‘नाक भाँच्न एक करोड छुट्याउने’ मेयरबारे यसो भन्छ पत्रकार महासंघ

ehulaki
ई-हुलाकी | जेठ २२, २०७६ बुधबार | 0

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै महासंघको ध्यानकर्षण भएको बताएका हुन् ।

जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएका थिए । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र प्रचलित कानुनको समेत उपहास भएको महासंघले ठहर गरेको छ । महासंघले उक्त घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाउन पनि महासंघले आग्रह गरेको छ । त्यस्तै यस्ता घटना नदो¥याउनतर्फ ध्यान दिन महासंघले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । 

यसैगरी जेठ २१ गते राति महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर (आशीष) राईलाई ४÷५ जनाको अज्ञात समुहले धरानस्थित डिबीआर अनलाइन टेलिभिनको कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गरेको घटनाबारे पनि महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार राईको टाउकोमा गम्भीर चोट लागी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उल्लेख गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय