मोदी सरकारमा शाहको दबदवा, के राजनाथ बिस्तारै किनारा लाग्लान् ?

ehulaki
आरएस शुक्ल | जेठ २२, २०७६ बुधबार | 0

केन्द्रमा नरेन्द्र मोदीको नेतृत्वमा दोस्रोपटक सरकार गठनको बाटो स्पष्ट भइसकेपछि यस्ता केही मुद्दाहरुमा अडकलबाजीहरुले बजार तताएका थिए । त्यसमा एक यो पनि थियो कि सरकारमा नम्बर २ को हैसियतमा को होला ? यिनमा दुई नाम सबभन्दा माथि थिए । पहिलो, अमित शाह र दोस्रो राजनाथ सिंह । यो प्रश्न यसकारण धेरै महत्वपूर्ण भइसकेको थियो कि यसपटक केन्द्रीय मन्त्रिमण्डलमामा अमित शाह सामेल भइसकेका थिए । अहिलेसम्म शाह सरकार बाहिर थिए र भारतीय जनता पार्टीको अध्यक्ष रहेका उनको ओहदा संगठनमा बकाइदा सबैभन्दा माथि थियो । यसका अतिरिक्त अमित शाह प्रधानमन्त्री नरेन्द्र मोदीका सबभन्दा भरोसायोग्य नेताका रुपमा बुझिँदै आएको थियो । चुनावमा भाजपाको ठूलो जीतको पछाडि पनि यिनै दुई नेताहरुको केमेष्ट्रीले ठूलो भूमिका निभाएको थियो, चाहे त्यो लोकसभाको २०१४ र २०१९ को चुनाव होस् वा विधानसभाहरुको चुनाव । गुजरातमा पनि एकछत्र राजको लागि यिनै दुई नेताहरुको ‘करिश्मा’ भूमिकाको सम्झना गरिन्छ । जब नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री थिए, त्यतिबेला गुजरातमा अमित शाह गृहमन्त्री हुन्थे । यसरी हेर्ने हो भने एक हिसावले यो स्पष्ट हुन्छ कि अमित शाहमा नम्बर २ को हैसियत हुने गर्दथ्यो ।

यसै आधारमा पहिलेदेखि नै यो मानिदै आएको थियो कि यदि केन्द्रमा फेरि नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्यो भने त्यसमा अमित शाहलाई गृहमन्त्री बनाइने छ । यो पनि भनिएको थियो कि त्यतिबेला उनलाई नम्बर २ को स्थान वा हैसियत मिल्नेछ । केन्द्रमा फेरि मोदीकै सरकार बन्यो, मन्त्रिमण्डल गठन पनि भयो र चर्चा भएअनुसारै शाहलाई गृहमन्त्रालय पनि मिलिहाल्यो । यसका साथै एक तरिकाले यो मानिसकिएको छ कि सरकारमा उनै २ नम्बरमा छन् । अब यसै आधारमा यो पनि भन्न थालिएको छ कि बिस्तारै बिस्तारै राजनाथ सिंह पनि तमाम अन्य वरिष्ठ र सम्मानित नेताहरुलाई जस्तै किनारा लगाइने छ । उनीबाट गृहमन्त्रालय ल्याएर शाहलाई दिनुलाई यसको शुरुवातको रुपमा लिइएको छ ।

सरकारमा २ नम्बरको हैसियतमा को होला ? यद्यपि यो एकप्रकारले स्पष्ट भइसकेको छ कि २ नम्बरको हैसियतमा गृहमन्त्री अमित शाह छन् भने सबभन्दा ठूलो प्रश्न उठ्नु स्वाभाविक छ कि त्यसो हो भने सरकारमा राजनाथ सिंहको हैसियत के हो, जो यसअघिको कार्यकालमा नम्बर २ को हैसियतमा थिए । यद्यपि, यो पनि हेर्नुपर्ने कुरा छ कि कहिल्यै औपचारिकरुपमा राजनाथ सिंहलाई २ नम्बरमा भएको बताइयो ? जवाफ आउने छैन । किनकि यस्तो कुनै व्यवस्था गरिएको थिएन । यसका अतिरिक्त अघिल्लो सरकारको पालामा पनि यस्तो चर्चा चलिरह्यो कि नम्बर २ को हैसियतमा राजनाथ सिंह हुन् कि अर्थमन्त्री अरुण जेट्ली ? अलग अलग समयमा यी दुई नै त्यो हैसियतमा रहेको जस्तो लाग्दथ्यो । तैपनि सबैले यो मान्थे कि गृहमन्त्री हुनुको नाताले राजनाथ सिंहसँगै यो हैसियत छ । त्यस्तै, यो पनि एक हिसावले सर्वविदितै थियो कि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले राजनाथ सिंहलाई एकदमै सम्मान गर्छन् र यसलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गर्दै आएका छन् । यो आधारमा बाहिरी दुनियाँमा पनि यो स्वीकार्य थियो कि राजनाथ सिंह नै नम्बर २ मा हुन् । यसमा पनि ध्यान दिनुपर्छ कि अरुण जेट्लीदेखि नितिन गडकरीसम्म कैयौं यस्ता नामहरु छन्, उनीहरुलाई सधै अगाडि राखियो र एकप्रकारले सबैलाई समान सम्मान मिलिरह्यो । शायद यही कारणले कैयौंपटक अरुण जेट्ली धेरै महत्वपूर्ण लाग्थे । यसपटक स्वास्थ्यका कारण जेट्ली मन्त्रिमण्डलमा छैनन् र अमित शाह आएका छन् । यस्तोमा यो प्रश्न धेरै महत्वपूर्ण हुन्छ कि गृहमन्त्री शाह प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो रोजाई हुन् भने के राजनाथ सिंहको हैसियतमा कुनै कमी आएको छ र उनको ओहदा घटेको छ ? यसैले अड्कल लगाउन थालिएको छ कि के अब बिस्तारै उनलाई (राजनाथ) किनारा लगाउन थालिएको हो ?

के राजनाथ सिंह वास्तवमै तेस्रो नम्बरको हैसियतमा पुगे ? यस सन्दर्भमा दुई कुरा प्रमुख लाग्छ । पहिलो यो कि के वास्तवमा राजनाथ सिंह तेस्रो नम्बरमा पुगिहाले र यसको कुनै औपचारिक घोषणा गरियो ? दोस्रो, प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंको तरिका, जसको आधारमा यी अड्कलबाजी लगाइएको छ कि उनले कसरी काम गर्छन् ? अहिलेसम्म त यस्तो कुनै घोषणा गरिएको छैन । त्यसका साथै मन्त्रिमण्डलको शपथग्रहण समारोहमा प्रधानमन्त्रीसँग राजनाथ सिंह र त्यसपछि अमित शाह बस्नुले यो भन्न थालियो कि अझै पनि सरकारमा नम्बर २ को हैसियतमा राजनाथ सिंह नै छन् । तर छिट्टै यो पनि भन्न थालियो कि यो देखाउनका लागि मात्र थियो । शुरुवातमै कुनै गलत सन्देश नजाओस र यो मानौं कि प्रधानमन्त्री नरेन्द्र मोदी अझै पनि उनलाई धेरै महत्व दिन्छन्, तर छिटै मिडियादेखि राजनीतिक विश्लेषकसम्म यो प्रचार गरियो कि कुसी भलै दोस्रो नम्बरमा लागेको भए तापनि वास्तवमा गृहमन्त्री हुनु र प्रधानमन्त्रीको अत्यन्त विश्वस्त हुनुको नाताले अमित शाह नै नम्बर २ को हैसियतमा छन् र उनै रहने छन् । उनलाई ल्याइएको नै यसैका लागि हो ।

शपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राजनाथ, त्यसपछि अमित शाह बसे । यसैलाई लिएर राजनीतिक वृत्तमा यो पनि भन्न थालियो कि बिस्तारै राजनाथ सिंह किनारा लाग्नेछन् । यसरी कुरा गर्नेहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सोच र कार्यशैलीलाई आधार मान्ने गरेका छन् । धेरैजसोले यो भन्छन् कि प्रधानमन्त्री मोदीको सोचमा कुनै दोस्रो नम्बरलाई कुनै ठाउँ छैन । उनीभित्र आफू स्वयंलाई सर्वेसर्वा मान्ने र राख्ने भावले काम गरेको छ । यस आधारमा यो पनि भनिन्छ कि उनीपछि जो हुन्छ त्यो तल नै हुन्छ । यसप्रकारका उदाहरण पनि दिइन्छ कि कसरी उनले ठूला ठूलालाई किनारा लगाए ? यसमा लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, सुमित्रा महाजनदेखि सुषमा स्वराजसम्म धेरै नामहरु छन् । यद्यपि यसका साथसाथ उनले यो पनि देखाउँदै आएका छन् कि यी तमाम ठूला नेताहरुलाई उनले धेरै सम्मान गर्दै आएका छन् । चुनाव परिणाम घोषणालगत्तै उनी आडवाणी र जोशीसँग मिले र उनीहरुको आशीर्वाद प्राप्त गरे । सुमित्रा महाजनको बारेमा उनले यस्तोसम्म भने कि पार्टीमा उनै त्यस्ता नेता हुन् जो उन (मोदी)लाई जे पनि भन्न सक्छिन् । यस्ता अनेकौं उदाहरण पाइन्छन, जसमा मोदीले जसलाई पनि अतिरिक्त सम्मान दिएको देखिन्छ । तर, कारण चाहे जेसुकै होस्, यस्तो मान्नेहरुको संख्या पनि कम छैन, जसले यो भन्छन् कि उनी (मोदी) कसैलाई पनि अगाडि आउन दिँदैनन् बरु समयभन्दा अगाडि नै उनको खुट्टा काटिदिन्छन् । यो मामिलामा केवल अमित शाहको नाम लिन सकिन्छ, जसलाई मानिसहरु एकअर्काको पूरकको रुपमा मान्छन् र यो साथ लगातार बनाइएको छ । जब नरेन्द्र मोदी उम्मेदवार बने र फेरि प्रधानमन्त्री बने तब अमित शाहलाई पार्टी अध्यक्ष बनाएर अगाडि ल्याइयो । त्यसपछि पहिले राज्यसभामा ल्याइयो र अहिले गृहमन्त्री बनाएर सावित गरिदिए कि उनी नै वास्तविक रुपमा नम्बर २ को हैसियतमा छन् ।

आरएस शुक्ल

लेखक भारतीय राजनीतिक विश्लेषक हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय