समृद्धिको आशा गाउँदै ‘नेपाल–गाथा’

ehulaki
रासस | जेठ २४, २०७६ शुक्रबार | 0

 मीना घोरसाइने,काठमाडौँ । हे मनमोहक पर्वतमाला ! गौरवशाली उच्च हिमाल !     
शान्त मनोहर भव्य उपत्यका ! तराईका हे फाँट विशाल !     
निर्मल, कञ्चन जलका धारा गण्डकी, कोशी गर्दछन् गान     
सुन्दरताको खानी भएको वैभवशाली देश महान् !

आरोहअवरोहका साथ विकास भएको नेपालको इतिहास अहिले समृद्धितिर उन्मुख भएको कथाका साथ ‘नेपाल गाथा’ गीतिनाटक सोमबार राष्ट्रिय नाचघरमा प्रस्तुत गरियो । साहित्यकार तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली‘शीतविन्दु’को लेखन र प्राज्ञ डा देवी नेपालको सहलेखनमा प्रस्तुत ऐतिहासिक गीतिनाटक नेपालको गीतिनाटकको इतिहासमा कोशेढुङ्गा भएको छ ।

बुटवलमा भेटिएको तीन हजार एक सय वर्ष पुरानो रामापिथेकसको कङ्कालबाट नै इतिहास शुरु भएको अनुमान गरिएको छ । लिच्छविकालदेखि लिखित इतिहास भेटिए पनि त्यसभन्दा अघि गोपाल र किराँतले शासन गरेको पनि पाइएको छ । लिच्छविकालमा बनेको कैलाशकूट भवन एकदमै भव्य रहेको इतिहासमा उल्लेख भए पनि कहाँ थियो भन्ने भग्नावशेष भेटिँदैन ।

गौतमबुद्धको बुद्धत्वबाट यहाँको उचाइ चुलिएको छ । कपिलवस्तुका राजा शुद्धोदनका सुपुत्र सिद्धार्थमा कहिल्यै राज्यमोह रहेन । बुद्धत्व प्राप्तिका लागि नै उनले पत्नी यशोधरा र पितासँग बिदा मागेर हिँडे । दुःखको कारणबारे बुद्धत्व प्राप्त गरिसकेपछि उनका थुप्रै अनुयायी बने र उनको ज्ञान बाँड्न विश्वका थुप्रै देशमा उनीलगायत उनका अनुयायी पुगे ।

लिच्छविकालमा विभिन्न कलासंस्कृतिको विकास भएको थियो । त्यसपटि मल्लले नेपाली कला संस्कृतिलाई उचाइ थप्ने काम गरे । मल्लकालपछि शुरु भएको शाहकालमै नेपाल एकीकरणको कामलाई जोड दिइएको थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले अङ्ग्रेजको आक्रमणबाट देशलाई जोगाउन राज्य एकीकरण हुनुपर्ने आवश्यकता महसुस गरेका थिए । उनले नेपालमण्डल, बाइसेचौबीसे, चौदण्डी, मकवानपुर आदिमा विभक्त नेपाललाई एकीकरण गरेका थिए । उनको एकीकरणको कामलाई उनका छोरानातिले पनि निरन्तरता दिएका थिए । बलभद्र कुँवर, भक्ति थापालगायत योद्धाले सो समयमा राज्य एकीकरणमा योगदान पुर्‍याएका थिए । त्यसपछि कोतपर्वका साथ राणाकाल शुरु भयोः
औँसी झैँ कालो नि यो जङ्गे शासन तर्साउँछ रातीमा     
बोलेमा जिब्रो नि थुतिन्छ गोली बर्सिन्छ छातीमा     
भयो कोतपर्व नि भण्डारखाल पर्व लासै भो खातैखात     
राणालाई मात्रै नि स्वर्ग भो देश हाम्लाई त कालो रात ।

राणाकालमा जनताले कहिल्यै स्वतन्त्रताको अनुभूत गर्न पाएनन् । राणाले जे भन्छन्, सोही अनुरुप नै जनता चल्नुपर्थ्यो । ‘मकैको खेती’ नामक पुस्तक लेखेकै कारण कृष्णलाल अधिकारीलाई राणा प्रधानमन्त्री चन्द्रशम्शेरले कारागारमा सडाए । राणाकालको अन्त्यका लागि योगमायाको सुधार अभियान पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । आफ्नो अडानलाई नमानेपछि उनले आफ्ना अनुयायीसहित जलसमाधि लिएकी थिइन् । राणाशासनको ज्यादती बढी भएपछि धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द आदिले पनि शहादत दिए ।

विसं २००७ मा १०४ वर्षीय राणाशासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएपछि जनताले स्वतन्त्र भई बाँच्न थालेका थिए । विसं २०१५ को आमनिर्वाचनपछि बिपी कोइराला प्रधानमन्त्री भएपछि जनतामा थप उत्साह बढे पनि त्यो धेरै समय टिक्न सकेन । विसं २०१७ पुस १ गते प्रजातन्त्रको हत्या गरी राजा महेन्द्रले राज्यको सम्पूर्ण शक्ति आफ्नै हातमा लिई निर्दलीयता चलाए । राजनीतिक सङ्गठन गर्न पाइन्नथ्यो । त्यसै क्रममा २०२९ सालमा भएको झापा आन्दोलनलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । त्यतिपछि किसानले पनि आन्दोलन गरे ।

पञ्चायतको उत्कर्षपछि २०४६ सालको जनआन्दोलनपछि संसदीय बहुदलीय व्यवस्था स्थापना भएको थियो । सोही कालमा उदीयमान नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको अवसान भयोः

सिमसिमे झरी आकाशैभरि बादल गर्जिन्छ     
खै किन किन उदास दिन छ त्रिशूली सुसाउँछ     
एक्कासि खस्छ त्रिशूली भेलमा चढेको पजेरो     
खै किन भयो घाम छँदै आज निष्पट्ट अँधेरो !     
राष्ट्रको दियो खसेको थियो उर्लंदो पानीमा     
कुन पापी आई रोप्यो नि झीर आँखाको नानीमा     
त्रिशूलीभन्दा ठूलो भो भेल जनताको आँशुको     
देशका वैरी हाँस्दैछन् आज अन्त्य भो खुशीको ।

संसदीय व्यवस्था परम्परागत ढङ्गले चल्दै गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले भूमिगत भएर सशस्त्र युद्ध थाल्यो । यही बीच राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सात राजनीतिक दल र माओवादी मिलेर २०६२÷०६३ को आन्दोलनको नेतृत्व गरे । द्वन्दकाल र जनआन्दोलनमा हजारौंँ जनताले ज्यान गएको थियो । दोस्रो जनआन्दोलनको उपज देशमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भयो । विसं २०७२ मा गएको भूकम्प नेपालको

राजनीतिमा एक अर्को कोशेढुङ्गा भयोः     
वैशाख महिना पालुवा होइन प्रलय पलायो     
त्यो धरहरा, त्यो काष्ठमण्डप, छिनमै ढलायो     
घर थियो एउटा गौँथलीसरि दुःखले अर्जेको     
के थियो गल्ती किन प्रकृति बेस्सरी रिसायो ?     
     
हे धर्तीमाता ! के भयो तिम्लाई काँपेको काँप्यै छ्यौ ?     
घरभित्र पनि घरबाहिर पनि च्यापेको च्याप्यै छ्यौ     
कहाँ होलिन् कठै ती बूढी आमै नाति थ्यो काखैमा     
जहान प्यारी झलझली आउँछिन् हररात आँखैमा     
     
सङ्कटमा देश एउटै बन्यो विश्वले सघायो     
युगले साँच्चै समानताको पाठ नै पढायो     
भत्के नि हाम्रा शहर र गाउँ भरोसा भत्किन्न     
खरानीबाटै उमार्छौं जीवन विश्वास रित्तिन्न ।

भूकम्पछि नेपालको संविधान बनी मुलुक समृद्धितिर लागेको आशा देखाएर कविले उज्यालो नेपालको सम्भावना देखाउनुभएको छ ।

नाटकमा देशको भाषा, संस्कृति, रहनसहन र कला आदिलाई समेट्ने प्रयत्न गरिएको थियो । कुन समयमा जनताले कस्तो अनुभव गरेका थिए भन्ने भावलाई सोही नाटकमार्फत चित्रण गर्न खोजिएको थियो । नाटकमा वास्तविकता प्रस्तुत गर्ने किसिमबाट सन्दर्भ सुहाउने तस्बीर र छायाङ्कन समेत देखाइएको थियो । प्राज्ञ अशोक राईले १६ दिनमै रातबिहान नभनी पूर्वेली, सङ्गिनी, पालम, साकेला, भोजपुरी, नेवारी, सेलो, सालैजो, डेउडा, हुडकेली लय, हिमाली लय, भजन र रागमा आधारित आधुनिक सङ्गीत नाटकमा प्रयोग गर्नुभएको थियो ।

नाटकका रचयिता शीतविन्दु विगतको इतिहासलाई बिर्सिएमा भविष्य नबन्ने बताउछन् । उनी भन्छन् । “इतिहास बिर्सने राष्ट्रको भविष्य सम्भव छैन ।”

गीतिनाटकको निर्देशन वीरेन्द्र हमालले गरेका हुन् । नाटकमा नृत्य निर्देशन गोरन चौधरी र सहनृत्य सवनम सिलवालको थियो ।     
  
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय