न्यारो बडीमा झन ठूलो भ्रस्टाचार : काण्डै काण्डमा निगम

ehulaki
----------------- | जेठ २५, २०७६ शनिबार | 0

काठमाडौं । वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ। नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ।

ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन्। असार १४ र साउन १० मा भित्र्याएका ए३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनियमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ। वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो। बैठकमा न्यारो बडीका विषयमा पनि गहन छलफल भएको एक सहभागीले बताए।

समितिले वाइड बडी खरिद छानबिन गर्न दीपकप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो। उपसमितिमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराँती सदस्य छन्।

उपसमितिले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन वैशाख २० गते नै समिति सभापति पवित्रा निरौलालाई बुझाएको थियो। प्रतिवेदनमाथि शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पूर्ण बैठकमा छलफल सुरु भएको हो।

निगमले २०६६ कात्तिकमा एयरबसँग न्यारो बडी जहाज खरिद गर्ने सम्झौता गरेको थियो। त्यसअनुसार पाँच करोड रुपैयाँ बैनामार्फत एयरबसलाई पठाएको थियो। जहाज खरिदको स्रोत सुनिश्चित नगरी उक्त समयमा बैना रकम पठाएको विषय विवादमा परेपछि एयरले पैसा फिर्ता गरेको थियो। सोही समयको रकमलाई आधार मानेर एयरबससँग २०६९ सालमा अर्को सम्झौता भएको र उक्त सम्झौताअनुसार निगमले २०७१ माघमा पहिलो र २०७२ वैशाखमा दोस्रो न्यारो बडी भित्र्याएको थियो। राजु बास्कोटाले आजको अन्नपूर्ण पोस्टमा यो समाचार लेखेका छ्न ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय