‘जनताको खुशी नै प्रदेशको समृद्धि’ : कानूनमन्त्री  केसी

ehulaki
रासस | जेठ २५, २०७६ शनिबार | 0

रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जनतासामु गरेका वाचा पूरा गर्न शुरुवात गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलले आज बुटवलमा आयोजना गरेको पत्रकार सांसद अन्तरक्रियामा उनले सरकारको भविष्य जनतासँग जोडिएकाले जनताको खुशी नै प्रदेशको समृद्धि भएको धारणा राखे ।

उनले प्रदेशका जनता र मिडियाको साथले सरकारले उपलब्धि हासिल गर्न सफल भएको बताए । “पहिलो वर्ष कठिनाइका बाबजुद उपलब्धि उच्च आर्थिक वृद्धिदर हासिल गर्‍यौं, अब जनतासामु गरेका वाचा पूरा गर्नेगरी काम अगाडि बढाउँछौ”, मन्त्री केसीले भने ।

उनले संसद् विकास कोषले व्यक्तिलाई हाबी बनाउने भएकाले संसदीय दलले नलिने निर्णय गरेको स्पष्ट पारे । उनले प्रदेश संसदीय दलले गरेको निर्णयले सही अर्थमा सङ्घीयता कार्यान्वयनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले संसद् विकास कोषको आलोचना भएका कारण जनताको भावना बुझेर नलिने निर्णय गरेको स्पष्ट पारे । संसदीय दलका सचेतक पार्वती पुनले प्रदेशसभाले जनताका पक्षमा कानून बनाउने प्रयास गरेकाले सबैका सुझाव र सल्लाहअनुसार अगाडि बढ्ने बताए ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, डिआर घिमिरे, पत्रकार विष्णु घिमिरे, प्रदीप आचार्य, दिनेश पाण्डे, रेखा भुषाल, दीपेन्द्र बडूवाल, केशव भण्डारी, विनोद परियार लगायतले प्रदेशले बनाएका कानून र गरेका कामबारे सञ्चारसँग समन्वय गरी जनतासमक्ष पुर्‍याउन सुझाव दिए ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय