नेपालमा अध्यात्म पर्यटनको खोजी

ehulaki
----------------- | जेठ २५, २०७६ शनिबार | 0

सिबी अधिकारी

काठमाडौँ । विश्वलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङ, मनास्लुलगायतका हिमशृङ्खला तथा पदयात्रा नेपालको पर्यटकीय आकर्षण हुन् । अर्कोतर्फ अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा आदिले नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य रहँदै आएको छ ।

नेपालको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, पुरातात्विक सम्पदा मात्र हैन, जैविक विविधता, स्थानीय जनजीवन, जाति तथा समुदायको रहनसहन पर्यटकीय आकर्षण बनिरहेका छन् । नेपालमा साहसिक पर्यटनमात्र हैन अध्यात्म पर्यटन ‘स्प्रिचुवल टुरिज्म’ को सम्भावनालाई उजागर गर्ने प्रयास पनि थालिएको छ । 

हिमालयको देश नेपाल आफैँमा अध्यात्म पर्यटनको उपयुक्त थलो हो । ऋषिमुनिले तपस्या गरेको, पवित्र धार्मिक तीर्थस्थल अध्यात्म पर्यटनलाई पहिचान गराउने आधार हुन् । त्यसैले, नेपाललाई एकै प्रकारको पर्यटन मात्र हैन विविध पर्यटकीय सम्भावनालाई विश्व बजारमा प्रस्तुत गर्न यस पटक अन्तर्राष्ट्रिय रुपमा अध्यात्म पर्यटनको अवधारणा अघि सारिएको छ ।

नेपाली पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो इभेन्टका रुपमा लिइने हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको जारी सम्मेलनमा अध्यात्म पर्यटनको विषयलाई विशेष प्राथमिकताका साथ छलफल गरिएको छ ।

यही जेठ २३ देखि काठमाडौँमा शुरु भएको मार्टमा अध्यात्म पर्यटनबारे छिमेकी मुलुक भारत तथा भुटानजस्ता मुलुकबाट प्रसिद्ध धर्मगुरुले प्रवचन दिनुका साथै अध्यात्म पर्यटनलाई कसरी स्थापित गराउने भन्नेबार बहस चलाइएको छ । सम्मेलनको मुख्य शत्र शुक्रबार अध्यात्म पर्यटनबारे अन्तरदेशीय छलफल गरिएको छ । 

‘स्प्रिचुवालिटी फ्रम टप अफ दी वल्र्ड’, ‘स्प्रिचुवल टुरिजम इन दी हिमालय’ शिर्षकमा विज्ञहरु एलबी भानु शर्मा, वैद्यधारा आचार्य, महायोगी श्रीधर राना रिम्पोचेले अध्यात्म पर्यटन र नेपालको सम्भावनाबारे प्रस्तुति गरेका थिए ।  चर्चित भारतीय अध्यात्म गुरु श्री शिभकृपानन्द स्वामीले विशेष प्रवचन दिनुभएको थियो ।

कार्यक्रमको संयोजन गर्नुभएका पूर्व पर्यटनसचिव दीपेन्द्र पुरुष ढकालले अध्यात्म पर्यटनको पनि नेपालमा अपार सम्भावना छ र विश्वले यस क्षेत्रबाट अर्बौं आम्दानी गरिरहेको सन्दर्भमा नेपाललाई कसरी यसतर्फ लैजाने भनेर छलफल गरिएको जानकारी दिए ।

अन्य क्षेत्रजस्तै अध्यात्म पर्यटनबाट पनि नेपालले धेरै पर्यटकलाई आकर्षण गर्न सक्ने भएकाले सोहीअनुरुपका प्रवद्र्धनात्मक गतिविधिलाई प्राथमिकतामा राखेर प्रचार गर्न जरुरी भएको उनले उल्लेख गरे । “यस पटक विशेष गरी लिटीबाट पनि टुरिज्मको क्षेत्र ठूलो छ, मान्छेले अर्बो डलरको व्यापार गरेको विश्व उदाहरण प्रस्तुत भएको छ । 

त्यसकारण यसबाट पनि धेरै पर्यटक भित्र्याउन सकिन्छ विश्वको अनुभवलाई सिक्ने अवसर सम्मेलनले दिएको छ, यसलाई व्यवसायसँग गाभेर दिगो पर्यटनको लक्ष्य हासिल गर्न बाटो खुलेको छ”, पूर्वसचिव ढकालले भने । सम्मेलनमा उत्तरदायित्वपूर्ण पर्यटन तथा दिगो पर्यटनलाई विश्वव्यापी रुपमै कसरी स्थापित गराउने भन्नेबारे छलफल गरिएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस पटकको मार्टको साहसिक पर्वतीय गन्तव्य भन्दापनि अध्यात्म पर्यटनकोे खोजी गर्न सम्मेलन असाध्यै प्रभावकारी भएको बताए ।

अध्यात्म गुरुहरुले गरेको प्रस्तुतिले नेपाल अब साहसिक मात्र हैन अध्यात्म पर्यटनको महत्वलाई पनि विश्वमाझ उजागर गर्न र अन्य मुलुकको ज्ञानलाई आदन प्रदान गर्न सफल भएको उनको भनाइ थियो ।    

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा नयाँ गन्तव्यको प्रवद्र्धनमा मार्ट  उपयोगी थलो भएको बताए ।

सम्मेलनमा उत्तरदायी तथा दिगो पर्यटन अनुभवबारे वल्ड ट्रेल नेटवर्कका संस्थापक अध्यक्ष गलिओ साइन्टिज, अन्तर्राष्ट्रिय एयरलाइन्स एम्बेस्डर नेन्सी रिभार्ड, पूर्वसचिव डा  सुधा शर्मालगायतले प्रस्तुति गरेका थिए ।

त्यस्तै ‘डिजिटल ट्रान्फरमेसन न्यू ट्रेन इन टुरिज्म एन्ड हस्पिटालिटी’ विषयमा व्यावसायिक ट्राभल ब्लर्गस एशोसिएशनका अध्यक्ष जानिक हसन, विज्ञ विलियम भाजकुइज, पाटा अन्तर्राष्ट्रिका सञ्चार मामिला निर्देशक पउल पुरुनजकर्नले प्रस्तुति दिएका थिए ।
    
बेलायतबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रसिद्ध पर्वतारोहीे डुग स्कोटले मुख्य वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गरेका थिए । ‘स्पीड अफ दी हिमालय’ भन्ने मूल नारासाथ आयोजित सम्मेलनमा नेपालसहित ४३ देशका करीब ७०० को सहभागिता छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गरेको हो । मार्टअन्तर्गत यस पटकको व्यवसायीसँग व्यवसायी (बीटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ वटा मुलुक ९नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड० बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय