व्यावसायिक खेतीका लागि माटो परीक्षण

ehulaki
रासस | जेठ २४, २०७६ शुक्रबार | 0

खोटाङ । माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण शुरु गरिएको छ ।

गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको हो ।

गाउँपालिकाभित्रका छ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि यही जेठ १९ गतेदेखि किटबक्स विधि प्रयोग गरेर माटो परीक्षण शुरु गरिएको गाउँपालिका अध्यक्ष शङ्कर राईले बताए । “गाउँपालिकामा कृषिसम्बन्धी गुरुयोजना निर्माण भइरहेको छ”, उनले भने, “निर्माणाधीन गुरुयोजनालाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सबै वडाको माटो परीक्षण शुरु गरिएको हो ।”   

माटो तथा मल परीक्षण प्रयोगशालाको कार्यालय झुम्काको प्राविधिक टोलीको सहयोगमा हरेक वडामा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापनको काम भइरहेको जनाइएको छ । माटो परीक्षणसँगै किसानलाई माटोको प्रकृतिअनुसार उपयुक्त बालीनाली लगाउन प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय