मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुको मानवसाङ्लो प्रदर्शन

ehulaki
ई-हुलाकी | जेठ २५, २०७६ शनिबार | 0

काठमाडौं । नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार राजधानी काठमाडौमा मानवसाङ्लो प्रदर्शन गरिएको छ । पत्रकारहरु बबरमहलमा भेला भएर मानवसाङ्लो बनाएर प्रदर्शन गर्दै मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् । 

आँखामा कालोपट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । पत्रकारहरुको हातेसाङ्लो बबरमहलदेखि बानेश्वरसम्म पुगेको थियो । हातेसाङ्लो कार्यक्रममा पत्रकार महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चारगृहका सम्पादक लगायतका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । 

पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले बेवास्ता गरेकाले आफूहरु स्वतन्त्र प्रेसका लागि सडक संघर्षमा उत्रनुपरेको बताए । स्वतन्त्र प्रेसका लागि विगतमा पनि अन्तर्राष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्दर्भ उल्लेख गर्दै उनले आवश्यक परे अहिले पनि बोलाइने बताए ।

प्रेसलाई अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै सञ्चारकर्मी, मानवअधिकारकर्मी लगायतले विरोध गर्दै आएका छन् । पत्रकार महासंघले त विधेयकको विरोधमा चरणवद्ध कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय