युरिया मल अभाव

ehulaki
रासस | जेठ २५, २०७६ शनिबार | 0

हेटौँडा । मकवानपुर जिल्लामा मकै खेती र चैते धानका लागि युरिया मलको अभाव भएको छ ।

मल अभावका कारण किसानहरुको कृषि उत्पादनमा ह्रस आउने डरले चिन्तित छन् । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रहरुमा मल खरीद गर्न जाने किसान रित्तै फर्किने गरेका छन् । जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री संस्थान र साल्टट्रेडिङसँग युरिया मलको मौज्दात नरहेका कारण समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

कृषि सामग्रीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताइन् । मलका लागि बोलपत्र आह्वान भई आयत प्रक्रिया पनि पूरा भइसकेकाले हेटौँडामा एक हप्तासम्ममा आइपुग्ने जानकारी दिइन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पनि मल अभावको गुनासो धेरै आएको बताए ।

चालू आर्थिक वर्षमा मकवानपुरमा अहिलेसम्म एक हजार ६०० मेट्रीकटन मल खपत भइसकेको र थप दुई हजार ३०० मेट्रीकटन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री संस्थानले जनाएको छ । त्यस्तै जिल्लामा पोटास र डिएपी मल पनि अभाव भएको छ ।

मनहरीमा पुल निर्माण

मनहरी गाउँपालिका–६ कत्लेमा निर्माणधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । वडा नं ६ को सशस्त्र क्याम्प अगाडि रहेको कत्ले खोल्सीमा निर्माण गरिएको सो पुलको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाउँपालिकाले चालू आवमा उक्त स्थानमा पुल निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट प्राप्त बजेट तथा स्थानीय बासिन्दाको जनश्रमदानबाट पक्की पुल निर्माण गरिएको हो । हरेक वर्ष बर्खाको समयमा पुलको अभावमा स्थानीवासिन्दालाई कत्लेखोल्सीमा आउने बाढीले आवत जावतमा समस्या भइरहेको थियो । खोल्सीमा बाढी आएसँगै उक्त स्थानका विद्यार्थीहरु विद्यालय जानसमेत वञ्चित हुँदै आएका थिए । उक्त स्थानका बासिन्दालाई बर्खाको समयमा आकास्मिक उद्धारका लागि उक्त पुल पर्याप्त नहुने त्यहाँका बासिन्दाको भनाइ थियो ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय