शतप्रतिशत खानेपानी सेवाका लागि मन्त्री बिना मगर र विश्व बैंकका प्रतिनिधिबीच छलफल

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २५, २०७६ शनिबार | 0

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र ३ वर्षभित्र शतप्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुराउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग गरेकी छन्।

विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा खानेपानी मन्त्री मगरले खानेपानीका नयाँ योजनाहरुमा थप सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेकी हुन् । सरकारले शतप्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको सेवा पुराउनुपर्ने भएकाले थप लगानीको आवश्यकता परेको बताइन् ।

भेटघाटमा मन्त्री मगरले भनिन, ‘२०३० सम्ममा सबै जनसंख्यालाई प्रशोधित स्वच्छ खानेपानीको पहुँच पुराउनुपर्ने चुनौती सरकारसँग छ । चुनौतीका बीच केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दिगो विकासका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने जरुरी छ । यसका लागि देशैभरि हामीले खानेपानी र सरसफाईको गुरुयोजना बनाउँदैछौं ।’

ग्रामीण भेगका जनताले अझै पनि घण्टांै लगाएर पानी लिन जानुपर्ने स्थिति रहेको बताउँदै मन्त्री मगरले ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विश्व बैंकको थप महत्वपूर्ण सहयोग आवश्यक रहेको बताइन् । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) लाई अझ सशक्त बनाएर लैजान चाहेको उनले स्पष्ट पारिन् । पहुँचको आधारमा योजना छनौट नगरी सबै क्षेत्रमा समान रुपले योजना छनौट गर्ने र कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको मन्त्री मगरको भनाई थियो । 

विशेषगरी तराई भेगमा खानेपानीमा आर्सेनिकको मात्रा बढ्दै गएको भन्दै उनले यो समस्यालाई एकैचोटी हल गर्ने तयारीमा मन्त्रालय रहेको बताइन् । ग्रामीण क्षेत्र जस्तै सहरी क्षेत्रको खानेपानी आयोजनामा समेत विश्व बैंकलाई सहयोग गर्न मन्त्री मगरले आग्रह गरिन् । 

नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न विश्व बैंक सधैं सहयोग गर्न तयार रहेको उल्लेख गरिन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच आयोजनालाई अगाडि बढाउने दिशामा समन्वय भएर जान सके अझ राम्रो हुने उनको भनाई थियो ।   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय