तुलसीपुर उपमहानगरले ल्यायो छोरीलाई प्रोत्साहन गर्न मासिक भत्ता

ehulaki
ई-हुलाकी | जेठ २५, २०७६ शनिबार | 0

–    १ वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरिने
–    स्मार्ट छोरी, विहेवारी बीस वर्ष पारि 
–    टोल टोलमा योग, जीवनभरि सुख 
–    भू–उपयोग नीति बनाई जथाभावीरुपमा गरिने जग्गाको खण्डिकरणलाई रोकिने 
–    कक्षा ५ को परीक्षा पनि नगरस्तरीय बनाउने 
–    सडक तथा पूर्वाधार विकास प्राधिकरण गठन गरिने
–    सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिने 
–    उपमेयर महिला सुरक्षा कार्यक्रम
–    मेयर उद्यमशीलता तथा युवा उद्यम कार्यक्रम 
–    किसानसँग कृषि तथा पशु वैज्ञानिक भेट 
–    जग्गा चक्लाबन्दी तथा गह्रा सुधार गरी सामुहिक खेती प्रणालीको विकास

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि नगरसभाको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्ष पारि’, १ वर्षमा ६० किलोमिटर सडक कालोपत्रे लगायतका कार्यक्रमहरु ल्याएका हुन् ।

जम्मा २ सय ७२ बुँदे नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, उद्योग व्यवसाय, उद्यमशीलता, श्रम रोजगारी विकास, पशुपालक तथा संरक्षण, जातजाति, कला, संस्कृति तथा पर्यटन विकास, कानुनी मामिला तथा न्यायिक समिति, विज्ञान, सूचना सञ्चार तथा प्रविधि, स्वास्थ्य, शिक्षा, सार्वजनिक वित्त, योजना आयोजना कार्यान्वयन तथा दिगो व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह लगायतका विषय समावेश गरिएको छ । 

उपमहानगरपालिकाले यो वर्ष स्मार्ट छोरी विहेवारी विस वर्ष पारि अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत अबदेखि जन्मने हरेक छोरीलाई बीष वर्ष नपुग्दासम्म महिनामा १ सयको  दरले प्रोत्साहन रकम उपलब्ध गराइनेछ । उक्त रकम उनीहरुकै बैंक खातामा जम्मा हुनेछ र उक्त रकम २० वर्षपछि एकमुष्ट रुपमा प्राप्त हुने जनाइएको छ । ‘किशोरीहरुको बिहे बीस वर्षपछि होस् भन्नका लािग यो कार्यक्रम ल्याइएको हो’, नगरप्रमुख पाण्डेले भने । किशोरीहरुले २० वर्ष पहिले बिहे गरेमा रकम उपमहानगरपालिकाकै खातामा फिर्ता हुनेछ । 

यसैगरी तुलसीपुरमा व्यवस्थित सशुल्क पार्किङदेखि रात्रिबजार, ठेला तथा नाङ्लो पसललाई निश्चित ठाउँमा व्यवस्थापन गर्ने र भूउपयोग नीति ल्याएर जमिनको खण्डिकरण रोक्ने कुरालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । युवा, बालबालिका, दलित, जनजाति लगायतका मानिसहरुका समस्या समाधानका लागि जनसंसद सञ्चालन गरिने भएको छ  । उज्यालोे तुलसीपुर अभियानमार्फत शहरी क्षेत्रमा सडक बत्ती जडान गरिनुका साथै हरेक ठाउँमा कम्तिमा ८ मिटरसम्मको बाटो निर्माण गरिने कुरालाई जोड दिइएको छ । 

लैगिक हिंसामा परेका महिलाहरुको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकहरुलाई पर्यटकीय र धार्मिकस्थलमा घुमाउने कार्यक्रम समेटिएको छ । कृषि क्षेत्रको विकासका लागि मेयर कृषि तथा पशु विकास कार्यक्रममार्फत उपमहानगरपालिकाभित्रका किसानहरुलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउनुका साथै कुनै पनि जमिन वाँझो राख्न नपाइने नीतिलाई निरन्तरता दिएको छ । दुर्गम क्षेत्रमा पशुशिविर सञ्चालनका साथै बधिया भाले बनाउने थारुहरुको सीपको बौद्धिक सम्पत्तिको संरक्षणलाई ध्यान दिने कुरालाई प्राथमिकतामा राखिएको छ । संक्राममा रहेको व्यारेकलाई क्रान्ति संग्रहालयका साथै बहुसाँस्कृतिक केन्द्रका रुपमा विकास गरिने भएको छ । 

थारु जातिमा रहेको महतवा प्रथालाई कानुनी मान्यता दिनका लागि पहल गरिनुका साथै हरेक टोलमा योग केन्द्र स्थापना गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उपमहानगरपालिकालाई पेपरलेस बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिने र वडामा तीव्रगतिको इन्टरनेट सेवा पुराउनका लागि अप्टिकल फाइबर बिछ्याउने कुरालाई समेत उल्लेख गरिएको छ  । किशोर किशोरीहरुलाई पूर्ण स्वास्थ्यको जगको रुपमा स्थापित गर्न प्रत्येक स्कुलमा हेल्थ क्लव गठन गरिनुका साथै स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य एवम् मानसिक स्वास्थ्य, बाल विवाह जस्ता पक्षलाई सम्बोधन गर्न स्वास्थ्य संस्थाहरुमार्फत समन्वय गरिने कुरा उल्लेख गरिएको छ । कार्यक्रमले हरेक वडाहरुमा क्रमिकरुपमा ‘वडाध्यक्ष बाटिका’ स्थापना गरी सामुदायिक व्यायामशालासहितका रिक्रेसन केन्द्र स्थापना गर्ने, गह्रा सुधार गरेर सामुहिक खेतीलाई प्राथमिकतामा राख्ने कुरा पनि नीति तथा कार्यक्रमम उल्लेख गरिएको छ । 

तुलसीपुरमा पठन संस्कृतिको विकासका लागि सामुदायिक र नगर पुस्तकालय स्थापना, विद्यालय हाताबाहिर तोकेको सीमा क्षेत्रभित्र मादक पदार्थ तथा सूर्तीजन्य वस्तुहरु बिक्रीवितरणमा पूर्णतः निषेध गर्नुका साथै सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड बनाउने तालिम दिएर सबै विद्यालयमा वितरण गरिने भएको छ । 

दलित र महिलाहरुले दर्ता तथा संचालन गर्ने उद्योग तथा व्यवसायमा २५ प्रतिशत छुट दिने, ग्रामीण वडामा ठूला खाले व्यवसाय सञ्चालनलाई प्रवद्र्धन गर्नका लागि ५० प्रतिशत व्यवसाय करमा छुट दिने व्यवस्था गरिएको छ । हरेक वडामा वडाध्यक्ष गौरव कार्यक्रम सञ्चालनका साथै योजना बैंक स्थापना गरेर योजनाको सम्झौता बैशाख मसान्त र भुक्तानीका लागि जेठ मसान्तलाई अन्तिम समय तोकी कार्य गरिने कुरा पनि उल्लेख गरिएको छ । ‘यस उपमहानगरपालिकाभित्र सम्पन्न भएका योजनाहरु सम्बन्धित टोल विकास संस्था वा संगठित संस्था वा उपभोक्ता समितिलाई हस्तान्तरण गरिने नीति अख्तियार गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय