शतप्रतिशत जनतालाई खानेपानी र अर्को वर्ष खुला दिसामुक्त राष्ट्र घोषणा : मन्त्री मगर

ehulaki
ई-हुलाकी | जेठ २५, २०७६ शनिबार | 0

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले हरेक गाउँबस्ती र सहरबजारका जनतालाई तीन वर्षभित्र शतप्रतिशत आधारभूतस्तरको खानेपानी सेवा पुराउन र आगामी वर्ष खुला दिसामुक्त राष्ट्र घोषणाका लागि मन्त्रालय संकल्पसहित अघि बढेको बताएकी छन् ।

नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उदघाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शतप्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको उनले बताइन् । मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँचमा पुराउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याइन् ।

मन्त्री मगरले आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र तीन वर्षभित्र शतप्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुराउने लक्ष्य रहेको र सबैसँगको सहकार्यमा मात्र उक्त लक्ष्य पूरा गर्न सकिने बताइन् । मन्त्री मगरले थपिन्,‘एकातिर सबै जनतालाई खानेपानी पुराउनुपर्ने चुनौति छ भने अर्कोतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि सँगै अगाडि लैजानु पर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन । बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको छ । सरसफाई अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं ।’

आउँदो आर्थिक वर्षमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको जानकारी पनि मन्त्री मगरले दिइन् ।  कार्यक्रममा मन्त्री मगरले ‘हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाईं नि ?’ भन्ने अभियानलाई साथ दिँदै हस्ताक्षर गरेकी थिइन् ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरे । नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनै पनि स्थानीय निकाय सफा नभएको गुनासो गरे । खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उनले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय