अलिकति मेयर द्वारिकलाल र पत्रकारिताको कुरा

ehulaki
नरेन्द्रजंग पिटर | जेठ २५, २०७६ शनिबार | 0

पदविहीन आदर्शका गफ छाँट्नु र पदासीन जोखिम उठाएर बहतीधाराको विपरीत जान सक्नु फरक विषय हुन् । उपसचिव टंक सञ्याल सार्वजनिक चुनौती दिन्छन्, अख्तियार लगाइन्छ । विद्युत–हाकिम कुलमान घिसिङसँग बिजुली रकम नतिर्ने सुकिला कपडाका ‘अपराधी’ नाम सार्वजनिक गर्छन् तब सरकारी सांसद संसदीय बहस बनाउँछन् । स्थानीय तह भ्रष्टाचारको केन्द्र बनिरहेको अवस्थामा इटहरीका मेयर द्वारिकलाल चौधरी भिन्न देखिन्छन्, तब आवेगमा ल्याई मिडिया विषय बनाइन्छ । उनीहरुका भूमिकाले अझै प्रलयको दिन आएको छैन भन्ने सन्देश हो । नसकेको र सिण्डकेट भ्रष्टाचार खतरनाक खेल हो । यो समय सहाराहीनका अभिभावक बन्ने चौथो अंग चुत्थो अंग बन्नुहुँदैन भन्ने र सत्ताको मिडियाविरोधी विधेयक मिडिया बहस हो ।

मेयर चौधरीको राजनीति र संलग्नताप्रति मेरो कुनै सरोकार र सामिप्यता छैन्, चिन्दिन पनि । सिण्डिकेट नै चलिरहेको अवस्थामा अझ केन्द्रीय तहले आत्मसात गरिरहेको, संरक्षक बनिरहेको, नीतिगत नै महाभ्रष्टाचार संस्थागत भइरहेको अवस्थामा उनको सार्वजनिक चुनौती चानचुने हैन । बालुवाटार जग्गा प्रकरण सत्ताको कुरुप अनुहार हो । मेयरको पदीय हैसियतले आवेगी शब्द सन्तुलनमा ध्यान दिन भने सकेनन् । मिडियाले अंशमा खेल्यो, कारकपक्षमा ध्यान दिएन । नाङ्गो वास्तविकता सामना गर्न नसक्नेले तर्कका खेती गर्दै मेयरका पछाडि लागे । सभ्रान्तहरूले जस्तो ‘सुसंस्कृत’ भाषा जनजाति, आदिवासी र भुइँमान्छेले प्रायःजसो बोल्दैनन् । रीत पु¥याएर कुटनैतिक र कानुनी भाषा नबोली सिधा र स्पष्ट बोल्नु उनीहरुको विशेषता हो । अदालती भ्रष्टाचारको विषय उठाउने कानुन मन्त्री शेरबहादुर तामाङ शब्द चिप्लिदा त्यस्तै शिकार भए । सत्ता जय नेपाल वा लाल सलामको भए पनि चरित्र अहिले पनि हुजुरिया र वर्चश्वशालीकै हो । नेपाली राजकीय–सत्ताका मिडिया सौन्दर्य इलिटवादी छ । कारण खोज्दैन, परिणामको अंशमा खेल्छ । सरकारी नेकपाका शंकर पोखरेल र योगेश भट्टराईलगायतका माफी हुकुम यसैको परिणाम हो । नैतिक पूँजी र इच्छाशक्ति पछाडि नसोच्ने नेपाली इलिटहरुको मेयर चौधरीले कट्टु उतारिदिए । आफनो यो जुझारु हैसियत यही राज्य संरचनाभित्र कतिञ्जेल बचाउन सक्ने हुन् ? अब उनीसामुका स्वचुनौती हुन् । सभ्यताका पाठ सिकाउनेलाई पाठ सिकाए । कानुनमा टेकेर कानुन निर्माण गर्दै नयाँ कानुन पालन गर्नु÷गराउनु युगान्तकारी हुन्छ । त्यसैले कलंंकहीन मान्छे कानुनको घेरामा मात्र सीमित हुँदैनन् । 

आवाजहीनको आवाज बन्ने मिडिया राज्यको चौथो अंग चुत्थो अंग बन्नै हुँदैन । जब बन्छ तब राज्य स्वेच्छाचारी बन्छ भने निर्धाका आवाज सपनाको आशाभन्दा पत्रकारकै औकात र आदर्श थाम्न सक्दैन । त्यस्तो बेला पत्रकारले अर्को पेशा रोज्नु पर्छ । थोरै मात्र क्षमतावान अझै यस पेशामा टिकेका छन् । सत्ताको चाकडी, अपराधीसँगको मोलतोल र बिचौलिया मिडियाकर्म हुँदै हैन । यस्ताले मिडियालाई चुत्थो अंग बनाउन हौंस्याउछन्, मद्दत पु¥याउँछन् । आफना कृत्य बाहिरिन्छन् भनेर कुकृत्यको मतियार पनि बन्न पुग्छ ।  नेपाली मिडियामा दुर्ई वर्ग छन् १. राज्यको चौथो अंग २, चुत्थो अंग । बजारमा चुत्थोको हालीमुहाली छ । मिडियालाई राज्य र आपूmलाई शासक सोच्ने धेरैजसो पत्रकार उनीहरुलाई नै रोल मोडल बनाइरहेका छन् । बजारु नेता उनैको समाचार स्रोत बनिदिन्छन् या पार्टीका झोलेको । पत्रकार नेतृत्वमा पार्टी नेता, कार्यकर्ता नै महासंघको नेतृत्वमा पुग्छन् । मेयर चौधरीको विषयले स्वयं पत्रकारलाई घर पुगेर  अनुहार ऐनामा हेर्न र निर्मम समीक्षा गर्न प्रोत्साहित गर्छ ।

कर्पोरेट चाकरी मिडिया र वृत्तिलेखन, एनजिओ लेखनले मिडियाको हुर्मत काढेकै छन् ।  भारतीय प्रतिपक्षहरुले त्यसै करपोरेट गोदी मिडिया बहिस्कार चलाएका हैनन् । फेक न्यूज र प्रायोजित न्यूजको पीडामा परेकाहरुको प्रतिक्रिया मेयर चौधरीका आवेगी प्रतिक्रिया बुभ्mन मिडिया स्वतन्त्रताका कुरा उठाउने वा सम्भ्रान्तहरुले कारकपक्ष नियाल्न फुर्सद वा जाँगर चलाउदैनन् । कुरा मिलाएर नबोले पनि इटहरीका मेयर चौधरीको कुरामा धेरै दम छ । मिडियाकर्मी महामानव हैनन् । यही समाजका उपज हुन् । एकपटक राम्रै तरिकाले ऐना हेरे हुने  । मेयर चौधरीका– ‘बरु खेती गर्छु, माफी माग्दिन’ भन्ने कुरा  पदीय दम्भमा नभई कुन नैतिक साहसले उनले त्यो भने ? नेपाली मिडियाजन खोज !  यही बहानामा नेपाली पत्रकारिताभित्रका गम्भीर विषयमा बहस होस् । भीडले सत्यता हाँकिनु हुँदैन । समग्र पत्रकारको ठेक्का अरुले लिनै सक्दैनन् । जो पेशालाई माध्यम बनाएर आपूmलाई चतुरे र महान बनाउँदै छद्म व्यवसाय चलाइरहेको हुन्छ, ती झस्के हुन्छ  । आदर्शका खास्टो ओढेर तिनै मात्र डरमग्न हुन्छन् । भूषण यादव वीरगञ्जबाट लेख्छन्, ‘पत्रकारले प्रहरी चौकीबाट महिनावारी लिएको उजुरीपछि एउटा टोली वीरगञ्ज आएको छ, छानबिनको लागि । २६ जना पत्रकारमाथि उजुरी परेको छ ।’ सर्पको खुट्टो सर्पले देखेको हुन्छ । प्रेस काउन्सिलमा दैनिक थुप्रिने पत्रिका, सूचना विभागका प्रेस पास, लोककल्याण्कारी विज्ञापन र पाउने पत्रिका, सामान्य औकातका पत्रकारहरुका आलिशान महल, लक्जरी गाडी र जीवन शैलीले धेरै कुरा भनिरहेको हुन्छ । कर्पोरेट इशारामा लेखिएका ब्यानर, सम्पादकीयले सामान्यजन र सहज बुद्धिले यसलाई ठम्याउनै सक्दैन । ‘वाच डग’ नै ‘वाच’मा परेपछि हमाम मे सब कोई नंगा । राजनीतिजस्तै मिडियामा पनि भीडमा एक्लै हिड्ने साहस र औकात सबैमा हुँदैन । 

अन्तमा,
१. पत्रकार महासंघको सदस्यता संख्या ? सूचना विभागको प्रेस पास संख्या ? किन गम्भीर खाले पत्रकारहरुले महासंघको सदस्यता लिइरहेका छैनन्  ? अभिभावक सोच्नुपर्ने पत्रकारलाई एक सामान्य मान्छे किन आतंक सोच्छ ? कुनै दिन आन्दोलन बन्ने पत्रिका अहिले आप्mनो औकात धान्न किन सकेका छैनन् ? पेशाको गौरव किन घटिरहेको छ ? के पत्रिका चलाएको, प्रेस पास लिएको, महासंघ सदस्य भएकै नाममा उसले जेजसो गर्न पनि छुट पाउँछ ? महासंघ सदस्य र प्रेस पासवाहक अहिले सार्वजनिक जीवनमा कति पत्रकार छन् ?

२. औपचारिक वा अनौपचारिक संवादमा हरेक मान्छे शिष्ट र मर्यादित हुनुपर्छ । जतिसुकै तर्कपूर्ण कुरा पनि अमर्यादित तरिकाले बोल्न मिल्दैन । गएको बोली बन्दुकको गोलीझै फर्कदैन । लातको देवता बातले मान्दैन ।  अझै शासकीय चिन्तनले मैमत्त भएकाहरु जनजाति, थारु, मधेस, दलित, महिलालाई हेप्नु  अधिकार सोच्छन् । बुझेका मेयर चौधरीको पदीय दायित्वले अझ गम्भीर हुन माग गर्छ । 

३. उनी मेयर बनेको राज्य संरचनामा को जग भ्रष्टतामा खडा भएको छ ? उनी त्यसको जगमा छन् । यो आवेग र विद्रोहलाई उनको पार्टीले सहयोग, समर्थन गर्नसक्ने अवस्थामै छैन । पार्टी आधार नै भ्रष्ट छ, । वैचारिक भ्रष्टता पहिलो पक्ष हो । इटहरीबाट ‘साँस्कृतिक क्रान्ति’को थालनी भनिएकोमा पहिलो भक्षक उनकै पार्टी बन्नेछ या उनले सम्झौता गर्नु पर्नेछ या खेती गर्न जाने अठोट गरे हुन्छ । अल्पकालकै भए पनि चुच्चे टोपीविरुद्ध उनले चोटिलो प्रहार गरेको कुरा नौरंगी भ्रष्टाचारीहरु एकगठ भएर तर्क कोरल्दै छन् । त्यसले उनको यस कदम ठिक छ भन्ने हुन्छ । वर्चश्वशाली समूहको नेतृत्व बालुवाटार जमिन नाइकेहरुले गरेका छन् । शिकार बन्ने कि आत्मसमर्पण गर्ने कि या स्वाभिमान बचाउने ? मेयरसामुका अबका चुनौति हुन् । धेरै सम्भावना यसै राज्य संरचनाले उनलाई पचाइदिने छ ।

पक्षधरता अनुसारका प्रतिक्रिया स्वभाविकै हुन्थे, हुन्छन् पनि । चोरको खुट्टो काट् भन्दा उचाल्ने भ्रष्टहरुले तर्कका खास्टो ओढ्ने भए नै । ‘किसी को गाँ....मे, मिर्ची लगे तो ...मै क्या करु ?’
 

नरेन्द्रजंग पिटर

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय