‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु

ehulaki
रासस | जेठ २३, २०७६ बिहिबार | 0

लम्की । कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ ।     
     
नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न लगाएर सामाजिक सञ्जालमा हाल्न थालेको छ । जसले स्वास्थ्यप्रति सचेत रहन सहयोग गर्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । सङ्घ र प्रदेश सरकारले पनि स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मेरो वर्ष अभियान शुरु गरेका छन् । नगरपालिकाले भने केन्द्र कार्यालय र वडा कार्यालयमा जनप्रतिनिधिका फोटोसहितका प्रतिबद्धता टासेर अभियान थालेको छ । दश बुँदामा रहेको प्रतिबद्धतामा म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म नियमित व्यायाम गर्छु, म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु भनी उल्लेख गरिएको छ ।     
     
प्रतिबद्धतामा म टाफिक नियम पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह, छाउपडी प्रथाजस्ता सामाजिक कुरीति र कु संस्कारको अन्त्य गर्दै प्रतिबद्ध रहनेछु, म हिंसा र भेदभाव गर्ने छैन र कसैले हिंसा र भेदभाव गरेको थाहा पाए त्यसको प्रतिकार गर्छु भनी उल्लेख गरिएको छ । यी १० बुँदे प्रतिबद्धता कार्यान्वयन गरेमा नगर सुन्दर र नगरवासी स्वस्थ रहन मद्दत पुग्ने नगरप्रमुख तपेन्द्र रावलले बताए । “स्वास्थ्य नै धन हो । त्यसैले नगरपालिकाले स्वास्थ्यमा बढी लगानी गरेको छ”, प्रमुख रावलले भने, “यो अभियानले धेरैलाई जिम्मेवार बनाउने छ ।”     
     
स्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले यो अभियान अब विद्यालयमा लैजाने बताए । “जिम्मेबार व्यक्तिले मदिरा सेवनजस्ता कार्य गर्दा समाज बिग्रिएको छ”, संयोजक रावलले भने, “कुलतजस्ता गलत बाटोमा लागेकालाई जिम्मेवार बनाउन र स्वास्थ्यप्रति सचेत गराउन अभियानले सहयोग गर्छ ।” नेपाली काङ्ग्रेसका नगर सचिव मोतिराम भण्डारीले नगरपालिकाले अभियानसँगै मदिरा नियन्त्रण, दुव्र्यसनी नियन्त्रण जस्ता कार्यमा कडाइ गर्नुपर्ने धारणा राखे ।     
   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय