमरा फेला परेको छ । धेरै पहिले जापानी र वेलयाती नागरिकले गरेको अध्ययनमा नेपालमा ३४ प्रजातिको भमरा पाइने उल्लेख छ ।यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय