खानेपानीका योजनाहरुमा नयाँ मोडालिटीका साथ काम गर्ने तयारीमा छौं : खानेपानी मन्त्री

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २३, २०७६ बिहिबार | 0

दाङ । खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुराउन सरकार योजना बनाएर अघि बढिरहेको बताएकी छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही  दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सहआयोजनामा तुलसीपुरमा भएको खानेपानी सञ्चालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यस्तो धारणा राखेकी हुन् ।

सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुराउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल र शहरबजारमा खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’

दाङ लगायत देशैभरिका विभिन्न सुख्खा क्षेत्रहरुमा  खानेपानीका केही ठूला आयोजनाहरुको बारेमा अध्ययन गरिरहेको मन्त्री मगरले जानकारी दिइन् । मन्त्री मगरले भनिन्, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर केन्द्र सरकारले ठूला आयोजना अगाडि बढाउन र त्यसका लागि लगानी जुटाउने विषयमा मोडालिटीको बारेमा छलफल भइरहेको छ । सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, जुन आफैंमा अति महत्वपूर्ण कुरा हो ।’

मन्त्री मगरले दाङ जिल्लालाई महत्वपूर्ण प्राथमिकता दिएर पातुखोला जस्तो ठूलो आयोजनालाई मन्त्रालयले अघि बढाउन लागेको जानकारी दिइन् । सरकारका आयोजनाहरुलाई कार्यान्वयन गर्न उपभोक्ता समितिहरुले खेलेको भूमिकाको मन्त्री मगरले प्रशंसा गरिन् । 

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले दाङ जिल्लामा पानी र सिचाईंको अभाव हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । चौधरीले दाङमा बढ्दो शहरीकरण र औद्योगिकीकरणका कारण पानीका स्रोतहरु सुक्दै गएको औंल्याएकी थिइन् । 

राष्ट्रिय सभाका सदस्य कोमल ओलीले जलवायु परिवर्तन र वातावरणको प्रभावले नेपालका पानीका मुहानहरु सुक्दै गइरहेको बताउँदै विकसित मुलुकहरूका कारण नेपालजस्तो अति कम विकसित मुलुकलाई असर पर्दै गइरहेको उल्लेख गरिन् । पानीको स्रोत संरक्षणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने सांसद ओलीले बताइन् । दाङ जिल्लामा पिउने पानीको समस्या बढ्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । प्रदेश ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दाङ जिल्लामा भूमिगत र सतहका पानीका स्रोतहरु सुक्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरे । 

दाङ जिल्लामा क्रमागत खानेपानी आयोजनाहरुको संख्या १ सय ३३ वटा रहेको र जसमा ९० वटा योजना संघअन्तर्गत र ४३ वटा आयोजना प्रदेशअन्तर्गत रहेर सञ्चालित भइरहेको  खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय