तरकारीमा विषादीको जथाभावी प्रयोग

ehulaki
रासस | जेठ २४, २०७६ शुक्रबार | 0

पर्वत । जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् ।

छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् । जलजला–८ फर्सेका अगुवा किसान राजन सापकोटाका अनुसार विषादीको प्रयोगबारे अधिकांशलाई थाहा छैन भने केहीले थाहा पाएर पनि हेलचक्र्याइँ गर्छन् ।

“यहाँका ७० परिवारले व्यावसायिक तरकारीखेती गर्छन्”, सापकोटाले भने, “सबैले विषादीको व्यवस्थित प्रयोग गर्दैनन् । कतिले विषादीलाई पानी जस्तै ठानेर प्रयोग गरेलगत्तै तरकारी टिपेर बिक्री गर्छन् ।” ढुसीनाशक विषादी तरकारीमा छरेपछि कम्तीमा ४९ दिन पर्खनुपर्छ ।

“कसैले विषादी छर्किंदाछर्किंदै बीचमै हिँड्छन् । चर्को घाममा नहालभन्दा मान्दैनन् । कुन कीरालाई के हाल्ने भन्ने जानकारी छैन”, सापकोटाले भने । स्थानीय अर्का दीपक केसीका अनुसार तरकारीमा विषादी प्रयोग गर्दा मास्क, पञ्जा र अनुहार ढाक्ने गरी कपडा लगाउनुपर्छ । तर कसैले यसलाई पालना गर्दैनन् ।

प्राविधिकले समयसमयमा विषादीको प्रयोग र यसबाट हुने असरबारे जानकारी गराउनुपर्नेमा त्यसो हुन नसकेको किसानको गुनासो छ । तरकारीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पार्ने बाली संरक्षण अधिकृत नारायण पौडेलले बताए ।

नेपालमा सूचीकृत गरिएका विषादीको सङ्ख्या १३९ प्रकारका छन् । विषादीको असर कृषि उपजको उत्पादकत्व र वृद्धिको अनुपातका आधारमा हुन्छ । छिटो बढ्ने बालीमा असर छिटो सकिने र ढिलो बढ्ने बालीमा विषादीको असर ढिलैसम्म रहन्छ ।

बालीको उत्पादन समयलाई आधार मानेर विषादीको प्रयोग गर्नुपर्ने भए पनि किसानले ख्याल नपुर्‍याउँदा असर पर्ने प्राविधिक बताउछन् । “तत्काल असर देखिँदैन भनेर विषादी हालेको एक दुई दिनमै टिपेर बजार लैजान्छन्”, ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले भने, “त्यसले उपभोक्तालाई भन्दा किसानलाई बढी असर गर्छ ।” सबैजसो विषादीको प्रगोगपछि पर्खनुपर्ने समय तीन दिनदेखि तीन महीनासम्म हुन्छ ।

कार्बोफ्युरानजस्तो सामान्य विषादी छर्किंदा पनि तीनदेखि पाँच दिन पर्खनुपर्नेमा एक÷दुई दिनमै तरकारी बजारमा बिक्री गर्ने प्राविधिक बताउँछन् । “तरकारीको व्यावसायिक खेती गर्ने किसानलाई वर्षमा एक÷दुईपटक विषादीबारे प्रशिक्षण दिएकै हुन्छौँ”, पौडेलले भने, “सिकाएको कुरा कसैले मान्दैनन् ।” कतिपय किसान आफूले खाने तरकारी छुट्टै जमीनमा लगाउने र त्यसमा विषादी प्रयोग नगर्नेसमेत पाइएको उनले बताए ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय